उज्वेकिस्तान प्रस्थान गर्ने महिला फुटबल टोलीको विदाई


काठमाण्डौ, न्युजकारखाना । एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको हो ।

उज्वेकिस्तान प्रस्थान गर्नेमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् । मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् ।

उज्वेकिस्तान जाने नेपाली टोलीलाई प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरे ।

नेपाली टिम आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने कार्यक्रम छ ।

यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका थिए । पहिलो खेल नेपालले २-१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

उज्वेकिस्तानमा हुने समूह F को खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।


Loading comments...