नेपाल–बंगलादेश दुई मैत्रीपूर्ण शृंखला : फिनिसिङमै नेपाल कमजोर


रमेश सुवेदी/काठमाण्डौ । मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितिमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो ।

घरेलु मैदानमा भएको खेलमा नेपालले आशालाग्दो प्रदर्शन गर्न सकेन । दुवै खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो । भ्रमणकारी टोली बंगलादेशले भने सुधारिएको खेल प्रदर्शन गर्यो ।

दशरथ रंगशालामा २४ भदौमा भएको पहिलो खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भयो । आइतबारको खेलमा पहिलो खेलको तुलनामा झनै कमजोर प्रदर्शन गर्दै बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो ।

नेपालले दुई मैत्रीपूर्ण खेल आगामी एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीस्वरूप खेलेको थियो ।

उज्वेकिस्तानमा आयोजना हुने समूह ‘एफ’ को खेलमा नेपालले २ असोजमा फिलिपिन्स र ५ असोजमा हङकङसँग खेल्नेछ ।

यदि समूहको शीर्षस्थानमा रहे नेपालले अर्को वर्ष भारतमा हुने महिला एसिया कपमा स्थान बनाउनेछ ।

फिलिपिन्स र हङकङ दुवै फिफा वरीयतामा नेपालभन्दा बलिया टोली हुन् । फिलिपिन्स ६८औं स्थानमा छ भने हङकङ ७६औं स्थानमा । नेपाल भने १०१औं स्थानमा छ ।

वरीयता नै हेर्ने हो भने दुवै टोली नेपालभन्दा निकै माथिल्लास्तरका प्रतिद्वन्द्वी हुन् । तर नेपाल भने वरीयता एक गणना मात्रै भएको जनाउन चाहन्छ ।

यद्यपि एएफसी महिला एसिया कप छनोटअघिको तयारी हेर्ने हो भने नेपालका लागि छनोट खेल निकै कठिन छ ।

दुवै खेललाई नियाल्ने हो भने नेपाली टोली फिनिसिङमा नमिठो गरी चुकेको देख्न सकिन्थ्यो । मिडफिल्डरले आफ्नो भूमिका निभाउन सकेको देखिएन।

यसअघि बंगलादेशविरुद्ध खुलेर निर्धक्क खेल्ने नेपाल दुई मैत्रीपूर्ण खेलमा निकै दबाब झेल्न पुग्यो ।

मुख्य स्ट्राइकर सावित्रा भण्डारीको टोलीमा प्रष्ट अभाव देखियो । एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) च्यातिएपछि सावित्राको घुँडाको शल्यक्रिया गरिएको छ । कतार अस्पेटार अस्पतालमा शल्यक्रियापछि हाल रिह्याब गरिरहेकी सावित्राबिना नेपाली टोली रंगशालामा कुनै पनि समय जम्न सकेन ।

यसअघि मुख्य प्रशिक्षक ग्यारी फिलिप्स र कप्तान रेणुका नगरकोटेले अग्रपंक्तिमा सावित्राको अभाव नहुने र नयाँ खेलाडीले सावित्राको अभाव हुन नदिने बताएका थिए । तर मैदानमा त्यो देखिएन । बंगलोदशसँग खेल्नुअघिसम्म अट्याकमा कसलाई भूमिका दिने द्विविधामा रहेका ग्यारीले पहिलो मैत्रीपूर्णमा १६ वर्षकी प्रीति राईलाई मौका दिएका थिए ।

सेन्टर स्ट्राइकरमा प्रीति रहँदा दायाँबायाँबाट विमला चौधरी र सविता राना मगरले प्रीतिलाई साथ दिएका थिए । राष्ट्रिय टोलीबाट डेब्यु गरिरहेका साविता र प्रीतिले ग्यारीको निर्णयलाई न्याय पनि गरे । उनीहरुकै गोलमा नेपालले पहिलो मैत्रीपूर्ण २–१ गोल अन्तरले जित्यो ।

पहिलो मैत्रीपूर्ण खेलमा सविता, विमला र प्रीतिको अट्याकबाट सन्तुष्ट नरहेका ग्यारीले दोस्रो मैत्रीपूर्णमा सुरुवातमै सवितालाई बाहिर राखे भने प्रीतिलाई मिडफिल्डरमा झारे ।

यस्तै अवस्थामा अघिल्लो दिन बेन्चबाट डेब्यु गरेकी यू–१९ टोलीकी स्ट्राइकर रश्मि घिसिङले एक्लो स्ट्राइकरको जिम्मेवारी पाइन् । रश्मिलाई दायाँबाट विमला चौधरी र बायाँबाट अनिता बस्नेतले साथ दिए ।

दोस्रो मैत्रीपूर्णमा झनै यो तीन जोडीको अट्याक लाइन चल्नै सकेन । मैदानभित्रै खेलाडीले आफ्नो भूमिका बिर्सिएझै देखिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलमा सरु लिम्बूले १०औं मिनेटमा बनाएको एक अवसरबाहेक नेपालको तर्फबाट अन्य त्यस्ता कुनै पनि प्रहार भएनन् । खेलको नवौं मिनेटमा डिफेन्डर अमृता जैशीले अगाडि बढेर डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार बंगलादेशकी गोलरक्षकले मुस्किलले नियन्त्रण लिइन् ।

अन्य समय भने बंगलादेशले नेपालविरुद्ध नै दबाब बनायो । दुवै मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपालको डिफेन्स लाइन ब्यस्त बनायो ।

दुवै खेलमा राइट ब्याक पूजा राना तथा सेन्टर ब्याक अमृता जैशी र गीता रानाले प्रभाव जमाए । उनीहरूले कुनै पनि समय विपक्षीलाई मौका दिएनन् ।

आइतबारको खेलमा पूजाले डिबक्सभित्र र बाहिर दुई राम्रा ट्याकल जितिन् । यस्तै गीताले गोलरक्षक अन्जना राना मगरले फुत्काएको बललाई बंगलादेशकी श्रीमतोले सिक्स यार्ड बक्सबाट खोली पोष्टमा बल प्रहार नगर्दै खोस्न भ्याइन् । आइतबारको खेलमा डिफेन्स लाइनमा कुनै समस्या रहेन । गोलरक्षक अन्जनाको ७औं मिनेटको गल्ती छाड्ने हो भने उनले औसत प्रदर्शन गरिन् । पहिलो खेलमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले कुनै दबाब नै झेल्नुपरेन ।

मिडलाइनमा दुवै खेलमा सरु लिम्बू र कप्तान रेणुकाले राम्रो खेल देखाए । पहिलो मैत्रीपूर्णमा डेब्यु गोल गरेकी प्रीतिले मिडलाइनमा झरेर खेल्दा आफै कता कता हराएको जस्तो देखिन्थिन् । दोस्रो हाफमा मैदान छिरेका सविता, अनिता केसी र डेब्यु गरेकी रजनी थोकरले पनि खासै केही गर्न सकेनन् । लेफ्ट विंगरबाट सेन्टर मिडमा झरेकी मन्जलीकुमारी योञ्जनले पहिलो मैत्रीपूर्णमा आफ्नो भूमिका नै बिर्सेझै गरिन् । दोस्रो खेलमा मन्जली बेन्चमा परिन् ।

प्रशिक्षक ग्यारीले सावित्राको अभावमा दुई मैत्रीपूर्णमा प्रीति, सविता, विमला, अनिता केसी, रश्मि, अनिता बस्नेतलाई अट्याकको भूमिका दिएका थिए । तर कुनै पनि खेलाडीले सावित्राको स्थान लिन सक्ने अवस्था देखिएन । यस्तो अवस्थामा नेपाली टिम सोमबार उज्वेकिस्तान प्रस्थान गर्दैछ । नेपालले बलिया दुई मुलुकविरुद्ध खेल खेल्नुपर्नेछ । यो खेलमा पनि सावित्रा हुने छैनन् । यस्तो अवस्थामा नेपाली टोलीलाई फिनिसिङकै समस्या पुनः दोहोरिने निश्चित छ ।

तर प्रशिक्षक ग्यारीलाई भने उज्वेकिस्तान भ्रमणसम्म टोलीको समस्या हल हुने र खेलाडीको फिटनेस दिनहुँ बढिरहेको बताउँछन् । उनी फिफा वरीयता एक अंक मात्रै भएको बताउँदै छनोटका लागि खेल्ने बताउँछन् । ‘फिफा वरीयता केही पनि होइन । हङकङ र फिलिपिन्स माथिका टोली हुन् । हामीले केही महत्वपूर्ण खेलाडी गुमाएका छौं । यी दुई खेलले धेरै फाइदा हुनेछ । यो स्लो प्रोसेस हो । खेलाडीका लागि अहिलेको सिस्टम नयाँ हो । फिटनेस दिनहुँ बढिरेहको छ,’ अष्टे«लियन नागरिक फिलिप्स भन्छन् ।

कप्तान रेणुका नगरकोटे भने पुराना खेलाडी नहुनु र नयाँ खेलाडीसँग तालमेल नमिलेकाले समस्या भएको बताउँदै उज्वेकिस्तानमा तालमेल मिलाएर राम्रो गर्ने बताउँछिन् । ‘सोचे जस्तो खेल भएन । गोल गर्नमा समस्या भयो । तर तालमेल पनि मिलिरहेको छैन । त्यसलाई उज्वेकिस्तानमा सुधार्नेछौं । र, आशा छ त्यहाँसम्म हामी राम्रो टोली तयार गर्न सफल हुनेछौं,’ कप्तान नगरकोटेले भनिन् । न्यूजकारखाना


Loading comments...