Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

३१ भाद्र २०७८, बिहीबार ०८:२३

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

सरकार आफूले पनि केही गर्न नसकेको र अरूले गरेका कामलाई पनि देख्न नसकेर ध्वस्त पार्न उद्यत रहेको उनको आरोप छ । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बुख्याँचाको संज्ञा दिएका छन् ।

पार्टीको रूपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो सरकारका पालामा प्रत्येक पालिका जोड्ने २०० भन्दा बढी रणनीतिक महत्त्वका सडक एकैसाथ शिलान्यास गर्‍यौँ तर अहिलेको सरकारले भत्काइदियो, भूमिहीन आयोग खारेज गर्‍यो । यो सरकार काम गर्नका लागि होइन, भत्काउनका लागि बनेको हो ।’

आफू नेतृत्वको अघिल्लो सरकारले सडक, अस्पताल जस्ता पूर्वाधार अगाडि बढाएकाले त्यो सहन नसकेर प्रतिक्रियावादीहरूले सरकार ढालेको ओलीको आरोप छ । अब १४ महिना पार्टी प्रतिपक्षमा रहेर जनताका बीचमा जाने र अर्को निर्वाचनबाट पुनः सत्तामा फर्किने भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

उनले पार्टीबाट अलग्गिएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई पिलोको संज्ञा दिएका छन् । ‘पिलो निचोर्दैमा शरीरको वजन घट्दैन । माधव नेपाललगायत केही व्यक्तिले पार्टी छाड्दैमा एमालेलाई घाटा हुँदैन’, उनले भने ।

माधव नेपालले एमालेमा रहँदा जनविरोधी र अपराधपूर्ण काम गरेको आरोप लगाउँदै ओलीले उनलाई कमरेड भन्न नसकिने बताए । ‘पार्टीलाई ध्वस्त बनाउन खोज्नेलाई कमरेड भन्न सकिँदैन । उनी जनविरोधी हुन् । पार्टी नेतृत्वको सरकार रहँदा उनले समर्थनमा एक शब्द पनि बोलेनन्’, ओलीले भने ।

भेलालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले आउँदो चुनावमा माधव नेपालको पार्टी २०५४ सालमा विभाजन भएको मालेको जस्तै हुने दाबी गरे । ‘माधव नेपालको पार्टीले चुनावमा एक सिट पनि जित्दैन, जमानत जोगाउन पनि मुस्किल पर्नेछ, त्यो पार्टी स्वार्थी तत्त्वहरूको झुण्ड मात्र हो’, उनले भने ।

उनले कांग्रेसको नेतृत्वमा क्रान्तिकारी विचार र अग्रगमन देख्नेहरूले केवल स्वार्थको राजनीति गरिरहेको भन्दै विकासको नेतृत्व एमालेबाट मात्र संभव रहेको दाबी गरे । पौडेलले स्वार्थका लागि पार्टी कब्जा गर्न खोज्दा नसकेपछि कांग्रेसको शरणमा पुगेर सरकार ढालिएको आरोप लगाए ।

उनले दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले अरू केही केही गर्न नसक्ने जिकिर गरे ।

पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवारपूर्ण भूमिकामा रहनुपर्ने भन्दै त्यसो भएमा एमालेलाई हराउने शक्ति कोही नजन्मिने बताए । पार्टीमा आएको विभाजनपछि एमाले घाइते अवस्थामा रहेको भन्दै भुसालले चुनावपछि पुरानै अवस्थामा फर्काइने बताए ।

भेलालाई पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, रूपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव जगेश्वरदेवी चौधरीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो