ए डिभिजन फुटसल लिगको तयारी पूरा : खेलाडीलाई पीसीआर रिपोर्ट अनिवार्य


पोखरा । शनिबारदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको हो । असोज २२ सम्म हुने लिगको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा देशभरबाट १० टिमले भाग लिँदै छन् । प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपन्देही खेल्ने छन् ।

घरेलु टीमको रूपमा सविन मेमोरियल क्लब र स्पोर्टस् क्यासलले प्रतिश्पर्धा गर्ने छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएको छ । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पुरस्कार प्राप्त गर्ने छन् भने प्रत्येक खेलका म्यान अफदि म्याचले ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड १८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा छानिएका सबै टीम पोखरा आईसकेका एन्फा फुटसल कमिटी प्रमुख विनोद गुरुङले जानकारी दिए । यही लिगमा खेल्ने उत्कृष्ट खेलाडीहरू एसियाली फुटबल महासंघ (एएफसी)द्वारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को लागि छनोट हुने छन् ।

यसैबीच, प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरूको पीसीआर टेष्ट अनिवार्य गरिएको छ । ‘कोभिड टेष्ट गरेर मात्रै खेलाडीले खेल्न पाउँछन् । हामीले त्यो अनिवार्य गरेका छौं,’ गुरुङले भने, ‘दर्शकहरूले पनि खोप लगाएको कार्ड अनिवार्य लिनुपर्ने छ । खोप नलगाएका दर्शकलाई प्रदेश दिईने छैन ।’ पोखरामा कोभिड दोश्रो लहरपछि पहिलो पटक ठूलो इभेण्ट हुन लागेको हो । न्युजकारखाना


Loading comments...