नेपाल फिलिपिन्ससँग २-१ ले पराजित


काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको छ ।

१० औं मिनेटमा बिमला चौधरीले नेपाललाई अग्रता दिलाएको खेलमा फिलिपिन्सकी स्ट्राइकर ताहनाई एनिस र केमिली विल्सनले खेलको अन्तिम् दुई मिनेटको अन्तरालमा २ गोल गर्दै फिलिपिन्सलाई जीत दिलाएका छन् ।

यस अघि बिमला चौधरीले सबिता राणाको क्रसबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् तर, उनी ३९ औं मिनेटमा घाइते भएको कारण उनको स्थानमा अनिता बस्नेत फिल्डमा प्रवेश गरेकी थिइन् ।

एनिसले ९० औं मिनेटमा बराबरी गरेको खेलमा ९२ औं मिनेटमा विल्सनको गोलमार्फत फिलिपिन्सले तीन अंक बटुल्न सफल भयो ।

खेलपछि नेपालका प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्ः ‘म हारबाट दुखी छु तर हाम्रो टोलीले राम्रो प्रदर्शन गर्र्यो । खेलको ८५ मिनेटसम्मको खेल हाम्रो पकडमा थियो तर अन्तिम पाँच मिनेट निराशाजनक रह्यो ।”

नेपालले आफ्नो अर्को खेल सेप्टेम्बर २१ मा हङकङसंग खेल्नेछ।


Loading comments...