एसियन महिला छनोटमा इतिहासबाट चुकेको नेपाल


रमेश सुवेदी / न्युजकारखाना, काठमाण्डौ । नेपाली महिला फुटबलको इतिहास कोट्याउने हो भने धेरै टाढा जानु पर्दैन । नेपालले न त्यस्ता ठूला कुनै प्रतियोगिता नै खेलेको छ । पछिल्लो समय मात्रै हो नेपाली महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय मैदानमा खेल्न थालेको ।

अझ भनौ, सन् २०१० को दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबल खेललाई पनि स्थान दिएपछि महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय क्षेत्रमा स्थान पाएको हो ।

नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० गोल अन्तरले निराश भएको थियो ।

नेपाली महिला टोलीले त्यसपछि पनि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो । जस अन्तर्गत दुई पटक थाइल्यान्ड, इन्डोनेसिया र हङकङ सम्मिलित समूहमा परेको नेपाल तेस्रो पटक भने इन्डोनेसिया र हङकङसँगै जापान सम्मिलित समूहमा परेको थियो ।

पछिल्लो समय भने नेपाली महिला फुटबल टोलीको यात्रा दक्षिण एसियामा मात्र खुम्चिँदै गएको छ । भारतसँगै दक्षिणमा एसियामा नेपालले आफूलाई स्थापित गरेको छ । यद्यपि, दक्षिण एसियामा आयोजना हुने साफ च्याम्पियनसिप तथा सागमा सधैँ नेपालको तारो भारत बन्दै आएको छ ।

हाल नेपाली महिला टोली एसियन छनोट अन्तर्गतका खेल खेलिरहेको छ । नेपाल भारतमा सन् २०२२ मा आयोजना हुने एएफसी महिला एसियन कप अन्तर्गत छनोट खेल खेल्न यतिबेला उज्वेकिस्तानमा छ ।

एएफसी एसियन कपमा नेपालको यो चौथो सहभागीता हो । यस पटक नेपाललाई एउटा इतिहास रच्ने अवसर थियो । पहिलो खेलमा नेपालले फिलिपिन्सविरुद्ध त्यो इतिहास नजिक थियो । तर, अन्तिम दुई मिनेट सम्मालिएर खेल्न नसक्दा इतिहास कोर्नबाट बञ्चित रह्यो ।

नेपालले सन् १९८६, १९८९ र १९९९ मा खेलेको एसियन छनोट खेलमा हालसम्म कुनैपनि खेल जित्न सकेको छैन । समूह चरण पार गर्नु त ठूलो कुरा भयो ।

शनिबार नेपालले फिलिपिन्सलाई पराजित गर्दै इतिहासको पानामा रेकर्ड बनाउने निश्चित थियो । तर, अन्तिम ९० र त्यसपछि थपिएको दुई मिनेटमा लगातार गोल व्यहोर्दा नेपाल सो अवसरबाट चुक्यो ।

फिफा वरियतामा १०१ औँ स्थानमा रहेको नेपालले ६८ औँ स्थानमा रहेको फिलिपिन्सविरुद्ध खेलको १० औं मिनेटमा अग्रता बनायो । लेफ्ट विंगर सविता राना मगरले गरेको लामो पासलाई सिक्स यार्ड बक्समा रहेकी बिमला चौधरीले उत्कृष्ट हेडिङमार्फत गोल गरिन् ।

राष्ट्रका लागि पहिलो गोल गरेकी बिमलाको गोलसँगै नेपालले पहिलो हाफ र दोस्रो हाफको ९० मिनेट फिलिपिन्सलाई १–० को अग्रतामा रोकेको थियो ।

तर, जापानको शीर्ष डिभिजनसहित एसियामा राम्रो अनुभव बटुलिसकेका फिलिपिन्सका खेलाडीसामु नेपाली खेलाडी अन्तिम केही मिनेट धर्मराउन पुगे ।

खेलको ९० मिनेटमा फिलिपिन्सकी ताह्नाइ अन्निस र ९२ मिनेटमा कामिल विलसनको गोलसँगै नेपाल एएफसी एसियन कप छनोटमा पहिलो जितबाट टाढा रहन पुग्यो । यस्तै अन्तिम ह्विसलसम्म नेपालले १–० को नतिजा लिएको भए, नेपालले पहिलो पटक फिलिपिन्सलाई हराउन सफल हुने थियो । तर, दुबै अवसरबाट नेपाल शनिबार चुक्यो ।

फिलिपिन्सबिरुद्ध सुरुवातमै गोल गरेपछि नेपालले रक्षात्मक खेल र बीच बीचमा काउन्टर अट्याक खेल्दै फिलिपिन्सलाई दबाबमा राखेको थियो । तर, पहिलो हाफ र दोस्रो हाफमा दुई महत्वपूर्ण खेलाडीले चोट बोकेपछि नेपालले सोचेजस्तो नतिजा पाउन सकेन ।

गोलकर्ता तथा पछिल्लो समय राईट ब्याकमा प्रभाव जमाइरहेकी विमलाले पहिलो हाफमै चोट बोकिन् । उनको स्थानमा मैदान प्रवेश गरेकी अनिताले औषत प्रदर्शन गरिन् ।

दोस्रो हाफको ५७ मिनेटमा राईट ब्याक पूजा राना घाइते भएपछि नेपाल पूजाकै पोजिसनमा कमजोर देखियो । पूजाले चोट बोकेपछि विमला विकले राष्ट्रिय टोलीबाट ५७ मिनेटमा डेब्यु अवसर पाइन् ।

तर, विमला पहिलो खेलमै असफल रहिन् । विमला पूर्ण रूपमा आफ्नो क्षेत्रमा कमजोर सावित भइन् । नेपालले दुवै गोल विमला विकको क्षेत्रबाट व्यहोरेको हो ।पहिलो गोलमा विमलाले आफू नजिकै रहेको बल क्लियर गर्न सक्दिनन् । दोस्रो गोलमा समेत विमलाले आफ्नो भूमिका बिर्सेर विपक्षी खेलाडीलाई खुलेर खेल्न दिन्छिन् । त्यस्तै क्रस बलसमेत उनले क्लियर गर्ने पोजिसनमै देखिदिनन् ।

अन्य क्षेत्रमा भने नेपालका अन्य खेलाडीले निकै नै राम्रो प्रदर्शन गरेका थिए । मुख्यतया गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, डिफेण्डर हिरा कुमारी भुजेल, गीता राना, पूजा राना (चोट बाहेक) अमृता जैशीले डिफेन्समा शत प्रतिशत दिएका थिए ।

यस्तै डिफेन्सिभ मिडको भूमिका पाएकी रेणुका नगरकोटे, सरु लिम्बू, मन्जली कुमारी योञ्जनसमेत तल झर्दै डिफेण्डरलाई राम्रै साथ दिएका थिए । मिडलाइनमा १६ वर्षकी प्रिती राईले समेत आफूलाई प्रमाणित गर्दै डिफेन्स र अट्याकिङमा उत्तिकै भूमिका निर्वाह गरिन् ।

समूह ‘एफ’ को अर्काे खेलमा नेपालले ५ असोजमा हङकङको सामना गर्नेछ । एसियन कपमा नेपालले हालसम्म हङकङलाई समेत हराउन सकेको छैन ।

अब, नेपालले भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउन हङकङविरुद्ध गर या मरको स्थितिमा हुनेछ । नेपालले हङकङलाई पराजित गरेर मात्रै हुँदैन गोल संख्यासमेत बढाउनु पर्नेछ ।

यदि, नेपालले हङकङलाई ठुलै गोल अन्तरले पराजित गरे र ८ असोजमा हङकङले फिलिपिन्सलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा रहँदै नेपालको छनोट सम्भावना रहन्छ ।


Loading comments...