आज बस्ने प्रतिनिधिसभा बैठकमा ‘छ’वटा कार्यसूची पेस हुने


काठमाण्डौ । आज बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन् ।

आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयका महासचिव डा. गौतमले बताए । न्युजकारखाना


Loading comments...