कांग्रेस बैतडीमा संस्थापन पक्षको प्यानल घोषणा


सीपी लोहिया/न्युजकारखाना, बैतडी । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लाको नेतृत्व चयनका लागि संस्थापन (देउवा)पक्षले आफ्नो प्यानल घोषणा गरेको छ ।

रामचन्द्र पौडेल खेमाले यसअघि नै सभापतिका लागि चतुरबहादुर चन्दलाई अघि सार्दै प्रचारप्रसार गरिरहेको अवस्थामा आज संस्थापन पक्षले पनि आफ्नो प्यानल घोषणा गरेको हो ।

संस्थापन खेमाले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ । यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ ।

जिल्ला सचिवमा भने रमेश भण्डारी र कर्ण बोहराले उम्मेदवारी दिने पक्का भएको छ । यसैगरी उपसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । संस्थापन पक्षमा एकै हैसियतका नेताहरू धेरै भएकाले उम्मेदवार छनोट गर्न ढिलाइ भएको नेताहरूले बताएका छन् ।

यसैबीच आसन्न जिल्ला अधिवेशनमा पूर्वसभापति शिवराज भट्ट र वर्तमान उपसभापति चतुरबहादुर चन्दको प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

बैतडी जिल्ला वर्तमान सभापति नरेन्द्रसिंह थापा चन्दको प्यानलमा भएकाले जिल्लाका लागि आफ्नो प्यानललाई संस्थापन खेमा भनेको छ । चन्द प्यानलले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय गोठलापानीमा प्यानल घोषणा गर्ने तयारी गरेको छ । देउवा खेमाले आज जिल्लाको दोगडाकेदारमा आफ्नो प्यानल घोषणा गरेको हो ।

दुवै प्यानलले सहमतिको संभावना रहेको बताए पनि निर्वाचन भएमा आफ्नो प्यानल बहुमतका साथ विजय हुने बताइरहेका छन् । पौडेल खेमाले आफूहरूलाई बहुमत क्षेत्रीय प्रतिनिधिको साथ रहने बताएको छ भने संस्थापन खेमाले आफ्नो पक्षमा ७० प्रतिशत आउने दाबी गरेको छ ।

बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन १५ असोजमा हुनेछ ।


Loading comments...