बामपन्थी बिचारको छाँयामा राष्ट्रिय अर्थतन्त्र


नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ। यो बिचार बोकेर हिंड्ने राजनीतिक दल र नेता दुबै पक्षले चुनावमा अपार सफलता प्राप्त गरेको इतिहास छ। यति मात्र होइन, बामपन्थी बिचार बोकेर वा बामपन्थीहरूले गरेका संघर्ष, गृहयुद्ध, द्वन्द, बिद्रोह आदि पनि सफल भएका छन। बामपन्थीहरूले वा उनीहरूको सहयोगमा गरिएको आन्दोलनले शासक, व्यवस्था एवं संविधान समेत पनि परिवर्तन गरेको नेपालमा ताजा इतिहास छ। पञ्चातती व्यवस्था समाप्त पार्न २०४६ सालमा गरिएको संघर्ष बामपन्थीहरूको प्रभावकारी सहयोगले नै सफल भएको थियो। माओवादीहरूले गरेको बिद्रोह (२०५२ देखि २०६२) ले तत्कालीन सरकारी (संस्थापन) पक्षलाई उक्त बिद्रोही पक्षसङ्ग सम्झौता गर्न वाध्य पारेको थियो। र मुख्य गरी बामपन्थीहरूको सक्रिय प्रयासबाट नै नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। कांग्रेस र अन्य दलको भूमिका केवल सहयोगी मात्र थियो।

नेपालमा बामपन्थीहरूको बलियो प्रभाव भएता पनि, नेपालको केन्द्रीय राजनीति बामपन्थी दलहरूको वरिपरि घुमेता पनि नेपालमा आर्थिक विकास किन तिब्र गतिमा हुन सकेन? गरिबहरूप्रति विशेष सहयोगात्मक भावना राख्ने बामपन्थी बिचार बोकेर हिंड्ने बामपन्थी नेताहरू ठूलो संख्या मन्त्री, प्रधान मन्त्री भएता पनि नेपालको आर्थिक विकास किन कछुवा चालमा सीमित हुन पुग्यो? नेपालको राष्ट्रिय अर्थनीति, योजना, कार्यक्रम आदिमा बामपन्थी नेताहरूको निर्णायक भूमिका एवं प्रभाव भएता पनि नेपालले किन तिब्र गतिमा आर्थिक विकास गर्न सकेन? रोजगारको लागि घरपरिवार, समाज, देश छाडेर ठूलो संख्यामा नेपाली युवा युवतीहरू विदेश जाने क्रम किन रोकिएन? नेपाली प्रतिभाहरू किन ठूलो संख्यामा विदेशतिर पलाएन भइरहेका छन?

लेखकः विश्वराज अधिकारी

माथिका प्रश्नहरूको उत्तर खोज्नु पूर्व आउनु होस नेपालमा बामपन्थी विचार किन अति लोकप्रिय छ त्यसबारे चर्चा गरौ। नेपाललाई प्रचलित सामाजिक मनोवृति, भूगोल र राजनीतिक व्यवस्था (पञ्चायत) ले थप गरिब पारेको हामीलाई राम्रो गरी थाहा छ। यी तत्वहरूले नेपालीहरूलाई गरिबीको कुचक्रभित्र घुमाइनै राखे। गरिबी वृद्धि भइनै रह्यो। राष्ट्रिय समृद्धि बढ्न सकेन। वहुसंख्यक वा चुनावमा निर्यणायक भूमिका खेल्ने गरिब मतदाताहरू गरिब नै रहे। यस्तो स्थितिमा गरिबहरू बामपन्थी नेताहरूको विचारबाट प्रभावित हुनु र चुनावमा उनीहरुलाई मत दिएर विजयी गराउनु स्वभाविक हुन पुग्यो। बामपन्थी विचार गरिबहरूको मुक्तिदाताको रुपमा प्रस्तुत र परिचित भएकोले गरिबहरुले बामपन्थी नेताहरुलाई चुनावमा विजयी गराउनु अनौठो होइन पनि। यसरी गरिब मतदाताहरूले गैरबामपन्थीँ विचार भएका तर असल विचारका राजनीतिक नेता भएता पनि हरूलाई आफ्नो वर्गीय शत्रू देखे तर बामपन्थी विचार भएका राजनीतिक नेता खराब (आर्थिक भ्रष्टाचार गर्ने, कुचरित्र आदि) भएता पनि उहीहरूलाई वर्गीय मित्र देखै। गरिब मतदाताहरूको यो बलियो अवधारणा वा विश्वासले यति सम्म काम गर्यो कि (यो अवधारणाले गर्दा) उनीहरूले बामपन्थी विचार बोकेका तर प्रवृतिले खराब नेताहरुलाई पनि चुनावमा अत्यधिक मत दिएर विजयी गराए तर राम्रो प्रवृति भएता पनि गैर बामपन्थी विचार भएका नेताहरूलाई आफ्नो मत दिएर विजयी गराएनन। यो कारणले गर्दा निर्णय तह (सरकार, संसद, प्रशासन आदि) मा बामपन्थीहरूको संख्या त बढ्यो तर गरिबी विरुद्धको लडाइमा सक्रिय रहने नेताहरूको संख्यामा वृद्धि हुन सकेन। देश र जनताको सेमवामा समर्पित हुने नेताहरू इमान्दार संसदभित्र पुग्न सकेनन।

अर्कोतिर, भोलिका दिनमा गरिबीबाट मुक्ति पाइएला भन्दै गरिब मतदाताहरूले निर्वाचित गरेर पठाएका बामपन्थी नेताहरू केवल शक्तिको खेलमा लिप्त रहे। नेपालको राजनीतिक इतिहास हेर्ने हो भने २००७ सालदेखि अहिलेसम्ममा सर्वाधिक विभाजन, गृहकलह, मतभेद बामपन्थी दलहरूमा भएको छ। अधिकांस बामपन्थी नेताहरू (केही अपवादलाई छाडेर) राष्ट्रिय गरिबी निवारणका लागि होइन अहम् पूर्तिका लागि राजनीतिमा लागेको हुनाले त्यस्तो हुनु अस्बभिक पनि होइन। हुन त नेपाली कांग्रेस, मधेसी दल, सबैतिर व्यक्त्तित्वको संकट छ तर सर्वाधिक व्यक्तित्व संकट बामपन्थी दलमा छ। माधव नेपाल र केपी ओली बिचको द्वन्द पनि व्यक्तित्व सङ्कटको परिणाम हो। यी दुई व्यक्तिहरूको व्यक्तित्व संकटले गर्दा अधिकांस बामपन्थीहरू कौरव र पाण्ड सरह विभाजित छन्।

नेपालमा बाम विचार गरिबी निवारणका लागि होइन चुनावमा विजयी हुन (गरिबहरुलाई लोभ्याउने) प्रभावकारी माध्यमको रुपमा प्रयोग भएको छ। अर्थात बाम बिचार बल्छीमा गाँसिएको ‘चारा’ भएको छ। र त्यो चारा (बाम बिचार) ले माछा (मतदाता आफ्नो पक्षमा ल्याउने) समात्ने काम गरिरहेको छ। आम मतदाताहरू दसकौदेखि माछा जस्तै बल्छीमा फँस्दै आएका छन।

चीनमा प्रचलित बाम बिचारले त्यस देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। हामी कहाँ उल्टो बाम बिचारले बैचारिक शोषण गरेर जनतालाई थप गरिब पार्ने काम गरेको छ। संक्षेपमा भन्ने हो भने नेपालको राष्ट्रिय अर्थतन्त्र बाम विचारको भारिले थिचिएको छ। बाम बिचारको छाँयामा परेको छ।

नेपालको राजनीतिक अवस्था र अर्थ व्यवस्था दुबैलाई सर्वाधिक अस्त व्यस्त बामपन्थी आन्दोलनहरुले नै पारेका छन। अर्थ व्यवस्थाका दुई आधारभूत स्तमम्भहरू – आयात र निर्यातलाई नराम्रो गरी हल्याएका छन। माओवादी आन्दोलन (२०५२-२०६२) को समयमा नेपालको औधोगिक एवं व्यापारिक अवस्था कुन स्थितिमा पुग्यो त्यो हामीले देखे भोगेको कुरा नै हो।

ओली सरकार (बामपन्थी सरकार) निर्माण भएदेखि, उक्त सत्तारुढ दलभित्र खिचलो शुरु भएदेखि, राष्ट्रिय राजनीति नै अस्थिर हुन पुग्यो। गरिबी निवारणका लागि प्रभावकारी हुने योजान तथा कार्यक्रमहरूको निर्माण एवं कार्यान्वयन हुन सकेन। निर्णय तहमा बस्ने (प्रम, मन्त्री, सांसद, उच्च प्रशासक आदि) व्यक्तिहरूको समय केवल कलहमा खर्च भयो। विकास एवं निर्माण कार्यमा खर्च हुन सकेन।

यसरी, राष्ट्रिय अर्थ व्यवस्था गरिबीलाई भर्यांग बनाएर आफ्नो उच्च राजनीतिक महत्वाकांक्षा पूरा गर्ने केही बामपन्थी नेताहरूको उच्च महत्वकांक्षाले नराम्रो गरी थिचिन पुगेको छ। राष्ट्रिय अर्थ व्यवस्थालाई उठ्न कठिन भइरहेको छ।

बामपन्थी नेताहरुले कुर्सी मोह त्याग गरेर जनताको लागि निस्वार्थी भइ काम गर्न आरम्भ नगरेसम्म जनतालले गरिबीबाट मुक्ति पाउन कठिन छ।

बामपन्थी नेताहरूलो आफ्नो बोली र व्यवाहरमा समानता ल्याउन आवश्यक छ। यदि उनीहरुले, आफूले गरिबीहरूलाई गरिबीबाट मुक्ति दिने विचार बोकेको ठान्छन भने सोही अनुसार उनीहरू गरिबी निवारणतर्फ अग्रसर हुनु पर्छ।

आफ्नो गाउँ, शहर, समाज र समग्र देशको आर्थिक विकास गर्न, सीमान्तकृत गरिबहरूको आर्थिक स्थितिमा सुधार ल्याउन कुनै रानीतिक सिद्धान्त नै बोक्नु पर्छ भन्ने छैन। राजनीति नगरेर पनि देश र जनताको सेवा गर्न सकिन्छ। बंगलादेशका उद्यमी, बैंकर एवं अर्थशास्त्री मुहम्मद युनुस जस्तो गरिबहरूको हितका लागि निस्वार्थ काम गर्न सकिन्छ। बंगलादेशमा व्याप्त गरिबी कम पार्नमा उनले ठूलो योगदान पुर्याए। युनुसले स्थापना गरेका ‘ग्रामिण बैंक’ र उनको, स्यवंको सक्रिय प्रयासमा, हजारौ गरिब बङ्गलादेशीहरुको आर्थिक स्थितिमा सुधार आयो। युनुसको कुनै राजनीतिक दलसङ्घ सुदूरको पनि साइनो छैन। गरिबी निवारणका लागि उनले कुनै वाद (साम्यवाद, समाजवाद, पूँजीवाद) को पनि प्रयोग गर्नु परेन। गरे त केवल आफ्नो निस्वार्थ भावको प्रयोग। युनुसको यही निस्वार्थ भावले उनलाई ‘नोवेल शान्ति पुरस्कार’ प्राप्त गर्न सहयोग गर्यो। युनसले गरिबहरुको लागि काम गरे बापत ‘युनाइटेड स्टेट्स प्रेसिडेन्सिएल मेडल अफ फ्रिडम’ (२००९) र ‘कंग्रेसनल गोल्ड मेडल’ (२०१०) प्राप्त गरिसकेका छन्। केवल एक व्यक्तिको सोंचले मात्र पनि कुनै एक राष्टको मात्र होइन संसारभरि रहेका गरिबहरुको आर्थिक दसामा सुधार ल्याउन सकिन्छ भन्ने कुरा युनुसको सफलताबाट ज्ञात हुन्छ।

बामपन्थी नेताहरूले बाम बिचारलाई केवल चुनाव जित्ने रणनीतिको रुपमा प्रयोग नगरेर देशको आर्थिक विकासमा प्रयोग गर्नु पर्ने बेला अब आएको छ। बाम बिचारको लोभ्याउने ‘ललिपप’ बाट देशको अर्थतन्त्रलाई जोगाउनु पर्ने बेला आएको छ। नेपाली अर्थतन्त्र बाम बिचारको छाँयामा परेर अर्थतन्त्र फष्टाउन नसकेको धेरै भयो।

खासमा भन्ने हो भने बामपन्थी बिचारका पहिलो तहका नेताहरुले अब त राजनीतिबाट सन्यास लिए हुन्छ। नया नया नेताहरूलाई देश विकास गर्ने औसर दिए हुन्छ। यी नेताहरूले अब जनतालाई बामपन्थी विचार रुपी ललीपप (गरिबको हितमा कार्य गर्ने वा गरिबी निवारण गर्ने) देखाएर उल्टो गरिब जनताको शोषण गर्ने काम बन्द गर्नु पर्छ।


Loading comments...