अब विदेशी पर्यटक नेपाल आउँदा क्वारेन्टिन बस्नु नपर्ने


काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम हटाएको हो।

‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश–२०७८’ जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खोप लगाएका विदेशी पर्यटकलाई नेपाल आउन सहज बनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव एवम् सह–प्रवक्ता प्रेम सुवेदीले कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएकालाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाइएको बताए। उनले यो व्यवस्था भोलि अर्थात् असोज ८ गते देखि नै लागु हुने उनले बताए।

उक्त सूचनामा विदेशबाट पर्यटक नेपाल आउँदा कोभिड –१९ विरुद्धको खोपको मात्रा पुरा भएको १४ दिन पूरा भएको प्रमाण साथमा नै लाख्नु जनाइएको छ। हवाइ उडानको लागि चेक इन हुनु भन्दा ७२ घण्टा भित्रको कोभिड परिक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनु पर्ने छ।

विदेशबाट नेपालमा आउने पर्याटकले नेपालमा होटेल बुक गरेको प्रमाण साथमा नै राख्नु पर्नुका साथै पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनु पर्ने अन्य विषयको हकमा सो अनुमतिको प्रतिलिपि साथमा नै राख्नु पर्ने उक्त सूचनामा जनाइएको छ।

स्थल मार्गबाट नेपाल आउने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पुरा गरेको हुनु पर्ने छ। यस्तै नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाण साथमा नै राख्नु पर्ने, नेपाल आउँदा पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेको र अध्यागमन बिन्दुमा एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थल मार्गबाट नेपाल प्रवेशको अनुमति दिइने आदेशमा जनाइएको छ।

कोभिड विरुद्धको खोपको मात्र पुरा नगरेका विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर र एजेन्सी मार्फत मात्र नेपाल भ्रमण गर्न अनुमति दिइने आदेशमा उल्लेख छ।

कोभिडको खोप नलगाएका विदेशी नागरिक अनिवार्य रूपमा १० दिन आफ्नै खर्चमा होटेल क्वारेण्टिनमा बस्नु पर्नेछ। एघारौँ दिनमा कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र त्यस्तो विदेशी नागरिक आफ्नो नेपाल भ्रमणको उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउने आदेशमा उल्लेख गरिएको छ।

कोभिड–१९ को परीक्षण गर्दा वा आइसोलेसनमा बस्दा र बिमा लगायतका अन्य खर्चहरू विदेशी नागरिक स्वयंले व्यहोर्नु पर्नेछ।
नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिड–१९ को लक्षण वा चिन्ह देखिएमा तत्काल कोभिड–१९ को परीक्षण गराउनु पर्नेछ र रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा बस्नु पर्नेछ।

ट्राभल वा ट्रेकिङ एजेन्सी मार्फत नेपाल आएका पर्यटकलाई उक्त आदेश बमोजिमका सर्तहरू पालना गर्ने गराउने दायित्व सम्बन्धित एजेन्सीको हुने उल्लेख गरिएको छ।

होटेल क्वारेण्टिन वा आइसोलनमा बसेको विदेशी नागरिकलाई सो सम्बन्धी मापदण्ड पालन गराउने दायित्व सम्बन्धित होटेलको हुनेछ। यस्तै कुनै पर्यटकले यस आदेश बमोजिमका सर्तहरू पालना नगरेमा सम्बन्धित एजेन्सी वा होटेलले सो को सूचना तत्काल नेपाल प्रहरी वा सम्बन्धित निकायमा दिनु पर्ने उक्त आदेशमा उल्लेख गरिएको छ।


Loading comments...