मर्नु त छछ, बाँच्ने टुङ्गो छैन : अर्ग्यानिक निबन्ध


(पितृपक्ष सन्दर्भमा मेरा जन्मपिता गणेशप्रसाद शर्मा तथा कर्मका मातापिता जयप्रसाद प्रसाई तथा भागीरथा प्रसाईका साथै सम्पूर्ण पितृहरूप्रति श्रद्धा समर्पण गर्दै यो लेख पुन: प्रशारण गरेकी छु ।)

पितृपक्ष र पितृकर्मका सन्दर्भमै म आज मृत्यु व्यवस्थापनको कुरा लिएर आएकी छु ।

‘जीवन झुठो र मृत्यु साँचो हो ।’ यो कुरा नसुनेको कुनै पनि वयस्क हुन सक्तैन । तर झुठो जीवनसँग अति प्रेम गर्ने प्राणीले साँचो मृत्युसँग प्रेम गर्न नसकेको सत्य पनि हामीसँगै छ ।

क्षणभङ्गुर जीवनसँग नछुट्टिने भ्रममा मानिस भुतुक्क हुन्छ तर अवश्यमेव मृत्युसँग भने सधैँ संत्रस्त्र रहन्छ र कुनै पनि बेला मर्नै पर्छ भन्ने कुरा चाहिँ थाहा नपाएको झैँ गर्छ । यसलाई पनि म मानव जीवनको विडम्वना नै भन्न रूचाउँछु ।

मृत्यु निश्चित विषय हो । जो सुकैको जीवन पनि जुनसुकै समयमा समाप्त हुन सक्छ । यो घामजुनभन्दा पनि बलियो सत्य हो । तर हामी कोही पनि आफ्नो मृत्यु स्वीकार किन गर्दैनौँ ? मेरो आजको मूल प्रश्न यही हो । साथै यसको उत्तरका रूपमा सबैले मृत्युलाई सहजताका साथ स्वीकार गरेर मृत्यु व्यवस्थापन पनि गर्नु पर्छ भन्ने हो ।

हाम्रो समाजमा वा घर परिवारमा यदि कसैले मृत्युको कुरा गरिहाल्यो भने पनि त्यो व्यक्ति या त मनोरोगी वा निराशाको गर्तमा डुबेको ठहर हुन्छ । तर त्यसो कदापि होइन ।

केही वर्षअघि अन्तर्राष्ट्रिय जगतकै सुप्रसिद्ध स्नायू रोग विशेषज्ञ डा. वसन्त पन्त नइ गृहमा आउनु भएका बेला उहाँले हामी नइ सामू मृत्यु व्यवस्थापनको कुरा गर्नु भएको थियो । डा. पन्तले एउटा सो सम्बन्धी भिडीयो पनि पेन ड्राइभबाट मेरो ल्यापटपमा सारिदिनु भएको थियो । तर मेरो दुर्भाग्य मेरो ल्यापटपमा खराबी भइदिनाले मैले उक्त भिडियो हेर्न पाइन । मैले जानकारी पाएसम्म डा. पन्तले चाहिँ आफ्नो मृत्यु व्यवस्थापनको कार्य धेरै वर्षअघिदेखि प्रारम्भ गरिसक्नु भएको छ । उहाँकै सम विषयी र समकक्षी डा. उपेन्द्र देवकोटाले आफ्नो मृत्यु व्यवस्थापन गर्न नभ्याउनु भएको नमीठो सत्य पनि हामीमाझ सार्वजनिक भएकै छ ।

डा. पन्तले त्यस बेला हाम्रा सामू मृत्यु व्यवस्थापनका कुरा गर्नु हुँदा मेरा लागि पनि यो नौलो विषय नै थियो । तर मेरो रूचिको विषय भने पक्कै थियो । त्यसैले म मेरो फुर्सतिलो समयमा मृत्यु व्यवस्थापनबारे चिन्तना गरिरहन भने थालेकी हुँ । अहिले केही विदेशी वेभसाइटहरूमा Death Management का कुरा पढ्न पाइन्छ । तर तिनमा पनि Euthanasia (असाध्य रोगीलाई पीडा निवारणार्थ मृत्युको कानुनी अधिकार दिने) सम्बन्धका चर्चा बढी पढ्न पाइने रहेछ । मैले यहाँ उठान गरेको विषय त्यस खालको होइन । असाध्य रोगीको मात्र नभएर जोसुकै स्वस्थ्य व्यक्तिको कुनै पनि समयमा हुनसक्ने मृत्युका सन्दर्भलाई यस निबन्धमा चर्चा गरेकी हुँ । यस निबन्धको बिजारोपणको श्रेय त्यसैले मैले डा. पन्तलाई दिनुपर्ने हुन्छ । अर्थात् मेरो मानसमा त्यतिबेलादेखि नै मृत्यु व्यवस्थापनका बारे भने निकै विचारहरू सल्बलाएकै हुन् ।

हुन त संसारमै जीवन वीमाको अवधारणा पनि मृत्यु व्यवस्थापनकै कारण आएको हो । त्यसो त जीवन वीमाको लक्ष्यविन्दु मृत्यु व्यवस्थापन भए तापनि वीमा कर्ताले बीस वर्षमा मेरो यति पैसा आउँछ भन्ने सपना देख्न भने छोडेको हुँदैन । कतिपय वीमा कर्ताले त आफ्ना उत्तराधिकारीलाई नै पनि आफूले खरिद गरेको वीमालेखबारे सुसूचितसमेत नगर्नाले र अनायस वीमितको मृत्यु भइदिँदा कतिपय वीमा कम्पनीले यसको फाइदा लिने गरेको पनि देखिन्छ । यसको तात्पर्य, घर परिवारमा मृत्यु सन्दर्भका कुरा अझै पनि खुलेर गरिँदैन । जसले गर्दा अप्रत्यासित रूपमा हुने मृत्युका कारण परिवारले निकै ठूलो जोखिम पनि बेहोर्नु पर्ने हुन्छ ।

यदि मातापिताले आफ्ना सन्तानहरूले होस सम्हाल्नासाथ नै उनीहरूलाई मृत्युबारेको चेतना खुलेर गराउने हो भने केटाकेटीहरू बेलैदेखि जिम्मेवार हुन्छन् जस्तो मलाई लाग्छ । किशोर किशोरीलाई मृत्यु एउटा भयका रूपमा नबुझाएर सत्यका रूपमा सम्झाउन सके उनीहरूकै आगामी जीवन धेरै कुरामा सहज हुन्छ भन्ने मेरो धारणा हो । जसले गर्दा मृत्यु भय नभएर सत्य हुन्छ र परिवारमा माता वा पिताको मृत्यु पश्चात् सन्तानले त्यतिसारो अत्तालिनु पर्ने अवस्था पनि आउँदैन । घरपरिवारमा मात्र नभएर माध्यमिक स्तरका विद्यार्थीहरूको पाठ्यक्रममा नै जीवन क्षणभङ्गुर छ भन्नेबारे पठनपाठन हुनुपर्छ जस्तो मलाई लाग्छ । किनभने बालबालिका जब विद्यालय जान थाल्छन्, आमाबाबाका कुरा भन्दा शिक्षकशिक्षिकाका कुरामा बढी विश्वास गर्न थाल्छन् । यसर्थ हामीले किशोरकिशोरीहरूको मानसमा बेलैमा नैतिक शिक्षाका साथसाथै व्यक्तिको मृत्युको शाश्वत तथ्यबारे यथार्थ बोध गराउन सकेमा समाजमा घट्ने विक्रितिहरू निवारणमा पनि मद्धत पुग्ने थियो भन्ने मलाई लाग्दछ ।

कुनै टुङ्गै नभएको जीवनका लागि मानिसहरू मरिहत्ते गर्छन् र निश्चित मृत्युका लागि निश्चिन्त रहन्छन् । जसले गर्दा कतिपय परिवारले परिवारका मूलीको अनायसको मृत्युपछि निकै ठूल्ठूला क्षति पनि बेहोर्नु परेको देखिन्छ । त्यसैले पनि हरेक व्यक्तिले मृत्युको शाश्वतताबारे आफूले पनि स्विकार गर्ने र आफ्नो परिवारलाई पनि अनिवार्य बुझाउनु पर्छ भन्ने मेरो आग्रह हो । हरेक व्यक्तिले आफ्नो पारिवारिक वृत्तमा मात्र घटिआएका मृत्युका विषयमा गहिरिएर मनन र चिन्तन गर्दा पनि जीवनको टुङ्गो छैन भन्ने सत्य हरेकका सामु अवश्य प्रकट हुन्छ । जस्तो मेरो पारिवारिक वृत्तको मृत्यु केलाउने क्रममा मलाई मृत्युका सन्दर्भमा किन हामी चेतनशील हुदैनौँ भन्ने पिरलो भएको हो । उदाहरणार्थ मेरा पिता गणेशप्रसाद शर्मा ५६ वर्ष, मेरा हजुरबुबा नेत्रप्रसाद नेपाल १०० वर्ष, मेरी हजुरआमा यज्ञमाया नेपाल ५२ वर्ष, मेरा माओली हजुरबुबा पद्मप्रसाद घिमिरे ८४ वर्ष, मेरी माओली हजुरआमा चित्ररेखा घिमिरे ५५ वर्ष, मेरा ससुरा जयप्रसाद प्रसाई ४४ वर्ष, मेरी सासू भागीरथा प्रसाई ९३ वर्ष, मेरो कान्छो भाइ जन्मिएको २४ घण्टाभित्र, मेरो ठूलोबुबा भरतप्रसाद नेपालको जेठो छोरो विमल नेपाल १६ वर्ष, मेरा माइला जेठाजु पद्मराज प्रसाई १२ वर्ष, मेरा काँइला जेठाजु भरतराज प्रसाईकी जेठी छोरी रेखा प्रसाई १६ वर्ष, मेरा काइँला काका विष्णुप्रसाद नेपाल ३० वर्ष, मेरी जन्तरी फुपू २२ वर्षमा मृत्यगमन गरेको सत्य मेरा सामुमा छ । पृथ्वीमा मानवका रूपमा अवतरण भएका अल्पायू वा दीघायू यी मेरा कुनै पनि आफ्न्तजनले मृत्यु व्यवस्थापन गरेनन् । दीर्घायू र अल्पायू जीवन समाप्तिले त परिवारमा त्यस्तो ठूलै विचलन ल्याएको हुँदैन । तर मध्य उमेरमा असामयीक मृत्यु वरण गरेका मेरा पिताले मृत्यु व्यवस्थापन नगरेका कारणले मेरी आमा दुर्गादेवी नेपालले कति झमेला बेहोर्नु पर्यो भन्ने कुरा उहाँद्वारा नै लेखिएको ‘बगेको खोला’ नामक पुस्तकमा उल्लेखित छ । अनि मेरी सासूले पनि उहाँका पतिको अनायसको निर्वाणबाट अव्यवस्थित हुनपुगेको जीवनका कारण कति दुक्ख पाउनु भयो भन्ने यथार्थ विवरण उहाँका बारे म स्वयम्द्वारा लेखिएको ‘मेरी सासू’ र मेरा गुरुदेव नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘मेरी आमा भागीरथा प्रसाई’ नामक पुस्तकहरूमा पनि लेखिएको छ । मेरी आमा र मेरी सासूले भोग्नुपरेको नारकीय पीडा कसैले भोग्नु नपरोस् भनेरै पनि म मृत्यु व्यवस्थापनका कुरा गर्न अघि सरेकी हुँ । हरेक जिम्मेवार व्यक्तिले आफ्नो मृत्यु व्यवस्थापन गरिदिएर आफ्नो संभावित मृत्युपछि परिवार अव्यवस्थित हुन पुग्ने परिस्थितिबाट जोगाउनु पर्छ भन्ने मान्यतामा पनि म पुगेकी हुँ ।

त्यसैले मृत्यु व्यवस्थापनका सन्दर्भमा हामीले यसरी व्यवस्थापन गर्नु पर्छ भन्ने मैले ठहर गरेकीले सबै समक्ष साझा गर्न पनि आवश्यक ठानेकी छु । यहाँहरू समक्ष ती प्रस्तुत गर्ने अनुमति चाहान्छु:
१. सर्वप्रथम त हामीले परिवारमा मृत्युलाई सहजताका साथ बुझाउने कार्य गर्नु पर्छ ।
२. समय सापेक्ष रूपमा आफ्नो मृत्यु पश्चात् आफ्ना महत्वपूर्ण अङ्दान गर्ने व्यवस्था गर्नु सामाजिक धर्म हो भन्ने मलाई लागेको छ ।
३. हरेक प्रौढले आफूपछिको आफ्नो उत्तराधिकारी निश्चित गर्नु पर्छ । उत्तराधिकारीलाई आफूले बोकिआएको जिम्मेवारी (ऋण र धन)का विषयमा स्पष्ट जानकारी गराउनु पर्छ । आफूले कुनै व्यक्तिगत आयआर्जन सम्बन्धी अथवा सामाजिक नै सङ्घसंस्था सञ्चालन गर्दै आएको भए सो बारेको सत्यतथ्य पनि आफ्ना उत्तराधिकारीलाई जानकारी गराउनु पर्छ ।
४. हिन्दूहरूको मृत्यु संस्कारमा दाउराले जलाउने, खाडलमा पुर्ने, खोलामा बगाउने, माङ्श भक्षी चराचुरुङ्गीलाई खुवाउने जस्ता विविध संस्कार रहेको पाइन्छ । एउटा सामान्य शव दहन गर्न २०० देखि ३०० किलोसम्म दाउरा र तीनदेखि चार घण्टाको समय आवश्यक पर्छ । अर्कातिर (Cremation) विद्युतीय शवदाह मेसिनमा एउटा शव दहनको समय ४५ मिनेट हुने गर्छ । मूल्यका हिसाबले पनि विद्युतभन्दा अहिले दाउरा महङ्गो भएको छ । जनघनत्वको वृद्धि र वन जङ्गलको विनासपछि विद्युतीय शवदाह अन्तर्गत शवदहन गराउने प्रचलन बिसौँसदीको उत्तरार्धबाट शुरु भएको देखिन्छ । हाल नेपालको राजधानी काठमाडौँको पाशुपत क्षेत्रमा पनि विद्युतीय शवदाहको सञ्चालन गरिएको छ । त्यसैले काठमाडौँका वासिन्दाले आफ्ना उत्तराधिकारीलाई सोबारे आफ्नो ईच्छा स्पष्ट पार्नु आवश्यक देख्छु ।

क: मानवको जङ्गली अवस्था जब कपडाको आविश्कार भएको थिएन केराका दाम्चा बेथ्र्यो, हिजोअस्तीसम्म खाँडीका कमेजसुरुवाल पनि लाएकै हो । अहिले ती छोडेर किसिम किसिमका कपडा उपभोग गर्ने पनि हामी मानिस नै हौँ । आगोको आविष्कार नगरुञ्जेल काँचै फलफूल वा माछामासु र पछि पोलेर खान थालेको पनि मानवकै इतिहास हो । हिजोअस्ती र अझै पनि बिकट र गरिबीका रेखा मुनिका मानिसहरूले दाउराकै चुलोमा खाना पकाएर खाने गरेकै हो । अहिले सभ्यता र आधुनिकताको भर्याङ उक्लिएका हामी ग्यास चुलोमा अथवा इन्डक्सनमा प्रेसर कुकर वा बिजुलीको राईस कुकरको भात खाने भएका छौँ । तर मृत्यु पश्चात चाहिँ दाउरामै डढाउनु पर्ने किसिमको मानसिकता हामीले अझै परित्याग गर्न सकेका छैनौँजस्तो मलाई लागेको छ । जनघनत्वको न्यूनता, वनजङ्गलको अधिकता, शवदहन गर्ने विद्युतीय मेशिनको आविष्कार नभएको वा उपलब्ध नभएको अवस्थाका कारण पनि दाउरामा शवदहन गरिएको हो । त्यसैले अब हामी आफूलाई आधुनिक सुविधाजनक जीवन यापन गर्ने व्यक्तिहरूले विद्युतीय शवदहन गर्ने ईच्छा प्रकट गरेर समयको वचत, प्रदुषणको रोकथाम र पर्यावरणको रक्षामा समेत मद्धत्त पुर्याउनु पर्छ भन्ने मेरो आग्रह हो । त्यसैले सकेसम्म र उपलब्ध भएसम्म आधुनिकता र सहजता अपनाएर विद्युतीय शवदहन अपनाउने ईच्छा जनाउँदै आफ्ना उत्तराधिकारीका लागि मृत्यु संस्कार समयसापेक्ष र सहज पारिदिनु पर्छ भन्ने पनि मेरो आग्रह हो ।

खः दाउरामै जलाउने प्रबल ईच्छा भएका व्यक्तिहरूले चाहिँ आफ्ना सन्तानसँग डालडा घिउ र प्लाष्टिकको थैलो चितामा नहालि दिन विशेष अनुरोध गर्नु पर्छ भन्ने मेरो विशेष आग्रह पनि छ । शुद्ध घिउ प्रज्ज्वलन गर्दा वातावरणमा सकारात्मक उर्जा प्रवाह हुनका साथै शवदहनबाट हुन जाने प्रदूषणमा पनि न्यूनता हुन्छ । शुद्ध घिउको प्रज्ज्वलनले वातावरण शुद्धिकरणमा मद्धत पुग्दछ । अर्कातिर डालडा घिउ जलाउनु भनेको प्रदुषण बढाउनु हो । अनि प्लाष्टिक जलाउँदा त्यस प्लाष्टिकको धुवाँ मानव शरीरका लागि अति घातक हुने कुरा पनि अनुसन्धानमा आइसकेको कुरा हो । यस्तो धुवाँले कलेजो र फोक्सोको क्यान्सर गराउने कुरा विज्ञहरूले बताएका छन् । त्यसैले क्रियापुत्री र मलामीहरू सहित समग्र समाजलाई नै घातक रोग लाग्ने प्रबल सम्भावना भएको डालडा र प्लाष्टिकको थैला कसैले पनि दाह संस्कारमा कुनै पनि हालतमा प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्छ भन्ने मेरो आग्रह हो । यस्तो महापाप गरेर मृतकको आत्मालाई अशान्ति दिने काम नगर्न पनि हामीले आफ्ना उत्तराधिकारीलाई निर्देशन दिनै पर्छ ।

हाम्रो देशको राजधानी काठमाडौँको पाशुपत क्षेत्रस्थित बाग्मतीको किनारमा अवस्थित आर्यघाटमा नेपालकै दैनिक अत्याधिक दाउरामा शवदहन गराउने कार्य सम्पन्न हुने गरेको छ । पशुपति विकास कोषले आर्यघाटमा मृतकको शव दहनका लागि आवश्यकीय सम्पूर्ण सामाग्रीहरू त्यही एकै थलोमा बेचिदिएर बढो स्तुत्य काम गरेको छ । शवदहक कर्मचारीको समेत त्यहाँ व्यवस्था गरिदिनाले मृतकलाई दागबत्ति दिन बाहेक मृतकका परिवार वा मलामीको त्यहाँ अरू कुनै काम हुँदैन । तर पशुपति विकास कोषद्वारा नै बिक्री गरिएका सामाग्रीमा बनस्पति घिउ भनिने डालडा प्लाष्टिकका थैलामा हुने गरेका छन् । पशुपति विकास कोषलाई म यसै निबन्धद्वारा अविलम्व शवदहनमा डालडाको प्रयोग नगराइयोस् भन्ने आग्रह गर्न चाहन्छु । साथै शव दहनमा कुनै पनि प्रकारका प्लाष्टिकका पदार्थहरूको दहन नगरेर पर्यावरणको रक्षाका लागि थप स्तुत्य काम गर्न समेत निवेदन गर्न चाहान्छु ।

गः साह्रै कङ्गाली अथवा दरिद्र अवस्थाका उत्तराधिकारी बाहेकले आफ्ना पितामाताका लागि दुइचार किलो शुद्ध घिउ अग्निमा प्रज्ज्वलन गराएर पृथ्वीको पर्यावरण जोगाउन मद्धत गर्न पनि अनुरोध गर्नेु पर्छ भन्ने मेरो विशेष आग्रह छ । अझ म त हरेक आय आर्जन गर्न समर्थ व्यक्तिसँग आफ्नो मृत्यु पश्चात शवदहनका लागि शुद्ध घिउको अनिवार्यता महसुस गरेर सो घिउको व्यवस्थासमेत आफैँले गरिदिएर आफ्ना उत्तराधिकारीका लागि सहज पारिदिनु पर्छ पनि भन्छु । यदि मृत्यु पश्चात आफ्नो शव दाउरामा दहनकै ईच्छा गरिन्छ भने राम्रोसँग खारेको दुई तीन किलो घिउ शिशाको भाँडामा हालेर आफैँले सुरक्षित राख्नु पर्छ र सोको जानकारी आफ्ना उत्तराधिकारी वा परिवारका सदस्यलाई गराउनु पर्छ । त्यसरी राखिएको शुद्ध घिउ बर्षौँसम्म पनि बिग्रिँदैन ।

घः चिता दहनका समयमा चितास्थल ओरिपरि केही काम नहुनाले मलामीहरू त्यहीँ रहेर अनावश्यक कुरा गदैँ हासपरिहास गरिरहेको लज्जाजनक र निन्दनीय दृष्य पनि त्यहाँ देखिने गरेको छ । कम्तिमा पनि शवदहन हुञ्जेल त्यसक्षेत्रमा परिहास र होहल्ला नगरिदिनका लागि मलामीहरूसँग अनुरोध गर्न उत्तराधिकारीलाई निर्देशन दिनु पर्छ भन्ने मलाई लागेको छ । मलामीहरूले शवदहन हुञ्जेल शान्त भावमा दिवङ्गत व्यक्तिको आत्माको परमशान्तिका लागि प्रार्थना गरिदिनका लागि अनुरोध गर्ने बारेमा पनि आफ्ना उत्तराधिकारीलाई निर्देशन दिनु पर्छ भन्ने पनि मेरो अनुरोध छ ।

जसरी हाम्रो समाजमा दहीच्युरा वा गोद भराई (Baby Shower), छैटी, न्वारन, पाश्नी, ब्रतबन्ध, गुन्यु चोली, जनै सुपारी (Engagement), बिहे, सम्धीसम्धिनी भेटघाट जस्ता कतिपय भोज र मोजका बारेमा परिवारवीच छलफल वा विचार विमर्श हुने गर्छ । त्यसरी नै कसैका परिवारमा पनि अनिवार्य ठहरिएको संभावित मृत्युका बारेमा कुनै चर्चा नगरिनु बढो दुर्भाग्यपूर्ण रहिआएको छ । हरेकका जीवनमा कतिपय भोज र मोजका घटना नघट्न पनि सक्छन् तर मृत्यु भनेको हरेक जीवनका लागि शाश्वत सत्य नै भएकाले यसबारेमा चर्चा, छलफल र विमर्श गर्ने आदत हरेक व्यक्तिले आफ्नो परिवारमा अनिवार्य बनाउनु पर्छ भन्ने मेरो विशेष आग्रह छ ।

यसबाहेक आफ्नो मृत्यु पश्चात पितृकर्मका लागि के कसो गर्ने भन्ने विषयमा पनि आफ्ना उत्तराधिकारी समक्ष वृहद् चर्चा गर्न समेत आवश्यक देख्छु ।

मृतकको क्रियाकर्म कति दिनको गर्ने ?
हाम्रो समाज परिवर्तनको सङ्घारमा त छ । आडम्वरको वर्को ओड्ने व्यक्ति वा समूदायबाहेक हामी सबैले नै अहिलेको पारम्परिक तेह्रदिने परिपञ्च ठीक छ भन्दैनौँ । समग्र हिन्दू समाजमा पनि किरीया बार्ने दिनका विषयमा एकमतता देखिँदैन । हामी नेपाली समाजका खास गरेर ब्राहम्ण र क्षत्री सम्प्रदायमा भने उही तेह्रदिने परिपञ्च चलेको भेटिन्छ । सबैजसो व्यक्तिहरू यस परिपञ्चलाई वाध्यात्मक तवरले जसरी भए पनि समाजको आँखामा गतिलो हुनका लागि पनि पालन गर्दै छौँ । किनभने हाम्रो समाजमा परिवर्तनकामी समाज सुधारक धार्मिक नेताको अभाव अहिले पनि टड्कारो नै छ । नेपालमा श्री ३ चन्द्रशमशेर महाराजजस्ता सुधारवादी नेतृत्वकर्ताको पुनः अभ्युदय हुन सकेको छैन । त्यसो हुँदा राणाले एक महिनाको क्रिया अवधीलाई तेह्र दिनमा घटाएर उतिबेलाका लागि समयसापेक्ष बनाएर समाजमा लागु नै गरे झैँ त्यसपछि उक्त तेह्र दिनलाई समयसापेक्ष बनाउने महत्वको काम भएको छैन । केही व्यक्ति वा समूदाय विशेषले तेह्रदिने किरीयालाई घटाएर सात दिनमा ल्याएको पनि देखिएको छ । तर जबसम्म कुनै परिवर्तनकारी र शक्तिशाली नेताका नेतृत्वमा सनातनीहरूले एकमतका साथमा परिवर्तन गर्दैनन् तबसम्म परिवर्तन स्थायी हुने सभावना देखिँदैन ।

यस बाहेक तेह्र दिनमा र वार्षिकीमा ब्राह्मणलाई दिइने दानमा पनि अहिले व्यापारी वर्ग विशेष मोटाउने कार्यमात्र भइरहेको छ । पुरोहितलाई बस्तुहरू अनिवार्यरूपले दान दिनै पर्छ भन्ने पुरातन मान्यता अझै पनि कायम छ । गौ दानका साटोमा पैसा दिन मिल्छ, बहर छोड्ने परम्परा हटाउन मिल्छ, कुनै सामाग्री बजारमा अभाव भएमा सोको साटो पनि पैसा दिन मिल्छ भने अन्य सामाग्रीका साटोमा चाहिँ पैसा नै दान दिन किन नमिल्ने ? मैले नबुझेको कुरा यही हो । पुरोहितका लागि अनावश्यक र कतिपय त दाने सामान भनेका कामै नलाग्ने बस्तुहरू पनि दानमा दिइने प्रचलन नै छ । त्यसैले दाने ती बस्तुहरू आधाभन्दा कम मोलमा पुरोहितले ब्यापारीलाई बिक्री गर्ने गरेको पाइन्छ । त्यसपछि ठीक तिनै वस्तु नै फेरि अर्को कर्ताले ब्यापारीसँग पूरा मोलमा किनेर लान्छन् र पुरोहितलाई दान दिने गर्छन् । यसरी एकातिर कर्ता ठगिएका छन् भने अर्कातिर पुरोहितले पनि पूरा मोल पाइराखेका छैनन् । बिचौलिया ब्यापारी वर्गले कर्ता र पुरोहित दुवैतिरबाट मुनाफा कमाइरहेका छन् । यसबारेमा हरेक चेतनशील व्यक्तिले चनाखो हुँदै आफ्ना उत्तराधिकारीलाई बस्तुका साटो पुरोहितलाई रूपैँया नै दानमा दिनु पर्छ भन्ने सिफारिस गर्नु समय सापेक्ष हुन्छ भन्ने मलाई लाग्दछ । पुरोहितहरूले पनि अन्धानुकरण नगरेर बस्तु नै दानमा लिनु पर्ने वाध्यताबाट आफूहरूलाई मुक्त गराउँनु पर्छ । पुरोहितले जजमानलाई बस्तुका साटो कागजमा बस्तुका नाउँ लेखेर रूपैँया दानमा लिने परिपाटी बसाल्नु पर्छ । पुरोहितहरूले यसरी अघि बढ्न सके उनीहरूको पेसाको रक्षा हुनका साथै उनीहरूद्वारा जजमानको पनि भलो गरिएको ठहनेर्छ ।

मेरो विचारमा हामीले मानिआएको हाम्रो धर्म संस्कारलाई हामीले नै समय सापेक्ष रूपमा परिवर्तन गर्ने प्रयास गर्दै जानु पर्छ । जसले गर्दा पछिल्लो पुस्तालाई काम गर्न पनि सहज होस् र हामीले नै मानिआएका धर्मसंस्कार समेत छरितो हुनका साथै पछिल्ला पुस्ताले पनि हृदयबाटै त्यसलाई मान्यता दिउन् । अन्यथा हाम्रा धर्मसंस्कारहरू ‘बाउको श्राद्धमा बिरालो खोज्न जाने छोरो’ किशोर व्राह्मणको कथा झैँ हास्यास्पद हुन जान्छ भन्ने संत्राश मलाई पनि भएको छ । त्यसैले मृत्यु संस्कारलाई पनि विशेष महत्व दिएर सम्बन्धित निकायले यस बारे विशेष छलफल चलाउने र यसलाई पुरातन अन्ध मान्यतामा नलतारेर युग सुहाउँदो तरिकाले परिमार्जन गर्नै पर्छ । अन्यथा भविष्यमा हाम्रा धार्मिक मान्यताहरू हास्यास्पद हुँदै जाने खतरा पनि मैले देखेकी छु ।

यस पितृपक्षको पवित्र अवसरमा हरेक वयस्क र चेतनशील व्यक्तिले नश्वर देहको अर्थ बुझेर मृत्यु व्यवस्थापनजस्तो महत्वपूर्ण विषयमा गहन विमर्श प्रारम्भ गर्ने तर्फ अग्रसर हुन सकौँ भन्ने शुभकामनाका साथ अहिलेका लागि यहीँ बिसाएँ ।


Loading comments...