Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

हामी किन गरिब हुन्छौ?

११ आश्विन २०७८, सोमबार २२:४३

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू कम्युनिष्ट नेतालाई सोध्ने हो भने उसले भन्ने छ तिमीलाई सामन्त, शोषक, दलाल पूँजीपतिहरूले गरिब बनाएका हुन। तिनीहरूलाई समाप्त नपारेसम्म गरिबीबाट मुक्ति पाइँदैन। तिनीहरूको बिरुद्धमा हतियार उठाउनु पर्छ। हतियार उठाए पछि मात्र गरिबीबाट मुक्ति पाइन्छ। उक्त कम्युनिष्ट नेताको भनाइबाट प्रेरित भएर एक व्यक्तिले तथाकथित शोषक, दलाल पूँजीपति, समान्त भनिएका विरुद्धमा हतियार उठाउँछ। संघर्ष गर्छ। शोषक, पूँजीपति भनिएका व्यक्तिहरूको हत्या गर्छ। अरुलाई पनि मार्छ, सो व्यक्ति आफू पनि मारिन्छ। मारिएको सो गरिब व्यक्तिको गरिबीबाट मुक्ति पाउने सपना, सपनामा नै सीमित हुन पुग्छ। सपनाले मूर्त रुप लिन पाउँदन। त्यो गरिब व्यक्तिको त्यो सपनाको कम्युनिष्ट नेताबाट उपयोग मात्र हुन्छ।

लेखकः विश्वराज अधिकारी

कम्युनिष्ट नेताले देश र जनतालाई गरिबीको कुचक्रबाट बाहिर ल्याएको देखिएको छैन्। भारतको पश्चिम बङ्गालमा लामो समयसम्म शासन गरेको कम्युनिष्ट सरकार (ज्योती बसु, बुद्धदेव भट्टाचार्जी) ले पश्चिम बङ्गालको गरिबी कम गर्न सकेन। उल्टो त्यस राज्यमा गरिबी बढेर गयो। कम्युनिष्ट नेता ज्योती बसु २३ वर्ष (सन् १९७७ देखि २०००) पश्चिम बङ्गालको मुख्य मन्त्री भएका थिए भने अर्का कम्युनिष्ट नेता बुद्धदेव भट्टाचार्जी ११ वर्ष (सन् २००० देखि २०११) पश्चिम बङ्गालको मुख्य मन्त्री भएका थिए। उनीहरूको शासनकालमा पश्चिम बङ्गालमा गरिब कम हुन सकेन। कुनै समयमा बिहारबाट रोजगारीको लगि पश्चिम बङ्गाल विभिन्न व्यक्तिहरू जाने स्थितिमा परिवर्तन आएर पश्चिम बङ्गालबाट रोजगारीका लागि व्यक्तिहरू बिहार आउने स्थिति सृजना भयो। बरु कहिले पनि कम्युनिष्टको शासन (मुख्य मन्त्रीहरू) नभएको भारतीय राज्य गुजरातले निकै आर्थिक प्रगति गर्यो। अहिले पनि गुजरात भारतका दस धनी राज्यहरू मध्ये तेस्रो नम्बरमा पर्दछ भने पश्चिम बङ्गाल छैठौ स्थानम पर्दछ। स्रोत र साधनहरूको हिसाबले पश्चिम बङ्गाल निकै सम्पन्न मानिन्छ। भारतमा अंग्रेजहरूको शासन हुँदा भारतको राजधानी हालको कोलकाता (पश्चिम बङ्गाल) मा थियो।

चीनिया कम्यिनिष्ट नेता माओ त्सेतुङको जस्तै शासन व्यवस्था चीनमा रहिरहेको भए अहिले चीन विश्वको दोस्रो आर्थिक महाशक्ति राष्ट्र हुने थिएन। अहिले चीनमा राजनीति कम्यिनिष्ट व्यवस्था अनुसार सञ्चालित छ भने अर्थतन्त्र पूँजीवादी ब्यवस्था अनुसार सञ्चालित छ। अहिले चीन पूँजीवादको जगमा उभिएको छ, उसको शरीर कम्युनिष्ट भएता पनि। माओ त्सेतुङको समययमा चीन आर्थिक रुपमा ज्यादै कमजोर हुन पुगेको थियो। चीनलाई कम्युनिष्ट शासन व्यवस्थाले धनी बनाएको होइन, पूँजीवादी अर्थ व्यवस्थाले धनी बनाएको हो।

के त्यस्ता तत्वहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्? गरिबीबाट मुक्ति पाउन के गर्नु पर्छ? यी प्रश्नहरू प्रजातन्त्रको दुहाइ दिने नेतालाई सोध्ने हो भने उसले भन्ने छ, अहिलेको, यो भ्रष्ट सरकारले तिमीलाई गरिब तुल्याएको हो। यो भ्रष्ट सरकारलाई सत्ताच्यूत गर्नु पर्छ अनि मात्र देशमा समृद्धि आउँछ। तिमीले गरिबीबाट मुक्ति पाउने छौ। त्यसकारण तिमी, मलाई चुनावमा विजयी गराउ, चुनावमा म बिजयी भएर शक्ति र सत्तामा पुगेपछि, म सरकारमा पुगेपछि, तिमीलाई, तिमीजस्तै गरिब अन्य गरिबहरूई गरिब रहन दिने छैन। उनीहरूलाई आर्थिक रुपमा सम्पन्न तुल्याउने छु। प्रजातन्त्रको दुहाई दिने नेताहरूको त्यो कुरामा विश्वास गरेर गरिबहरूले उसलाई चुनावम विजयी तुल्याउँछन। चुनावमा विजयी भएर सत्तामा पुगेको त्यो नेताले गरिबहरूसँग आफूले गरेको वाचा बिर्सिन्छ। यता, गरिबीबाट छुटकारा पाइने सपना बोकेर नेताहरूलाई चुनावमा विजयी गराउने सो व्यक्तिको भ्रम पनि टुट्छ। ऊ गरिब नै रहिरहन्छ। धनी हुन पाउँदैन।

गरिबीबाट मुक्ति पाउने हाम्रो धारणा नै त्रुटीपूर्ण। बाटो नै दोषपूर्ण छ। अप्रभावकारी छ। हामीलाई गरिब तुल्याउनमा हाम्रो शिक्षा पद्धति, परम्परा, विश्वास, संस्कृति, सामाजिक ब्यवस्था आदिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यी तत्वहरूले नै गरिबीको एउटा बलियो कुचक्र बनाएका हुन्छन। अनि हामी त्यो गरिबीको कुचक्रभित्र चक्कर काटिरहेका हुन्छौ। गरिबीको त्यो कुचक्रबाट बाहिर आउन सक्तैनौ। जस्तै, दक्षिण एशियामा जातीय व्यवस्थले पनि गरिबीको कुचक्र निर्माण गर्नमा महत्वपूर्ण कार्य गरेको छ। जातीय व्यवस्थाले गर्दा कतिपय व्यक्तिहरूले आफ्नो व्यापारिक कौसल देखाउन पाएका छैनन भने केही व्यक्तिहरू जातीय व्यवस्थाले गर्दा केही सीमित किसिमको काम (पेसा) गर्न बाध्य छन। दाउरी वा दाइजो, सम्पत्ति हस्तान्तरण (पुर्खेउली सम्पत्ति पाउने व्यवस्था), खर्चिलो विवाह जस्ता अनेक अन्य तत्वहरुले पनि हाम्रो गरिबीको कुचक्रलाई झनै बलियो तुल्याउने कार्य गरेका छन्।

गरिबीको कुचक्रबाट बाहिर आउने प्रयास व्यक्ति स्वयंले गर्ने हो। गरिबीबाट मुक्ति पाउन हामी स्वयंले अनेक प्रयासहरू गर्नु पर्छ। आफू गरिब हुनमा व्यक्तिले सर्वप्रथम आफूलाई दोषी देख्नु पर्छ अनि गरिबीबाट छुटकारा पाउने अनेक प्रयास वा उद्यम गर्नु पर्छ। हामीलाई हाम्रा प्रयत्नहरूले नै गरिबीबाट छुटकारा पाउनमा सहयोग गर्छन। जसरी, अहिले नेपाली केही युवा युवतीहरू, आफ्नै प्रयासमा, विश्वका अनेक राष्ट्रहरूमा पुगेर, अनेक पेशाहरू गरेर, आय आर्जन गरिरहेका छन, गरिबीको कुचक्रवाट बाहिर आउन खोजिरहेका छन्, त्यसैगरी अन्य युवा युवतीहरूले पनि गरिबीबाट छुटकारा पाउने अन्य उपायहरूको खोजि गर्नु पर्दछ। स्वदेश भित्र रहेरनै पनि अनेक किसिमका पेशा वा रोजगारी गरेर आय आर्जन गर्न सकिन्छ। आफ्नो गरिब कम पार्न सकिन्छ। गरिबीको कुचक्रबाट बाहिर आउन सकिन्छ।

गरिबीबाट छुकारा पाउन आफू स्वयंले सक्रिय प्रयास गर्नुको साटो नेताहरूले केही गर्लान भन्ने सोंचेर नेताहरुको वा खास किसिमको राजनीतिक व्यवस्थाको आस गर्ने हो भने गरिबीबाट छुटकारा पाउने हाम्रो सपना अधूरोनै रहिरहनेछ।

गरिबीबाट छुटकारा पाउने अनेक अनेक उपायहरू छन्। पेसा, व्यवसाय, जागिर जस्ता अनेक कार्य गेरर, आय आर्जन गरेर हामी गरिबीको कुचक्र तोडेर बाहिर आउन सक्छौ।

गरिबीको कुचक्र तोडेर बाहिर आउने अनेक तरिकाहरू मध्ये एक सरल तरिका उद्यम गर्नु हो। व्यवसाय स्ञ्चालन गर्नु हो। अन्य व्यक्तिको कार्यालयमा जागिर गर्नु वा सरकारी जागिरको मुख ताक्नु भन्दा आफूले नै कुनै नया व्यवसायको थालनी गर्नु उत्तम हो।

हामी पेशा वा कार्यलाई इज्जतसँग जोड्ने गर्दछौ। कामलाई सानो ठूलो भन्छौ। यस्तो सोंच्न र भन्नु गलत कुरा हो। हाम्रो यस्तो सोंचले हामीलाई गरिबीको कुचक्रकबाट बाहिर आउन दिइरहेको छैन। एमए वा एमबिए गरेको व्यक्तिले रोजगारीका लागि अनेक सरकारी कार्यालयको चक्कर काट्नु र निरासा बटुल्नुको सट्टा उक्त व्यक्तिले सडक छेउमा चिया पसल खोल्नु उत्तम हो।

अनेक किसिमका व्यवसायिक कार्यहरू गरेर, आय आर्जन गरेर, हामीले गरिबीको कुचक्रलाई तोड्न सक्छौ। त्यसकारण कुनै पनि व्यक्तिले गरिबीको कुचक्रबाट बाहिर आउन सर्वप्रथम ऊ स्वयंले नै प्रयास गर्नु पर्दछ। आफू गरिब हुनमा प्रत्येक व्यक्तिले पहिले आफूलाई नै जिम्मेवार ठहर गर्नु पर्छ। यस्तो गरेमा मात्र हामी गरिबीबाट मुक्त हुन सक्छौ। होइन, हामीले गरिबीका लागि सकरार वा नेताहरूलाई जिम्मेवार ठहर गर्ने हो भने नेताहरुले हामीलाई उपयोग मात्र गर्ने छन। हाम्रो गरिबी नेताहरूको लागि चुनाव जित्न वा शक्तिमा पुग्न पुल मात्र हुनेछ।

नया नया किसिमका व्यापारहरू सृजना गरेर, नया नया किसिमका पेसाहरू पत्ता लगाएर हामीले थप रोजगारी सृजना गर्न सक्छौ। ती नया नया किसिमका रोजगारीहरूले हामीलाई गरिबीको कुचक्र तोड्न सहयोग पुर्याउन सक्छन। विश्व प्रसिद्ध अमेरिकी उद्यमी बिल गेट्स भन्छन, “जन्म लिंदा यदि तिमी गरिब थियौ भने त्यस्तो हुनुमा तिम्रो कुनै पनि दोष छैन तर यदि तिम्रो मृत्यु हुँदा तिमी गरिब छौ भने त्यस्तो हुनुमा तिमी दोषी छौ (If you are born poor, it’s not your mistake, but if you die poor, it’s your mistake.) बिल गेट्सको यो भनाइले ठूलो अर्थ दिन्छ। जसरी पानीमा डुब्न थालेको कुनै एक व्यक्तिले मर्नबाट जोगिन पहिले आफूले नै हरसम्भव प्रयास गर्दछ त्यसैगरी गरिबीको कुचक्रबाट बाहिर आउन पहिले स्वयं एक व्यक्तिले नै अनेक प्रयास गर्नु पर्दछ। यस्तो गर्न सकेमा हामी नेताहरूको हतियार बन्नबाट जोगिन सक्छौ र आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सक्छौ। गरिबीको कुचक्र तोड्न सक्छौ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो