मिश्रित समाज


विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको देखिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा वा अन्य देशका ठूला शहरहरुको जन संख्याको अध्ययन गर्ने हो भने ती शहरहरुमा विभिन्न जातीय समूहहरुको बसोबास रहेको सहजै देख्न सकिन्छ।

कुनै पनि शहर वा देशको आर्थिक विकास गर्नका लागि त्यहाँ विभिन्न जातीय समुदायको बसोबास हुन आवश्य रहेको र यसै गरी बिभिन्न समुदायहरु एक अर्का प्रति सद्भाव कायम गरी बसेको हुनु पर्ने ठूल ठूला शहरहरुको आर्थिक र साँस्कृतिक विकासले देखाएको छ।

यस्तै, विभिन्न जातीय समूहहरुले बसोबास गरेको तथा बहु संस्कृति भएको शहर हो, टोरन्टो। उत्तरी अमेरिकाको, क्यानाडाको ओन्टारियो प्रोभिन्समा पर्ने यो शहर विश्वकै बहुसांस्कृति शहरहरु मध्ये एक मानिन्छ। करिब पच्चिस लाख व्यक्तिहरुको बसोबास रहेको यो शहर उत्तरी अमेरिकाका सुरक्षित ठूला शहरहरु मध्ये एक मानिन्छ। १४० भन्दा बढी भाषा बोलिने यस शहरमा ३० प्रतिशत जतिले अंग्रेजी र फ्रेन्च बाहेकका भाषाहरु बोल्छन्। क्यानाडाको कुल जनसंख्या मध्ये ८ प्रतिशत (सन् २००६) टोरन्टोमा बस्छन र टोरन्टोको कुल जनसंख्या मध्ये ३० प्रतिसत आप्रवासी (Immigrants) हरु रहेको पाइन्छ। सन् २००१ देखि २००६ सम्ममा क्यानाडामा ११ लाख ९ हजार ९८० अन्तरार्ष्ट्रिय आप्रवासीहरु आएका थिए र त्यस मध्ये २ लाख ६७ हजार ८५५ टोरन्टो शहरमा आएका थिए। बिभिन्न जातीय समुदायको बसोबासको हिसाबले हेर्ने हो भने टोरन्टोमा दक्षिण एशियाका १२, चिनिया ११.४, काला ८.४, फिलिपिनी ४.१ र लेटिन अमेरिकी २.६ प्रतिशतले बसोबास उल्लेख गरिएको छ। २०० भन्दा बढी जातीय समुदायको बसोबास रहेको टोरन्टो शहर सांस्कृतिक विविधताले भरिपूर्ण विश्वका शहरहरु मध्ये एक मानिन्छ। सम्पर्क भाषाका रुपमा अंग्रेजी बढी बोलिने भएता पनि मातृ भाषाका रुपमा अन्य भाषाहरु पनि यहाँ बोलिन्छन। मातृ भाषाका रुपमा बोलिने प्रमुख पाँच भाषाहरुमा- चाइनिज (४,२०,०००), इटालियन (१,९५,०००), पन्जाबी (१,३८,००), तेगालोग/फिलिपिनो (१,१४,०००), पोर्चुगिज (१,१३,०००) रहेको पाइन्छ। अंग्रेजी र फ्रेन्च बाहेक घरमा बोलिने भाषाहरुमा चाइनिज, तामिल, इटालियन, स्पेनिस र पोर्चुगिज पर्दछन। टोरन्टोका बासिन्दाहरु मध्ये ३१ प्रतिसतले घरमा अंग्रेजी वा फ्रेन्च बाहेकको भाषा बोल्ने गर्दछन। यसबाट पनि अनुमान गर्न सकिन्छ टोरन्टो साँस्कृतिक विविधा कति वैभवपूर्ण छ भन्ने तथ्य। क्यानाडालाई ‘इमिग्रेन्टस् फ्रेन्डली कन्ट्री’ अर्थात आप्रवासी मित्रवत राष्ट्र भन्ने गरिन्छ। यसै गरी टोरन्टोमा विभिन्न राष्ट्रका मानिसहरु बस्ने हुनाले सांकेतिक रुपमा यो शहरलाई ‘युनाइटेड नेसन्स’ पनि भन्ने गरिन्छ। क्यानाडाका अन्य प्रोभिन्स वा क्षेत्रहरुको तुलनामा सबै भन्दा बढी क्यानेडियन आदिबासीहरु (२ लाख ४२ हजार ४९०) ओन्टारियोमा बसेका (सन् २००६) देखिन्छन। कुल राष्ट्रिय आदिबासी संख्याको २०.७ प्रतिशत ओन्टारियोमा बस्छन्।

क्यानाडा विश्वका अग्रणी धनी एवं औधोगिक राष्ट्रहरु मध्ये एक हो र ‘G-8’ को सदस्य पनि। ‘G-8’ विश्वका धनी एवं औधोगिक राष्ट्रहरुको समूह हो र यो समूह भित्र फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, क्यानाडा र रसिया पर्दछन। यस बाहेक क्यानाडा NAFTA को पनि सदस्य रहेको छ। क्यानाडा, विश्वका बढी तेल उत्पादन गर्ने राष्ट्रहरु मध्ये एक हो। विश्वमा सबै भन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रहरु मध्ये साउदी अरेबिया, रसिया, संयुक्त राज्य अमेरिका क्रमश: प्रथम, दोस्रो, तेस्रो स्थानमा पर्दछन भने क्यानाडा (सन् २००६) को स्थान सातौ रहेको छ।

नेपालका शहरहरुमा पनि ती शहरहरुले बढी विकास गरेको पाइएको छ जुन शहरमा विभिन्न समुदायका मानिसहरुले बसोबास गरेका छन् र यसको उदाहरणको रुपमा काठमाडौलाई लिन सकिन्छ। बीरगंज र बिराटनगरले पनि तुलनात्मक रुपमा अन्य शहरहरु भन्दा बढी आर्थिक प्रगति गर्नुमा यी शहरहरुमा विभिन्न समुदायका मानिसहरुको बसोबास हुनु हो ।

काठमाडौ, बिराटनगर, जनकपुर जस्ता पाचीन शहरुको तुलनामा बीरगंजलाई नया शहर भन्न सकिएला तर बीरगंज त्यस हिसाबले नया भएता पनि यसले तिब्र गतिमा आर्थिक प्रगति गरेको छ। बीरगंजले नेपालका अन्य शहरहरुको तुलनामा तिब्र गतिमा आर्थिक प्रगति गर्नुको मुख्य कारण नै यस शहरमा विभिन्न समुदायहरुको बसोबास हुनु हो। यस शहरमा बसोबास गर्ने सबै जातीय समुदायका व्यक्तिहरुले बीरगंजको आर्थिक उन्नतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अमूल्य योगदान दिएका छन। यो सानो लेखमा ती सबै समुदायहरु, जसले बीरगंजको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिए, को उल्लेख गर्न गार्हो छ। तैपनि दुई समुदायहरुको यहाँ चर्चा गर्न खोजेको छु र ती दुई समुदायहरु हुन मारबाडी र पंजाबी। बीरगंजको आर्थिक विकासको सन्दर्भमा, उद्योग र व्यापारको क्षेत्रमा मारबाडी समुदाय र यातायातको क्षेत्रमा पंजाबी समुदायले ठूलो भूमिका खेलेको छ र त्यो भूमिकालाई बीरगंजले सधै याद गर्ने छ पनि।

कुनै पनि शहरमा विभिन्न जातीय समुदायका मानिसहरुले बसोबास गर्दा त्यो शहरको आर्थिक प्रगति तिब्र रुपमा कसरी हुन्छ त? भनी प्रश्न उठ्न सक्छ। कुनै पनि गाउँ वा शहरमा विभिन्न जातीय समुदायका व्यक्तिहरुले बसोबास गर्दा त्यस क्षेत्रको विकासमा उनीहरुले आफ्ना सिप र ज्ञानको प्रयोग गर्छन। विभिन्न समुदायका व्यक्तिहरुमा विभिन्न किसिमका सिप र ज्ञानहरु हुन्छन र त्यसको उपयोग उनीहरुले आ-आफ्नै किसिमले गर्छन। र यसरी उनीहरुको विभिन्न किसिमका ज्ञान सिपहरुको प्रयोग हुने स्थितिले गर्दा त्यस क्षेत्रको आर्थिक विकास गर्न सजिलो हुन जान्छ। यस तथ्यलाई उक्त प्रश्नको जबाफको रुपमा प्रस्तुत गर्न सकिन्छ।

त्यसकारण, नेपालको सन्दर्भमा, यहाँका गाउँ वा शहरको आर्थिक विकासको गतिलाई तिब्र पार्न कुनै पनि गाउँ वा शहरमा विभिन्न जातीय समुदायका व्यक्तिहरुको बसोबास हुन आवश्यक छ। यस्तो भएमा मात्र राष्ट्रको आर्थिक विकासको गतिलाई तिब्र पार्दै सामान्य जनतालाई अति निर्धनताको स्थितिबाट बाहिर ल्याउन सकिन्छ। र यो तथ्य सामान्य जनताले बढी मनन गर्न आवश्यक छ नेताहरुले भन्दा। कुनै पनि गाउँ वा शहरलाई बहु सांस्कृतिक, बहु सामुदायिक बनाउनमा अग्रणी भूमिका खेल्ने त्यस क्षेत्रका स्थानीय जनता नै हुन। नेपालको सन्दर्भमा सरकार वा नेताहरुबाट के नै आश गर्न सकिन्छ र, यस्तो कार्यका लागि?


Loading comments...