वैदेशिक रोजगारी: बाध्यता वा आडम्बर?


नेपाली युवा युवतीहरू रोजगारीका लागि बिदेश किन जान्छन भनी प्रश्न गर्ने हो भने सबैले दिने उत्तर एउटै हुन्छ र त्यो उत्तर हो स्वदेशमा रोजगारी नपाएर बाध्य भइ रोजारीको लागि विदेश जानु परेको हो। अर्थात स्वदेशमा रोजगारी नभएको स्थितिले गर्दा, रोजगारी नभएको अवस्थामा जीवन निर्वाह गर्न कठिन हुने भएकोले, रोजगारीको लागि बाध्यताले गर्दा विदेशतिर जानु परेको हो। सोझो अर्थमा भन्नु पर्दा गरिबीबाट मुक्ति पाउन बैदेशिक रोजगारीमा जानु परेको हो।

नेपालको सन्दर्भमा बैदेशिक रोजगारीलाई गरिबीसङ्ग जोडिएको छ। रोजगारीका लागि विदेश प्रस्थान गर्ने सबै गरीब नै हुन्छन। यस्तो विश्वास गरिन्छ। त्यस्तो हो भने रोजगारी पाउनका लागि विदेशतिर जाने के सबै गरिबहरू नै हुन्छन? समाचारहरूमा उल्लेख भए अनुसार गैरकानूनी रुपमा रोजगारीका लागि अमेरिका जान खोज्ने व्यक्तिहरूले मानव तस्कारलाई ३० देखि ६० लाख रुपैंयासम्म भुक्तान गर्छन र अमेरिका पस्छन। अमेरिकामा रोजगारी पाउनका लागि मानव तस्कहरूलाई त्यती बढी रकम दिने व्यक्तिहरू कसरी गरिब हुन सक्छन? एक सामान्य गरिब व्यक्तिले त्यति ठूलो रक कहाँबाट र कसरी ल्याउन सक्छ?

लेखकः विश्वराज अधिकारी

सुनिए अनुसार केही व्यक्तिहरूले ऋण लिएर, केहीले खेत वा घडेरी अथवा घर बेचेर मानव तस्वकरहरूलाई त्येती ठूलो रकम (३० देखि ६० लाख रुपैंया) भुक्तान गर्छन अनि गैर कानूनी रुपमा अनेक शारिरीक एवं मानसिक यातना खेपेर अमेरिका पस्छन। अब यहाँ पुन: प्रश्न उठ्छ। के कुनै गरिब व्यक्तिले, नेपालको सन्दर्भमा त्येती ठूलो रकम ऋणको रुपमा प्राप्त गर्न सक्छ? दोस्रो प्रश्न, बैदेशिक रोजगारीमा जानका लागि जग्गा, घडेरी वा घर बेच्न तत्पर हुने व्यक्ति कसरी गरिब हुन सक्छ?

माथि भन्न के खोजिएको हो भने रोजगारीका लगि विदेश जाने वा जान खोज्नेहरू सबै गरिब होइनन। केही मात्र हुन। केही मात्र गरिबीको कारणले गर्दा रोगजारी पाउन विदेश जान बाध्य छन। बाँकि व्यक्तिहरू धनी नभएता पनि गरिब पनि होइनन। केवल खाडीका देशहरूमा जाने, त्यसमध्ये पनि सीमीत व्यक्तिहरू मात्र गरिब हुन। ज्यादै गरिब व्यक्तिले बैदेशिक रोजगारीमा जाने खर्च धान्न नै सक्तैन।

नेपालमा वहुसंख्य व्यक्तिहरू प्रमुख रुपमा, दुई कारणले गर्दा रोजारीका लागि विदेशतिर जान्छन। ती दुई कारणहरू हुन १) छिटै धनी हुने लालसा, र २) प्रतिष्ठा

छिटै धनी हुने लालस
नेपाली समाजको निर्माण, इतिहास, प्रकृति र गतिशीलताको शूक्ष्म अध्ययन एवं विश्लेषण गर्ने हो भने नेपालमा गरिबहरूलाई सामाजिक मर्यादा पाउन कठिन छ भन्ने तथ्य प्रष्ट गरी थाहा हुन आउँछ। गरिबले पाउने सामाजिक मर्यादा र धनीले पाउने सामाजिक मर्यादा बिच आकास जमिनको अन्तर छ भन्ने यथार्थ हामी सबैले भोगेको कुरा हो। धनीको नाम लिंदा वा सम्वोधन गर्दा आदर मिसाइएको हुन्छ भने गरिबको लागि त्यस्तो गरिंदैन। धनीहरूले विवाह, चाडपर्वमा, समारोहहरूमा ठूलो रकम खर्च गर्छन। समाजमा उनीहरूको रवाफ कामय रहेको हुन्छ। गरिबहरूले त्यस्तो गर्न सकेका हुँदैन। यो कारणले गर्दा गरिबहरूले आफूहरूलाई हेला गरिएको अनुभूत गर्छन।

गरिब र धनी बिच सामाजिक मर्यादाको सन्दर्भमा ठूलो भेद रहेकोले यो स्थितिबाट मुक्ति पाउन हरेक गरिबले धनी हुन खोज्नु, धनी हुनका लागि अनेक उपायहरूको खोजि गर्नु, धनी हुन सक्ने सजिलो बाटो वैदेशिक रोजगारीलाई मान्नु स्वभाविक हुन आउँछ।

नेपालमा तुलनात्मक गरिबले पनि समाजलाई प्रभावित गरेको छ। उदाहरणका लागि वर्षको २ लाख रुपैंया कमाउने एक व्यक्तिले आफूलाई वर्षको ४ लाख रुपैंया कमाउने अर्को व्यक्तिसङ्ग तुलना गर्छ र अनि आफूलाई त्यो अर्को व्यक्ति भन्दा गरिब देख्छ। यस्तै स्थिति वर्षको ५ लाख र ८ लाख कमाउने व्यक्तिहरूको बिच पनि हुन सक्छ। यसरी आर्थिक रुपमा सम्पन्न व्यक्तिहरूले पनि आफूलाई तुलनात्मक रुपमा गरिब देखेर रोजगारीको लागि विदेशतिर लाग्ने उदाहरण धेरै छन। त्यस्ताहरूको संख्या पनि ठूलो छ। खास गरि अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा रोजगारीका लागि जानेहरुले आफूलाई तुलनात्मक रुपमा गरिब बोध गरेर त्यता गएका हुन्। यथार्थमा तिनीहरू निरपेक्ष गरिब होइनन। एक किसिमले धनी नै हुन, नेपालको सन्दर्भमा।

प्रतिष्ठा
वैदेशिक रोजगारी नेपालमा अहिले एक भरपर्दो आयको श्रोत मात्र होइन इज्जत र प्रतिष्ठाको विषय पनि हुन पुगेको छ। बैदैशिक रोजगारीको सोझो साइनो प्रतिष्ठासँग गाँसिएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिले लाखौ, करोडौ रुपैया कमाउँछ र ‘इज्जत एवं सान’ को जीवन बाँच्ने सक्छ भन्ने एक किसिमको भ्रम मिसिएको मान्यता हाम्रो सामाज बलियो गरी स्थापित छ। अर्कोतिर एक पृथक मान्यता के छ भने स्वदेशमा बस्नेहरूले केही गर्न नसकेर स्वदेशको बसाइ रोजेका हुन्। त्यसरी स्वदेशमा बस्ने व्यक्तिहरूमा साहसको अभाव छ। यस्ता मान्यताहरूले गर्दा स्वदेश बस्न खोज्ने युवा युवतीहरूले पनि बाध्य भएर विदेशलाई रोजगारीको लागि प्रमुख गन्तव्य बनाउँछन र वाध्य पनि छन्।

संक्षेपमा भन्ने हो भने बैदेशिक रोजगार अहिले हाम्रो समाजमा सफलताको प्रतीक भएको छ। यो कारणले गर्दा पनि ठूलो भन्दा ठूलो जोखिम उठाएर, ज्यान हत्केलामा लिएर, कैयौं दिन भोकै बसेर, कैयौं दिन जंगलमा भौतारिएर नेपाली युवा युवतीहरू गैर कानूनी रुपमा अनेक देशहरूमा प्रवेस गरिरहेका छन।

समाचारहरूमा उल्लेख भए अनुसार नेपालबाट रोजगारीका लागि अमेरिका गरैकानूनी रुपमा जान खोज्ने व्यकतिहरूले ३० देखि ६० लाख रुपयैसम्म मानव तस्करहरूलाई भुक्तान गरेका हुन्छन। दसौं देशहरूको यात्रा गर्न बाध्य हुन्छन। कैयौ दिन जंगलैजंगलको बाटो हिंडेका, भोकै बसेका हुन्छन। त्यति मात्र नभएर ज्यान जानसक्ने जोखिम पनि उठाएका हुन्छ। अन्तमा मेक्सिको (अमेरिकाको टांस्सिएको छिमेकी मुलुक) पुगेर अमेरिका गैरकानूनी रुपमा पस्न खोज्दा जीवन मरणको सोसाँधमा हुन्छन।

बैदेशिक रोजगारी सङ्ग सम्बन्धित अनेक तथ्य र पक्षहरूको गहन अध्ययन एवं विश्लेषण गर्दा हाम्रो गरिबी र बैदेशिक रोजगारी बिच प्रत्यक्ष एवं घनिष्ट सम्बन्ध रहेको पाइँदैन। वर्तमान समय र सन्दर्भमा वैदेशिक रोजगारी छिटै धनी हुने लालस एवं प्रतिष्ठा सङ्ग पनि गांस्सिएको छ।

गरिबी हेरक देशमा हुन्छ। यसै गरी सापेक्ष एवं निरपेक्ष गरिबी धनी देशहरूमा पनि हुन्छ। धनी देशहरूमा निरपेक्ष गरिबी भने कम हुन्छ। तर सापेक्ष गरिबी पनि ठूलो अनुपातमा नै हुन्छ। तर पनि धनी एवं विकसित देशहरूमा गरिब भएकै कारणले समाजमा इजज्त नपाइने स्थिति नभएको हुनाले गरबीको पीडा नेपाल, भारत आदिमाझै बोध हुँदैन।

हाम्रो समाजले वर्तमानमा जुन किसिमले बैदेशिक रोजगारीलाई बोध गरेको छ यथार्थमा बैदेशिक रोजगारी त्यस्तो छैन। अनेक जोखिम र कष्टले भरिएको छ। मानव तस्कारहरूको ठूलो सञ्जालले वैदेशिक रोजगारीलाई झनै अति जोखिमपूर्ण पारिदिएको छ। गैरकानूनी रुपमा रोजगारीका लागि अर्को मुलुकमा जानु त ज्यान नै जोखिममा राख्नु हो। मृत्यु हुन सक्छ भन्ने सम्भावनालाई स्वीकार गर्नु हो।

हामीमा उद्यमी भावनाको पनि अभाव छ। छिटो धनी हुने लालसा झनै हाम्रो लागि ठूलो शत्रू हुन पुगेको छ। हामी आफैसङ्ग प्रश्न गरौ। यदि ६० लाख रुपैया भुक्तान गरेर हामी वैदेशिक रोजगारमा जाने क्षमता राख्छौ भने त्येही रकमको स्वदेशमा उपयोग गरेर किन कुनै ब्यपार, व्यवसाय वा पेशा गर्न सक्तैनौ? ६० लाख रुपैंया सानो रकम होइन। यो रकम लगानी गरेर हामी स्वदेशमा नै ब्यापार गर्न सक्छौ। आफू स्वयंले नै रोजगार पाउँछौ नौ साथै अन्यलाई पनि रोजगारी दिन सक्छौ।

हामी व्यापारिक जोखिम पटक्कै लिन चाँदैनौ। हामी नया नया किसिमका व्यवसायहरू बारे सोंच्न सक्तैनौ। केही वर्ष पहिलेसम्म हाम्रो समाजले व्यापारलाई महत्व दिएको थिएन। व्यक्तिहरू सामान्य किसिमको कुनै व्यापार संचालन गर्नुको सट्टा सरकारी जागिरको खोजि गर्थ्यै। सरकारी जागिरले ठूलो प्रतिष्ठा बोकेको याथियो। सडकमा चनाचटपटे बिक्री गर्ने कुनै ब्यक्ति भन्दा सरकारी कार्यालयमा काम गर्ने मुखियाको सामाजिक हैसियत (इज्जत) उच्च हुन्थ्यो। कति ठूलो आडम्बर र भ्रममा बाँचेको हाम्रो समाज! रोजगारीको हिसाबले चनाचटपटे बिक्री गर्ने व्यक्ति सिपयुक्त व्यक्ति हो किनभने उसले आफ्नो लागि आफैले रोजगार सृजना गर्यो। तर सरकारी जागिरमा जाने व्यक्तिले आफूमा सिपको विकास गर्न सक्ने त्यसकारण सरकारी जागिर रोज्यो? चनाचटपटे बिक्रेतामा उद्यमी भावना देखियो भने मुखिया हुनेमा पटक्कै देखिएन। तर हाम्रो समाजले यो यथार्थ किन नबुझेको होला?


Loading comments...