पशुपतीनाथमा अनुपम खेरले गरे पूजापाठ


बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी नेपाल आएका हुन् । वैदिक सनातन हिन्दु सभ्यता तथा संस्कारमा हुर्किएका खेरले काठमाण्डौस्थित पशुपतिनाथको दर्शन गरेका छन् ।

पशुपतीनाथको दर्शनपश्चात भ्लग सहितको ट्वीट कलाकार अनुपम खेरले पोष्ट गरेका थिए । जारी भिडियोमा उनी निधारमा चन्दनको चन्द्र टिकाका साथ खुशी मुद्रामा देखिएका छन्, ट्वीटमा उनले लेखेका छन्ः
सबैजनाको तर्फबाट नेपालको काठमाण्डौस्थित पशुपतिनाथजीको प्राचीन मन्दिरमा प्रार्थना गरें । सबैजनाको सु-स्वास्थ्य तथा शान्तिका लागि मेरो प्रार्थना थियो । भगवान शिवको यो मन्दिर ५ औं शताब्दीमा बनेको थियो । यहाँ पूजा गर्नका लागि देश-विदेशबाट श्रद्धालु आउने गर्दछन् ! जय भोलेनाथ !! 🙏🌻🌺🙏 #शिव

भिडियोमा उनले आफू अत्याधिक भाग्यमानी महशुस गरिरहेको अभिव्यक्त गर्दै अगाडी थप्छन्, “काठ्माण्डौस्थित पशुपति नाथको आज मैले दर्शनपूजा गरेको छु, सबैजनाको तर्फबाट नेपालको काठमाण्डौस्थित पशुपतिनाथजीको प्राचीन मन्दिरमा प्रार्थना गरें । सबैजनाको सु-स्वास्थ्य तथा शान्तिका लागि मेरो प्रार्थना थियो । धेरै खुशी लाग्छ जतिबेला हिन्दु धर्मस्थानमा आएर त्यहाँ पुजा गर्ने मौका प्राप्त हुन्छ, मनलाई आनन्द तथा शान्ति प्राप्त हुन्छ । र हजारौं वर्ष पहिले जुन यस्तो मन्दिरहरुको स्थापना भएका छन् यि कुराहरु हेरेर आत्मियता महशुस हुन्छ । म धेरै खुशी छु, र मैंले तपाईंहरुको तर्फबाट पूजा गरें तथा राम्रो महशुस गरें ।”

सुरज बड्जात्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि उनी नेपाल आएका हुन् । चलचित्रमा कलाकार अनुपम खेरसहित बलिउडका महानायक अमिताभ बच्चन, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ ।

‘राजश्री’को ब्यानरमा निर्माण हुने फिल्मका लागि ठूलो प्राविधिक सहितको कलाकार टोलीले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका ठूला स्टार अमिताभ बच्चन सहितको टोली नेपाल आउनुलाई सकारात्मक मानिएको छ ।


Loading comments...