नवरात्रि: नौ (९) दिन यसरी राख्नुहोस् माता दुर्गा भवानीलाई प्रसन्न


बिजया दशमीको नौ महत्वपूर्ण दिन अर्थात् नवरात्रि (Navratri) । तर यस वर्ष दिनका हिसाबले आठ दिन मात्र रहने छ । पञ्चांग निर्णायक समिति तथा काशी पञ्चांगका अनुसार यस वर्षको नवरात्रिको महापञ्चमी तथा महाषष्ठी एकैदिन रहेको छ । नवरात्रि अनुष्ठानको विसर्जन असोज २८ गते बिहिबार हुनेछ भने बडादशैंको  (विजयादशमी) शुक्रबार असोज २९ गते मनाइनेछ ।

पण्डित पुरुषोत्तम अधिकारी

नवदुर्गा भगवती घोडामा सवार भई आउनुहुनेछ र हाथीमा सवार भई जानुहुनेछ
नवरात्रीमा नवमीको समय माता भगवतीको आगमन तथा गमनका लागि चार फरक सवारिको प्रयोग हुनेगर्दछ । यसमा हात्ती, घोडा, डोली तथा ढुङ्गाको सवारी रहेका छन् । पण्डितहरुका अनुसार नवरात्रिको अनुष्ठान बिहिबार प्रारम्भ हुनेछ । तर तिथी अनुसार बुधबार राती ११ः४४ बजेबाट नै माता भगवतीको आगमन हुनेछ । र वहाँको गमन महानवमीका दिन अर्थात बिहिबार हुनेछ । यस वर्ष माता दुर्गा डोलीमा सवार भई आउनुहुनेछ भने हात्तीमा सवार भई प्रस्थान गर्नुहुेनेछ ।

पूजा विधि तथा घटस्थापना
नवरात्रिको प्रथम दिन अर्थात् घटस्थापनाका दिन नित्य स्नान पश्चात घरमा धर्तीमाता, गुरुदेव तथा इष्टदेवलाई सम्झिएर नमन गरिसकेपश्चात् मङ्गलमुर्ती सिद्धिविनायक भगवान गणेशलाई पूजा-आहवान गर्नुहोस् । यसपछि विधिवत रुपमा कलशको स्थापना भइसकेपछि कलशमा आँपको पात तथा शुद्ध जल राखेर कलशको मुखमा पानीसहितको नरिवललाई रातो सुतीको कपडामा बेरेर राख्नुहोस् । त्यसरी नरिवल बाँध्ने रातो सुतीको कपडा नरीवलमा बाँध्दाखेरी त्यसमा एउटा बदाम, दुई सुपारी तथा एउटा सिक्का अवस्य राख्नुहोस् । यसपछि माता सरस्वती, माता लक्ष्मी तथा माता दुर्गाको पूजा-आह्वान गरी कातेको बत्ती तथा धूप बालेर देवी माताको सबै रुपहरुलाई स्मरण गरी पूजा गर्नुहोस् । नवरात्रि सक्किएपछि कलशको जलले घरको चारैतिर छर्किनुहोस् र कन्या पूजा पछि प्रसाद वितरण वितरण गर्नुहोस् ।

नवरात्रिका दिन माता दुर्गा भवानीको नौ रूपहरुको पूजा-अर्चना गर्ने गरिन्छ । आउनुहोस् अबको क्रममा नौ दिन पूजिने नौ देवी भगवतीहरुको स्वरुप कस्तो छ जानौंः

पहलो दिन: शैलपुत्री
नवरात्रिको प्रथम दिन भनेको माता शैलपुत्री देवीको पूजा, आराधना गर्ने गरिन्छ । पुराणहरुमा एउटा कथा अत्यन्त प्रसिद्ध छ, त्यसमा के उल्लेख गरिएको छ भने, “हिमालयको तपबाट प्रसन्न भएर आद्या शक्तिले उनको घरमा छोरी भएर जन्मिनु भयो । उनै आद्या शक्तिको पूजासँगै नवरात्रिको शुभारम्भ हुन्छ ।”

दोश्रो दिन: ब्रह्मचारिणी
आदिदेव भगवान शिवको श्रीमानको रुपमा प्राप्त गर्नका लागि हिमालयकी पुत्री पार्वतीको कठिन तपस्याका कारण तीनै लोक उनकेसामू नतमस्तक भएका थिए । देवीको यही रुप तपस्याको तेजका कारण ज्योतिर्मय छ । यिनको दाहिने हातमा मन्त्र जपने माला (कण्ठि) छ भने देब्रे हातमा कमण्डल लिइएको हुन्छ ।

तेस्रो दिन: चंद्रघण्टा
यो देवी भगवतीको उग्र रूप हो । इनले बजाएको घण्टबाट तरङ्गीत ध्वनि सुनेर विनाशकारी शक्तिहरु तत्काल हराएर जान्छन् । व्याघ्र अर्थात बाघमा विराजमान रहनुभएको माता चन्द्रघण्टा विभिन्न अस्त्रहरुबाट सुसज्जित भई भक्तहरुको रक्षाका लागि सदा तत्पर रहनुहुन्छ ।

चौथो दिन: कूष्माण्डा
नवरात्रिको चौथो दिन भगवतीको यो अति विशिष्ट स्वरूपको पूजा आराधना गर्ने गरिन्छ । यस्तो मान्यता छ कि वहाँको हाँसोबाटै ब्रह्माण्ड उत्पन्न भएको थियो । अष्टभुजी अर्था आठवटा हात हुनुभएको माता कूष्माण्डाको हातहरुमा कमण्डल, धनुष-वाण, कमलको फूल, अमृत-कलश, चक्र तथा गदा रहेको हुन्छ । वहाँको आठौं हातमा मनोवांछित फल दिनसक्ने जपमाला रहेको हुन्छ ।

पाँचौं दिन: स्कन्दमाता
नवरात्रिको पञ्चमी तिथिका दिन माता भगवतीको पाँचौं स्वरूप स्कन्दमाताको पूजा गर्ने गरिन्छ । माता देवीको एकमात्र सन्तान छन् । उनी कुमार कार्तिकेय (स्कन्द) हुन् । जसलाई देवासुर-युद्धमा देवताहरुको तर्फबाट सेनापति बनाइएको थियो । यही रूपमा देवी आफ्नो पुत्र स्कन्दलाई काखमा लिएर बसिरहनुभएको हुन्छ । स्कन्दमाता आफ्नो भक्तहरुलाई शौर्य प्रदान गर्ने गर्नुहुन्छ ।

छैठौं दिन: कात्यायनी
कात्यायन ऋषिको घोर तपस्याबाट प्रसन्न भएर माता भगवती उनको घरमा छोरी भएर जन्मिनुभएको थियो । तत्पश्चात् वहाँ कात्यायनी भई रहनुभयो । कात्यायनीको अवतरण महिषासुर वधका लागि भएको थियो । यि देवी अमोघ फलदायिनी हुनुहुन्छ । भगवान कृष्णलाई श्रीमानको रूपमा प्राप्त गर्नका लागि ब्रजका गोपिनीहरुले देवी कात्यायनीको आराधना गरेका थिए । यदि कुनै विवाहयोग्य छोरीको विवाहमा कुनै वाधा व्यवधान उत्पन्न भइरहेको छ भने उनिहरुले माता कात्यायनीको पूजा उपासना गर्नुपर्छ ।

सातौं दिन: कालरात्रि
नवरात्रिको सातौं दिन अर्थात सप्तमीको कालरात्रिको आराधना गर्ने गरिन्छ । यि माता भगवतीको विकराल रूप रहेको छ । गर्दभ अर्थात् गधामा आरुढ (विराजमान) रहनुहुने यि माता देवीले आफ्नो हातमा फलामको तराजू तथा खड्ग लिनुभएको हुन्छ । यिनको भयानक स्वरूपसँगको सामना मात्रले विध्वंसक शक्तिहरु हराएर जान्छन् ।

आठौं दिन: महागौरी
नवरात्रिको आठौं दिन अर्थात् अष्टमीको दिन देवी महागौरीको पूजा आराधना गर्ने गरिन्छ । यि भगवतीको सौम्य रूप रहेको छ । यिनी चतुर्भुजी (चारवटा हात भएको) माता महागौरी वृषभ अर्थात भैंसीमाथी विराजमान रहने गर्नुहुन्छ । यिनको दुवै हातमा त्रिशूल तथा डमरू रहेको हुन्छ भने बाँकी अर्को दुई हातले वर तथा अभय दान प्रदान गरिरहनुभएको हुन्छ । भगवान भोले शंकरलाई श्रीमानको रुपमा पाउनका लागि भवानीले अति कठोर तपस्या गर्नुभएको थियो । त्यसबखत वहाँ कालो रङको हुनुभएको थियो । त्यो हेरेर भगवान शिवले गंगाजलद्वारा वहाँको अभिषेक गरेपछि माताले गौरवर्ण प्राप्त गर्नुभएको थियो यसकारण वहाँलाई गौरी भन्ने गरिन्छ ।

नौवे दिन : सिद्धिदात्री
नवरात्रिको अन्तिम दिन अर्थात् नवमीमा माता भगवतीको सिद्धिदात्री स्वरूपको पूजा आराधना गर्ने गरिन्छ । यिनको प्रताप मात्रले समस्त सिद्धि प्राप्त हुने गर्दछ । अन्य देवी-देवताहरुले समेत मनले चाहेको सिद्धिहरुको प्राप्तिका लागि देवी सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्दछन् । माता सिद्धिदात्री चतुर्भुज हुनुहुन्छ । आफ्नो चारवटै हातहरुमा शंख, चक्र, गदा तथा पद्म (कमलको फूल) धारण गर्नुभएको हुन्छ । केही धर्मग्रंथहरुका अनुसार माता सिद्धिदात्रीको सवारी सिंह उल्लेख गरिएको छ भने, तर माता भने लोक प्रचलित रूपमा कमलमा बस्न रुचाउने (पद्मासना) मान्यता रहि आएको छ । सिद्धिदात्रीको पूजाबाट नै आधिकारीक रुपमा नवरात्रिको नवदुर्गा पूजाको अनुष्ठान पूर्ण हुने गर्दछ ।

नवग्रहहरुको पूजा
नवरात्रिको समयमा माता नवदुर्गाको पूजा आराधनाको माध्यमबाट नवग्रह शान्ति पनि सम्पन्न हुन्छ । देवीको नौ रूपहरु शैलपुत्री, ब्रह्मचारिणी, चंद्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्रीको पूजामार्फत् क्रमश: नौ ग्रहहरु सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु तथा केतुको शान्ति प्राप्त हुन्छ ।

आउनुहोस्, यो नवरात्रिको अवसरमा हामी जगतमाता देवी दुर्गासँग लोक कल्याण, विश्व शान्ति तथा हिन्दुत्वको मूलमन्त्रसँग सबलाई जोड्न सकियोस्ः

सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया:.
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दु:ख भाग्यवेत्.

साथै, हाम्रो कामना यो पनि रहोस्, नवरात्रिले सबै साधकहरुका लागि उज्ज्वल सम्भावनाहरु लिएर आउन् । माता दुर्गा भवानीले बाटो बिराएर गलत बाटो हिंड्न तय गरेका व्यक्तिहरुलाई सद्बुद्धि प्रदान गरुन्, जसले कुमार्गलाई त्यागेर सत्मार्गको यात्रामा अगाडी बढाउन सकोस् । शुभकामना !!


Loading comments...