सिटिजन बैंक लुटपाटमा संलग्न ३ जना पक्राउ, १ थान कटुवा पेस्तोल बरामद


मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया गोराहा-४ बस्ने ३० वर्षीय बिजय सहनी र भारत सेखपुरा-५ बस्ने २८ वर्षीय सुनिल यादव रहेका छन् । उक्त बैंकमा मोटरसाइकलमा आएका हतियारधारी समूहले बैंकको गार्डलाई गोली प्रहार गरी घाइते बनाई नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट लुटपाटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये को.२५ प ३८९९ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई कटुवा पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न घाइते भएका बिजय सहनीको प्रहरीको निगरानीमा रंगेली अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारबाट घाइते भएका बैंकका गार्ड रंगेली नगरपालिका-२ बस्ने ४० वर्षीय सितल कुमालको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


Loading comments...