कन्या पूजा अघि यि कुराहरु जानी राख्नुहोस्


माता दुर्गा भवानी तथा समस्त नारी शक्तिप्रति समर्पित यो चाड नवरात्रि अब समापनको नजिक छ । यस वर्ष अशोज २७ गते बुधवार दुर्गाष्टमी/महाअष्टमी (कालरात्री) मनाइदै छ भने २८ गते बिहिबार महानवमी पूजासँगै सम्पन्न हुनेछ यस वर्षको नवरात्री । महाअष्टमीका दिन माता गौरीको विधि-विधानका साथ पूजा-अर्चना गर्ने गरिन्छ भने महानवमीका दिन सिद्धिकी देवी माता सिद्धिदात्रीको पूजा-अर्चना गर्ने गरिन्छ । यस विशेष दुई दिन कन्या पूजाका लागि पनि प्रचलित छ ।

पण्डित पुरुषोत्तम अधिकारी

‘कन्या पूजा’ गरी नवरात्रिको समापन गर्ने गरिन्छ । अथवा भनौ नवमीका दिन कन्या पूजा उत्तम मानिन्छ । तर कतै कतै अष्टमीको दिन पनि कन्या पूजा गर्ने गरिन्छ । यदि तपाईं कन्या पूजा गर्ने सोंचमा हुनुहुन्छ भने केही विशेष कुराहरुलाई ध्यान दिनुहोस् । जस्तैः कन्या पूजा कसरी गर्ने, तथा कुन कुन कुराहरुलाई विशेष ध्यान दिनुपर्दछ?

क) सबैभन्दा पहिले विहान सबेरै उठेर नित्य स्नान गरी कन्या पूजाका लागि खाना बनाउनुहोस् ।
ख) कन्या पूजामा गहुँको पूरी, कालो चना तथा सुजीको हलुवाको भोग लगाउने गरिन्छ, यसरी तयार पारिने विशेष परिकारमा प्याज तथा लसुन गल्तीले पनि प्रयोग गर्नु हुन्न ।
ग) प्रसादका लागि जुन भोग तपाईंले तयार पार्नुभएको छ त्यस भोगलाई कन्याहरुलाई खुवाउनु अघि माता दुर्गामा अवश्य समर्पण गर्नुहोस् ।
घ) कन्या पूजामा ९ जना कन्याहरुलाई देवीको स्वरुपमा पूजा गर्ने गरिन्छ त्यस बाहेक लांगुरा स्वरुप एकजना बालकलाई पनि अवस्य पूजामा राख्नुहोस् ।
ङ) नौ जना कन्याहरुलाई टिका लगाई, पाउ ढोगेर आशिष ग्रहण गर्नुहोस् तथा भोजन गराई इच्छास्वरुप दक्षिणा दिनुहोस् ।

कन्या पूजाको लागि अष्टमीको लागि शुभ साइत यस्तो छः
क) अमृत कालः बिहान ३ बजेर ३८ मिनेट देखि ५ बजेर ११ मिनेट सम्म
ख) ब्रह्म साइतः बिहान ५ बजे ३ मिनेट देखि ५ बजेर ५१ मिनेट सम्म

कन्या पूजाको लागि नवमीको लागि शुभ साइत यस्तो छः
क) बिहिबार बिहान ७ बजेर १७ मिनेटबाट नवमी तिथि प्रारम्भ हुन्छ । तिथिभित्र सम्पूर्ण समय कन्या पूजाका लागि उपयुक्त हुने हुँदा उपयुक्त समय मिलाएर तिथिभित्र कन्या पूजा तथा यज्ञ कार्य सम्पन्न गर्न सकिन्छ ।

उमेरक्रम अनुसार कन्याहरुको शास्त्रीय महत्व के छ?
क) १ वर्ष उमेरको कन्याको पूजा गर्नाले ऐश्वर्यको प्राप्ति हुन्छ र सम्पन्नता तपाईंको साथ रहन्छ ।
ख) २ वर्ष उमेरको कन्याको पूजा गर्नाले दु:ख तथा दरिद्रताबाट मुक्ति प्राप्त हुनुका साथै जीवन सुखमय बन्छ ।
ग) ३ वर्ष उमेरको कन्यालाई त्रिमूर्ती मान्ने गरिन्छ । यिनको पूजा गर्नाले धनधान्यमा वृद्धि हुन्छ ।
घ) ४ वर्ष उमेरको कन्यालाई माता कात्यायनीको दर्जामा राखिएको छ ।
ङ) ५ वर्ष उमेरको कन्यालाई माता रोहिणी मान्ने गरिन्छ । माता रोहिणीको पूजा गर्नाले रोगबाट मुक्ति मिल्दछ ।
च) ६ वर्ष उमेरको कन्यालाई माता कलिकाको दर्जामा राखिएको छ । यिनको पूजा गर्नाले विद्या तथा राजयोगको प्राप्ति हुन्छ ।
छ) ७ वर्ष उमेरको कन्यालाई माता चण्डिकाको स्वरुप मानिन्छ । यिनको पूजाबाट ऐश्वर्यको प्राप्ति हुन्छ ।
ज) ८ वर्ष उमेरको कन्यालाई माता शाम्भवी मानिएको छ । यिनको पूजाबाट वाद-विवादबाट मुक्ति प्राप्त हुन्छ ।
झ) ९ वर्ष उमेरको कन्यालाई माता दुर्गाको दर्जामा राखिएको छ । यिनको पुजा गर्नाले शत्रुहरुको सर्वनाश हुन्छ ।
ञ) १० वर्ष उमेरको कन्यालाई माता सुभद्रा मानिएको छ । यो रुपको पूजा गर्नाले मनोकामना सिद्ध हुन्छ ।

यो पनि पढ्नुहोस्ः
१) नवरात्रि: नौ (९) दिन यसरी राख्नुहोस् माता दुर्गा भवानीलाई प्रसन्न
२) नवरात्रि प्रारम्भः घटस्थापना विधि तथा सामग्रीहरुको बारेमा स-विस्तार जान्नुहोस्
३) वैदिक सनातन हिन्दुहरुको महान चाड “बडा दशैं”को शुभ साइत देश र देशबाहिर कति बजे?


Loading comments...