सडक व्यापारीका सामान खरिद गर्न किन आवश्यक छ?


राष्ट्रिय आयलाई अति निर्धनहरूसम्म पुर्र्याउने अनेक प्रभावकारी तरिकहरू मध्ये एक साना व्यापार वा सडक व्यापार हो। सडक वा साना व्यापारको माध्यमद्वारा प्रत्येक देशको सरकारले निर्धनहरू सम्म राष्ट्रिय आय वा आम्दानी पुर्याउने प्रयास गरेको हुन्छ वा प्रयास गर्नुपर्छ। साना ब्यापार सञ्चालन गर्नेहरुसँग पर्याप्त पूँजी र ब्यापार सञ्चालन सम्बन्धी आवश्य ज्ञान नभएकोले उनीहरूलाई सरकारले सगहयोग गर्नुपर्छ। उनीहरूलाई संरक्षण दिनुपर्छ भन्ने अर्थ शास्त्रीहरूको मान्यता रहेको पाइन्छ।

विभिन्न अध्ययनहरूले पनि यस कुराको पुष्टि गर्दछन। केही मुलुकहरूमा त्यहाँका सरकारहरूले ‘साना व्यापार प्रशासन’को स्थापना समेत गरेको पाइन्छ। यस किसिमका साना व्यापार प्रशासनहरुले साना व्यापारीहरूलाई सहयोग गर्दछन। तालिम, सूचना एवं जानकारी, उपलब्ध गराउनु साथै वितीय परामर्श समेत दिन्छन्।

साना व्पयारीहरूले गर्ने व्यापार ठूलो मुनाफा आर्जन गर्न, करोडपति हुन नभएर केवल जीवन निर्वाह गर्नका लागि हुन्छ। अन्त कतै आकर्षक रोजगारी नपाएर यस किसिमको व्यापारमा लागेका हुन्छन। यिनीहरूसँग ठूलो पूँजी हुँदैन नै, साथै यिनीहरूले गर्ने मुनाफाको आकार पनि अति नै सानो हुन्छ। यो कारणले गर्दा नै आफ्नो व्यापार सँचालन गर्न यिनीहरूले सडक, पेटी, खुला स्थान वा शहरका व्यस्त स्थानहरूलाई रोजेका हुन्छ। र यस्तो गर्नु यिनीहरूको बाध्यता पनि हो। किनभने शहरका महँगा घरहरूको भाडा तिर्ने आर्थिक क्षमता यिनीहरूसँग हुँदैन।

साना ब्यापारी वा सडक व्यापारीहरूले महत्व पाएका हुँदैनन्। यहाँसम्म कि प्रशासनले यिनीहरू प्रति राख्ने दृष्टिकोण पनि फरक हुन्छ। तर अर्कोतिर सानो व्यापारले लाखौलाई रोजगारी दिएको हुन्छ। रोजगारी उपलब्ध गराउने किसिमले पनि साना व्यापारीको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका हुन्छ।

साना व्यापारीहरूलाई संरक्षण दिनु पर्ने अनेक कारणहरू छन्। ती अनेक कारणहरू मध्ये एक हो साना व्यापारीहरूबाट केवल कम आय भएका व्यक्तिहरूले नै सामान खरिद गर्नु। धनी वा भनौ बलियो आय भएका व्यक्किहरूले फूटपाथ वा सडक व्यापारीहरूसँग सामान खरिद गरेको उदाहरण कमै पाइन्छ। कतिपय अवस्थामा त धनीहरूले फूटपाथका व्यापारीहरूबाट खामान खरिद गर्नु आफ्नो स्तर तल झार्नु सम्म पनि सोंचेको पाइन्छ। समान स्तरका वस्तुहरू समान मूल्यमा सडक व्यापारीको पसलमा पाइएता पनि केही व्यकतिहरूले साना व्यापारीसँग सामान खरिद गर्दा आफ्नो स्तरमा प्रभाव पर्ने ठानेर नियतवश ठूला ठूला र नाम चलेको पसलमा सामान खरिद गरेको पाइन्छ। यस्तो किसिमको मनोविज्ञानले गर्दा पनि हाम्रो क्षेत्रमा साना व्यापारीहरूको अवस्थामा सुधार आउन कठिन भएको छ।

ठूला वा धनी व्यापारीहरुले व्यापारबाट प्राप्त गरेको करौडौ रुपैयाँ केही सीमित व्यक्तिहरूको हातमा रहने तर साना व्यापारीले गरेको मुनाफा लाखौंको हातमा पुग्ने भएकोले पनि साना वा सडक व्यापारलाई सहयोग र संरक्षण आवश्यक छ।

लाखौलाई रोजगारी उपलब्ध गराउने सानो व्यापारको चुनौती भने अनेक छन्। पहिले चुनौती त ठूलो वा धनी व्यापारीहरूको सानो ब्यापार क्षेत्रमा घुसपैठ रहेको छ। धनी व्यापारीहरूले पनि सडक पेटीमा आएर व्यापार गरेको पाइन्छ। यस्तो न हुन दिन स्थानीय प्रशासन सतर्क रहनु पर्छ। सानो व्यापार जीवन निर्वाहको लागि भएकोले सडक वा फुटपाथ व्यापार गरिब व्यापारीहरूको लागि सुरक्षित र संरक्षित हुनुपर्छ। कुनै भौतिक संरचनाको निर्माण नगरी उपलब्ध खुला स्थानमा साना व्यापारीहरूले व्यापार गर्न पाउने व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्दछ।

साना व्यापारीहरूले भोग्नु पर्ने अर्को तर डरलाग्दो चुनौती भने कुनै एक निर्धारित स्थानमा व्यापार गर्न नपाउनु र सकड, पेटीमा व्यापार गर्दा लखेटिनु हो। स्थानीय प्रशासनले साना व्यापारीहरूलाई व्यापार सञ्चालन गर्न सहयोग गर्नु पर्छ र उनीहरूलाई कुनै तोकिएको स्थान प्रदान गर्नु पर्छ। शहरका व्यस्त बजार वा चौकहरूमा केही सर्त सहित साना व्यापारीहरूलाई व्यापार सञ्चालन गर्न दिनु पर्छ। संसारका अनेक ठूला ठूला सहरहरूमा व्यवस्थित किसिमले साना व्यापारीहरूलाई व्यापार संचालन गर्न दिइएको देख्न सकिन्छ।

त्यस मध्ये एउटा उदाहरण- क्यानाडाको ठूलो एवं व्यस्त शहर टोरन्टोको मुख्य स्थान (डाउन टाउन) मा साना व्यापारीहरूले व्यवस्थिति किसिमले व्यापार संचालन गरेको देख्न सकिन्छ। टोरोन्टोको डाउन टाउनको फूटपाथमा बिक्री हुने ‘हटडग’ विश्व प्रख्यात नै छ। टोरोन्टो पुग्नेहरूले त्यहाँको डाउन टाउनको फूटपाथमा बिक्री हुने हटडग खाने र नजिकमा रहेको नाएग्रा फल्स हेर्ने इच्छा राखेको पाइन्छ।

शहरको व्यस्त स्थान एवं सडक, पेटी आदिमा साना व्यापार संचालन गर्ने व्यापारीहरूले शहरलाई आकर्षक पार्ने काम मात्र गरेका हुँदैनन, साथै त्यस शहरको समाजिक एवं सांस्कृतिक महत्व झल्काउने कार्य पनि गरिरहेका हुन्छन जुन कुरा शूक्ष्म किसिमले अध्ययन गर्दा देख्न सकिन्छ। साना व्यापारीहरूको व्यापारलाई व्यवस्थित किसिमले संचालन हुन दिने हो भने यिनीहरूबाट कुनै शहरको पर्यटन क्षेत्रको विज्ञापन समेत गराउन सकिन्छ। तर अफसोच! हामी कहाँ साना व्यापारीहरूबाट लिने अनेक फाइदा लिन सकिएको छैन। उल्टो साना व्यापारीहरूलाई सडक, पेटी वा व्यस्त स्थानहरूमा व्यापार गर्न आउँदा लखेट्ने गरिएको पाइन्छ। साना व्यापारीहरूको सामानहरू तोडफोड गरि दिनु, उनीहरूलाई लखेट्नुलाई स्थानीय प्रशासनले शहरलाई सफा गरेको भन्दै गर्व त गर्छ तर साना व्यापारीहरू प्रति घात गरेको अनुभूत गर्दैन।

दक्षिण एशियामा र मुख्य गरी नेपाल तथा भारतमा साना व्यापारीहरूको अस्तित्व संकटमा पर्दै गएको महसुस गरिएको छ। ठूला-ठूला मलहरूले, ठूला-ठूला बिक्री भण्डारहरूले साना व्यापारीहरूको व्यापारलाई धरापमा पार्दै लगेका छन्। आजभोलि उपभोक्ताहरू फूटपाथमा होइन, ठूला ठूला मलहरूमा सामान खरिद गर्न रुचाउँछन्।

साना व्यापारीहरूले व्यापर संचालन गर्न पाएका निर्धारित क्षेत्र (हाट, बजार) पनि बिस्तारै धनी व्यापारीहरूको हातमा पर्दै गएको छ। उदाहरणका लागि, केही दसक पहिलेसम्म खुला स्थानमा लाग्ने बजारमा अहिले अनके घरहरू बनेर ती बजारहरू वृहत खुद्रा भण्डारमा रुपान्तरित भएका छन। अनेक शहरमा यही स्थिति छ। खुला बजारहरू गरिबको हातबाट धनीहरूको हातमा पुगेको छ। उदाहरणका लागि वीरगंजको मीना बजार, बिर्ता बजार आदि खुला बजारको रुपमा स्थापित थिए। अनेक गाउँहरूबाट ती बजारहरूमा गरिब कृषकहरू आफ्ना उत्पादन लिएर बिक्री गर्न आउँथे। अब ती बजारहरूमा गरिब होइन धनी व्यापारीहरूले व्यापार संचलन गरेको पाइन्छ।

अति गरिबहरू सम्म आम्दानी पुर्याउन आउनु होस, फूटपाथे वा साना व्यापारीहरूबाट पनि समान खरिद गरौ। सडक एवं फूटपाथका व्यापारीहरूबाट केवल गरिब उपभोक्ताहरूले मात्र अनेक सामाग्री खरिद गर्ने परम्परा समाप्त गरौ। फूटपाथबाट धनी उपभोक्ताहरूले पनि खरिद गरौ।

स्थानीय प्रशासनले पनि साना व्यापारीहरूलाई निर्धारित स्थान उपलब्ध गराएर व्यापार गर्न सहयोग पुर्याउनु पर्छ। राष्ट्रिय अर्थतन्त्रमा साना व्यापारीको भूमिका पनि अहम् रहने तथ्यलाई स्वीकार गर्नु पर्छ। धनीहरूको व्यापर विस्तार हुन पनि गरिबहरूको आर्थिक स्थितिमा सुधार हुन आवश्यक छ किनभने धनी व्यापारीहरूको ग्राहक भनेको नै ती गरिब व्यापारीहरू हुन्। अर्थ व्यवस्थाको यो रहस्य धनी व्यापारीहरूले पनि बुझ्न आवश्यक छ।

दशैं, दूर्गापूजा, लक्ष्मीपूजा, छठ जस्ता अनेक चाड पर्वहरू आउँदै छन्। यी पर्वहरूमा ठूलो परिमाणमा अनेक सामाग्रीहरूको खरिद बिक्री हुन्छ। साना वा फूटपाथका व्यापारीहरूबाट पनि अनेक समानहरू खरिद गरौ। हामीले त्यस्तो गरिदिनाले उनीहरूले पनि यी पर्वहरू खुसियालीपूर्वक मनाउन सक्छन्।

अति आधुनिक यो वैश्ययुगले ज्यादै ठूला-ठूला ब्यापार भण्डारहरूको स्थापनामा जोड दिएको छ। ठूला ब्यापारहरूको स्थापना एवं संचालन अति सजिलो पारिदिएको छ। केही सीमित धनी ब्यापारीहरूको हातमा ज्यादै ठूलो रकम (आम्दानीको रुपमा) हुने स्थिति सृजना गरिदिएको छ। तर फूटपाथे व्यापारीहरूको अस्तित्व संकटमा पार्दै लगेको छ। यस तथ्यतर्फ गम्भीरतापूर्वक विचार गरौं।


Loading comments...