मुख्य प्रशिक्षक अल्मुताइरी फर्किएनन् – नेपाल मेरो मुटुभित्र छ, यहाँबाट नेपाललाई कसैले निकाल्न सक्दैनः अल्मुताइरी


काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले ट्रफिका लागि खेलेको खेलमा कुनै गोल गर्न नसकेपनि नेपाली खेलप्रेमीहरुको मन भने जित्न सफल भएको छ । यस खेललाई भारतले ० का विरुद्ध ३ गोल गर्दै १३औं संस्करणको साफ च्याम्पियनसिपको ट्रफि उचालेको थियो । यस अघि साफ च्याम्पियनसिप इतिहासमा नेपाल सेमिफाइनलसम्म पुगेको मात्र इतिहास रहेको छ ।

यो सफलतासँगै नेपालले एक जोशिला र खेल रणनीतिका ‘माहिर खेलाडी’ मुख्य प्रशिक्षक भने गुमाएको छ । अल्मुताइरीले गरेको पूर्ववत घोषणा झै उनी फाइनल खेल सक्किएसँगै उनी नेपाल फर्किएनन् । माल्दिभ्समा उनले यो फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल रहने र यहाँबाटै नेपाल फर्किएर नजाने उद्घोष गरेका थिए ।

१३ औं साफ च्याम्पियनसिप नेपालका लागि मुख्य प्रशिक्षक अल्मुताइरीको सुझबुझपूर्ण खेल रणनीती र खेलाडीले गरेको प्रदर्शनको समिक्षा गर्ने हो भने यो एउटा सफल यात्रा रह्यो । साफले गरेको अप्रत्याशित प्रतिबन्धका कारण अल्मुताइरीले फाइनल खेलमा टोलीसँगै बसेर खेलको तुफ्त उठाउन त पाएनन् नै साथै खेलाडीलाई बाउण्ड्रि बाहिर बसेर जोशयाइरहने उनको बेग्लै शैलीलाई खेलाडी तथा समग्र खेलप्रेमी नेपालीले महशुस गर्न पाएनन ।

च्याम्पियनसिपको पहिलो खेलमैं पहिलो पटक माल्दिभ्सलाई गोलरहित राख्न सफल नेपालले १ गोल सहितको जित दर्ता गरेको थियो, त्यो अद्भूत थियो । पहिलो खेलमा उत्कृष्ट खेल कौशल पस्किएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २ गोलका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । च्याम्पियनसिपको तेस्रो खेल भने सोंचेजस्तो भएन नेपाल भारतसँग शुन्यका विरुद्ध १ गोलले पराजित रह्यो । तर तुलनात्मक रुपमा उक्त खेलले नेपालको आकर्षक फुटबल खेल कौशलमा भने कुनै कमी ल्याएन, खेल शानदार थियो । त्यसपछि अंकको आधारमा सेमिफाइनलको यात्रा तय गरेको नेपालले बंगलादेशसँग १ का विरुद्ध १ गोलको बराबरी खेल्दै फाइनलको यात्रा पक्का गरेको थियो ।

१३ औं संस्करणको साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ र फाइनल खेलपछि भिडियो सन्देशमार्फत मुख्य प्रशिक्षक अल्मुताइरीले देखाएको इच्छा अनुरुप त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई ब्यापक मात्रामा उपस्थित फुटबलप्रेमीहरु तथा एन्फा पदाधिकारीहरुको उपस्थितीमा ब्याण्डबाजा बजाएर भव्य स्वागत गरिएको छ । कर्तल ध्वनीका साथ स्वागतमा ओर्लिएका प्रशंसकहरुको उपस्थितिले खेलाडीहरुको मुहारमा उर्जा र खुशी दुवै देखिन्थ्यो ।

तर, खेलाडीहरुको लाममा एउटा अनुहार भेटिएन, नेपालको हरेक जीतमा खुशीको सीमा नाघ्दै प्रस्तुत हुने मुख्य प्रशिक्षक अल्मुताइरी त्यस भीडमा कतै थिएनन । शायद् प्रशंसकहरुले उनलाई खेलाडीहरुको भीडमा उनको अनुहार खोजिरहेको थियो । उनी माल्दिभ्सबाटै कतार ट्रान्जिट हुँदै आजै आफ्नो देश कुवेत पुगिसकेका छन् ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपको राउन्ड रोविनको अन्तिम खेलमा नेपाल नकर्फने बताएका थिए । यसो त प्रशिक्षक अलमुताइरीले गत साउन ११ गते राजीनामा गर्ने घोषण गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफूले राजीनामा दिनलागेको बताएका थिए ।

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनले नेपाली फुटबल र आफ्नो सम्भावना बारे खुलेर बोलेका छन् । भिडियोमा पत्रकारको प्रश्नको उत्तरमा आफ्नो मुटुतर्फ हात देखाउँदै उनले भनेका छन्, “हो, अवश्य! नेपाल यहाँ छ । म नमरुञ्जेल कसैले पनि मेरो मुटुबाट नेपाल झिक्न सक्दैन । नेपाल, कुवेत र कतार मेरो मुटु भित्र छ । नेपालले त्यसबेला मलाई रोज्यो जतिबेला संसारको कुनै देशको रोजाइमा म परिन । नेपालले मेरो नाम र किर्ति बनाइदियो म मात्रले नेपालको नाम बनाएको हैन नेपालले पनि मलाई बनाइदियो ।”


Loading comments...