के तात्तातो खानेकुराले तपाईंको जिब्रो पोल्यो? अपनाउनुहोस् यी प्रभावकारी घरेलू उपचार विधी


लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो चुस्की निल्नु न ओकल्नु जस्तो भो? यस्तोमा तातो तरल पेयले जिब्रो त अवश्य पोल्छ पोल्छ साथै मुख भित्र पनि पोलाईका कारण छाला जान्छ । यो फेरी यति सामान्य समस्या हो की प्राय सबैका साथ यस्तो अवस्था चिया, कफी अथवा सुपका कारण धेरै पटक भएको हुनसक्छ ।

कुनै पनि तातो खानेकुराको सेवनबाट जिब्रो पोल्नु त धेरै सामान्य हो र यो समस्या तपाईं-हामिले धेरै पटक सामना पनि गरेका छौं । यो समस्याले पीडा भने अत्यन्तै दिन्छ र कतिपय त्यस्ता ठाउँमा यस्तो समस्या भइदिन्छ जसले असहज अवस्था बन्नपुग्छ ।

मुख्यतया जिब्रो दुई प्रकार पोल्नेगर्छः कुनै रसायनिक जलन (Chemical Burn) अथवा कुनै तातो खानेकुराबाट । तातो जलन (Heat Burn) मूलरूपले त्यसबेला हुन्छ जतिखेर तपाईं कुनै तातो खानेकुराको सेवन गर्नुहुन्छ र रसायनिक जलन त्यतिखेर हुन्छ जतिबेला तपाईं खतरनाक रसायनको सम्पर्कमा आउनुहुन्छ । यो दुबै अवस्थामा जलनको अवस्था बेग्ला बेग्लै हुन्छ र दुबै जलनलाई बेग्ला बेग्लै तरिकाले उपचार पनि गर्नुपर्ने हुन्छ । तातो खानेकुराका कारण हुने जलनबाट आकस्मिक राहत प्राप्त गर्नका लागि यहाँ केही सरल घरेलू उपचार विधीहरुबारे ब्याख्या गरिएको छः

आइसक्रिम अथवा बरफ (Ice cream or Ice Cube)

जिब्रो पोलेको अवस्थामा केही चिसो सेवन गर्नुहोस् या बरफको एउटा क्यूब मुखमा राखेर जिब्रोमा मज्जाले केहीबेर लटपटिनुहोस् । यसबाट पोलेको भागमा पीडा कम हुन्छ र पोलाइको छटपटीबाट राहत प्राप्त हुन्छ साथै पोलाइका भाग सुन्निनसक्ने सम्भावनालाई पनि न्यून राख्छ । चिसो खानेकुराले पोलेको जिब्रो अथवा मुखको भित्री पत्रलाई क्षति हुनबाट बचाउछ । चिसोले तपाईंको मुखलाई छिटो भिज्न (Hidrate) सहयोग गर्छ र चिस्यान बनाइराख्छ । बाहिर हुनुहुन्छ र बरफको क्यूब उपलब्ध छैन भने तत्तकाल तपाईंले आइसक्रीम सेवन गर्न सक्नुहुन्छ । अथवा कुनैपनि चिसो जूस अथवा चिसो पानी पनि पिउन सक्नुहुन्छ ।

मह (Honey)

महमा जीवाणुरोधी तथा सूजनरोधी प्राकृतिक गुण रहेको हुन्छ, जसले जलनको पीडालाई शान्त गर्न मद्दत गर्नसक्छ । मुखमा एक चम्मच मह राख्नुहोस् र त्यस महलाई निल्नुअघि केही बेर जिब्रोको सहायताले मुखको चारैतिर मज्जाले लत्पतिनुहोस्, अथवा मह मुखमा राखिसकेपछि केही बेर ननिलेर त्यत्तिकै मुख बन्द गरिराख्नुहोस् । तत्काल राहतका लागि यस प्रकृयालाई २-३ पटकसम्म दोहोर्र्याउन सक्नुहुन्छ । तर तपाइले यदि १२ महीना भन्दा कम उमेरका केट्केटीका लागि यो प्रकृयाका लागि सोच्दै हुनुहुन्छ भने यसो नगर्नुहोस् सिधै नजिकैको स्वास्थ्य चौकी या अस्पतालमा लगेर चिकित्सकको सल्लाहमा उपचार थाल्नुहोस् । यो उमेरका केट्केटीलाई अत्धिक मह दिनबाट बचाउनुपर्छ किनकी यो उनीहरुको स्वास्थ्यका हिसाबले खतरनाक हुनसक्छ ।

दही (Yoghurt)

दही एउटा किण्वित (जैव-रासायनिक प्रक्रिया) दूग्ध उत्पादन हो जसले पोलेको जिब्रोको घरेलू उपचारका लागि सबैभन्दा उत्तम विधिमध्ये एउटा हुनसक्छ । यसमा शितलता प्रदान गर्ने एउटा बेग्लै प्राकृतिक गुण रहेको हुन्छ । जिब्रो पोले लगत्तै एक चम्मच दही मुखमा राख्नुहोस् र निल्नुअघि केहीबेर मुख बन्द गरी जिब्रोको मद्दतले मुखभितर चारैतिर लत्तपतिनुहोस् ।

चीनी (Sugar)

पोलेको जिब्रोमा केही मात्रामा चीनी राखेर केही समय मुख बन्द गरी त्यसलाई पग्लिन दिनुहोस् र जब त्यो चीनी मुखमा पूर्ण रुपले पग्लिन्छ जिब्रोमा भएको जलनको पीडा पनि भाग्नेछ । जिब्रोको पोलाईको घरेलू उपचारमा चीनीको यो विधि जिब्रो पोलेपछि स्वादमा आएको परिवर्तनलाई पनि ठिक गर्न सहयोग गर्दछ ।

घ्यूकुमारी (Aloe Vera)

विभिन्न प्रकारका जलन तथा चोटहरुको घरेलू उपचारमा घ्यूकुमारीको प्रयोग लोकप्रिय छ । पोलेको जिब्रोमा पनि तपाईं घ्यूकुमारीको जेल प्रयोग गर्न सक्नुहुन्छ, यसबाट जलनका कारण तपाईंले महशुस गरिरहनुभएको पीडा पनि पर भाग्छ । घ्यूकुमारीको जेलले मुखको भित्री पत्र तथा जिब्रोको क्षतिग्रस्त कोशिकाहरुलाई पनि ठीक राख्नेछ भने पीडा तथा पोलेको भाग सुन्निनसक्ने सम्भावनालाई पनि न्यून राख्छ । सन् २००७ मा प्रकाशित एक अध्ययनको सुझावमा पनि घ्यूकुमारीको जेलको प्रयोग पोलेको घाउको उपचारका लागि उपयोगी मानिएको छ ।

पुदीना (Mint)

पुदीनामा मिन्थोलको गुण रहेको हुन्छ, जसले पोलेको अंगको वरीपरीको क्षेत्रलाई सुन्न गरिराख्न सक्छ र सुन्निनसक्ने सम्भावनालाई न्यून राख्न सहयोग गर्दछ । यो बनस्पती जीवाणुरोधी गुणका लागि पनि प्रख्यात छ जसले पोलेको भाग र त्यसको वरीपरी हुनसक्ने सम्भावित क्षतिबाट बचाउन सक्छ ।

जिब्रो पोलीसकेपछि ध्यान राख्नुपर्ने केही कुराहरुः
क) तात्तातो खानेकुराहरुको हतारमा उपभोग/सेवन गर्दै नगर्नुहोस् यसबाट ठूलो समस्याको सम्भावना जहिले पनि रहिरहन्छ ।
ख) एसिडिक खानेकुरा तथा सिट्रस फलफूल सेवन नगर्नुहोस् ।
ग) मसालायुक्त परिकार नखानुहोस्, यसबाट थप समस्या बढ्नसक्छ ।
घ) मुखको स्वच्छता तथा सरसफाईको पनि ख्याल गर्नुहोस् ।
ङ) यदि जलन ब्यापक छ र घरेलू उपचारले आराम प्राप्त भइरहेको छैनभने चिकित्सकीय परामर्शका लागि ढीला नगर्नुहोस् ।


Loading comments...