Lifestyle Portal
  •   १४ मंसिर २०७८, मंगलवार

विश्व अर्थव्यवस्थामा कोरोना सङ्कटको अत्यधिक कुप्रभाव

६ कार्तिक २०७८, शनिबार २०:१४

लोकप्रिय

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका नागरिकहरूको आर्थिक एवं सामाजिक जीवन कष्टकर पार्छ। यो कारणले गर्दा पनि आर्थिक महामन्दी त्यति गम्भीर समस्याको रूपमा प्रस्तुत हुँदैन, जुन रूपमा विश्व अर्थतन्त्रका लागि कोरोना सङ्कट प्रस्तुत भएको छ। कोरोना सङ्कटले सम्पूर्ण विश्व र प्रत्येक राष्ट्रको अर्थ व्यवस्थालाई नराम्ररी प्रभावित पारेको छ। विश्वभरिका व्यक्तिहरूको आर्थिक एवं सामाजिक जीवन कष्टकर पारेको छ। भविष्य नै अनिश्चित पारेको छ।

लेखकः विश्वराज अधिकारी

धनी राष्ट्रहरूको आर्थिक संरचना बलियो भएकाले ती राष्ट्रहरूले कोरोनाले पार्ने आर्थिक प्रभावलाई उचित व्यवस्थापनद्वारा कम पार्न सक्छन् र त्यस्तो गरिरहेका पनि छन्। तर विकासशील राष्ट्रहरूका लागि भने कोरोना समस्या प्रलयजस्तो देखिन थालेको छ। नेपालको लागि कोरोना सङ्कट एउटा गम्भीर दीर्घकालीन समस्याको रूपमा प्रस्तुत हुँदैछ। निर्णय तहमा रहेका योजनाकारहरू, अर्थशास्त्री एवं विज्ञहरूले कोरोना सङ्कटले ल्याउने आर्थिक अनिश्चितताको सामना गर्ने नीति तथा कार्यक्रम समयमा न ल्याउने हो भने नेपाल जस्तो गरीब राष्ट्र ठूलो आर्थिक सङ्कटमा पर्न सक्छ। मुलुक गरीबीको दलदलमा दीर्घकालका लागि भासिन सक्छ। टाट पल्टिन सक्छ।

विश्व अर्थव्यवस्थाको निम्न क्षेत्रहरूमा कोरोना सङ्कटले नराम्रो असर पार्ने देखिन्छ। विकासशील वा निर्धन राष्ट्रहरूमा कोरोना सङ्कट घातक रूपमा प्रस्तुत हुने सङ्केत देखिएको छ।

रोजगारः कोरोनाले सर्वाधिक कुप्रभाव रोजगार क्षेत्रमा पार्ने देखिन्छ। खासगरी समूहमा रहेर काम गर्ने प्रकृतिका कार्यहरू कोरोना सङ्कटबाट बढी प्रभावित हुने भएकाले त्यस किसिमका कार्यहरू बढी प्रभावित हुनेछन् र यो कारणले गर्दा विश्व–रोजगारमा सङ्कुचन आउने छ। यो समस्या विश्वभरि नै देखिने छ तर बढी प्रभावित भने गरीब राष्ट्रहरू हुनेछन्। दक्षिण अमेरिका, अफ्रिका र एशियाका निर्धन राष्ट्रहरूमा बेरोजगारी लामो समयसम्म र पीडादायी किसिमले देखिने छ।

उत्पादनः कोरोना सङ्कटले उत्पादनको क्षेत्रलाई पनि नराम्ररी प्रभावित पार्नेछ। विशेषगरी गरीब राष्ट्रहरूमा उत्पादन समस्या चर्कोरूपमा देखिने छ। ती राष्ट्रहरूमा उत्पादन घटेर जानेछ। गरीब राष्ट्रहरूमा मुख्यतः कृषि उत्पादनका लागि उच्च प्रविधि प्रयोग नहुने र समूहगत रूपमा मानवीय श्रम प्रयोग गरी उत्पादन गरिने हुँदा निर्धन राष्ट्रको कृषि उत्पादनमा अत्यधिक ह्रास आउने छ। कृषि उत्पादनमा आउने ह्रासले भोकमरीको समस्या पनि आउन सक्ने छ। कोरोना सङ्कट निर्धन राष्ट्रहरूका लागि टाउकोमाथि झुन्डिएको तरबार हुन सक्छ। यदि यी राष्ट्रहरूले कोरोना सङ्कटलाई गम्भीरतापूर्वक नलिने हो र व्यवस्थापनका पूर्व कदम नचाल्ने हो भने। धनी राष्ट्रहरूको स्थिति भने पृथक हुनेछ। धनी राष्ट्रहरूमा कृषि क्षेत्र मात्र होइन, औद्योगिक तथा व्यापारिक क्षेत्रमा पनि उच्च प्रविधिको प्रयोग, न्यूनतम प्रत्यक्ष मानवीय श्रमको प्रयोगले गर्दा धनी राष्ट्रहरूको उत्पादन व्यवस्था उठ्नै नसक्ने गरी प्रभावित हुनेछैन। नियन्त्रणभित्र नै रहने छ।

बचतः कोरोना सङ्कटले विश्वभरि बचतको समस्या ल्याउने छ। विशेषगरी गरीब राष्ट्रहरूमा बचत चुनौतीको रूपमा देखा पर्नेछ। कोरोना सङ्कटले गर्दा जति आम्दानी भयो त्यो उपभोग (जीवनरक्षा) मा नै खर्च हुने भएकोले बहुसङ्ख्यक व्यक्ति एवं परिवारसँग बचत हुने छैन। उधारो गरेर कुनै परिवार बाँचेझै कुनै देश अन्य बाह्य स्रोतसँग ऋण लिएर बाँच्नुपर्ने स्थिति हुन सक्नेछ। यो स्थिति बढी मात्रामा अफ्रिकाका अति निर्धन राष्ट्रहरूमा देखा पर्न सक्छ। नेपालमा पनि देखा पार्न सक्छ। नेपालले लिने वैदेशिक ऋणको मात्रामा उच्च वृद्धि हुन सक्नेछ।

लगानीः कोरोना सङ्कटले लगानीको क्षेत्रमा दुई किसिमले प्रभाव पार्नेछ। प्रथम, यसले लगानीमा अनिच्छा उत्पन्न गर्नेछ। दोस्रो यसले लगानीको परिमाणमा उल्लेख्य कमी ल्याउने छ। भोलिका दिनमा बजारमा के कस्तो स्थिति देखिने छ भन्ने डर एवं त्रासले गर्दा पर्याप्त बचत हुनेहरू पनि लगानी गर्न अनिच्छुक हुनेछन्। बजारमा देखिएको अनिश्चितताले गर्दा लगानी गर्न सक्नेहरूले पनि लगानी गर्ने छैनन्, जसले गर्दा उत्पादनको क्षेत्रमा ठूलो सङ्कुचन आउन सक्छ। यसैगरी सामान्य आम्दानी हुनेहरूसँग बचत नहुने स्थिति भएकोले बचतको कुल परिमाणमा ठूलो कमी आउने छ।

करः कर सङ्कलनको स्थिति पनि दयनीय हुनेछ। कुनै पनि राज्य त्यस राज्यका नागरिकहरूले दिएको करको आधारमा चल्ने हुनाले कर सङ्कलनमा आएको उच्चतम कमीले गर्दा केही राष्ट्रलाई राज्य सञ्चालन गर्न समस्या हुनेछ। अर्थात् केही गरीब राष्ट्र टाट पल्टिने स्थितिमा पुग्न सक्छन्। देशमा उत्पन्न दरित्रताले गर्दा गरीब राष्ट्रका नागरिक ज्यान जोगाउन धनी राष्ट्रतिर भाग्नुपर्ने बाध्यता आउन सक्छ।

आम्दानी भए मात्र कर तिर्ने र आम्दानी नभएको बेला उल्टो राज्यबाट आर्थिक सहयोगको अपेक्षा गर्नुपर्ने स्थिति एकातिर, कोराना सङ्कटले गर्दा व्यक्तिहरूको रोजगार गुमेको समस्या अर्कोतिरजस्तो समस्याले गर्दा राष्ट्रहरूले कर सङ्कलनमा ठूलो चुनौती बेहोर्नुपर्नेछ। कर प्राप्तिमा भारी कमी आउने छ।

वितरणः वितरण व्यवस्थामा पनि कोरोना सङ्कटले अत्यधिक कुप्रभाव पार्नेछ। बढी मानवीय सम्पर्कको आवश्यकता पर्ने वितरण व्यवस्थाहरू कोरोना सङ्कटबाट प्रभावित हुनेछन्। बैंक, बजार, रेल, बसजस्ता व्यवस्था, जहाँ सेवाग्राहीको भीड लाग्नु स्वाभाविक हुन्छ, कोरोना सङ्कटले नराम्ररी चपेटामा पार्नेछ। कोरोना सङ्कटले वितरण व्यवस्थालाई सुस्त पार्नेछ र परिणामस्वरूप जे जति उत्पादन हुनेछ, त्यसलाई पनि उपभोक्ता समक्ष पु–याउन कठिन हुनेछ।

आपूर्तिः कोरोना सङ्कटले गर्दा उत्पादनमा कमी आउने छ। उत्पादनमा कमी आउने बित्तिकै आपूर्तिमा पनि कमी आउने छ। यसरी कोरोना सङ्कटले आपूर्तिमा पनि कमी ल्याउने छ। आपूर्तिमा आएको कमीले उपभोगको परिमाणमा पनि कमी ल्याउने छ। उपभोग कम हुना साथ उत्पादन पनि कम हुनेछ। यसरी कोरोना सङ्कटले गर्दा विश्व अर्थ व्यवस्थामा बहुपक्षीय कुप्रभाव पार्नेछ। कोरोना सङ्कटले विश्व अर्थ व्यवस्थालाई आफ्नो कुचक्रमा पार्ने ठूलो सम्भावना छ।

विभिन्न रोग लागेर शरीर कमजोर भएझै कोरोना सङ्कटले पनि विभिन्न किसिमका समस्याहरू उत्पन्न गराएर, विश्व अर्थ व्यवस्थालाई कमजोर पार्ने देखिन्छ।

सङ्कटका समाधानका उपायहरू
मानव सभ्यता विकासको इतिहास हेर्न हो भने प्रत्येक समस्या समाधानसहित आएको छर्लङ्ग हुन्छ। गम्भीरतापूर्वक खोजी गर्ने हो भने प्रत्येक समस्याको समाधान देखिन्छ। उदाहरणको रूपमा हालको स्थितिलाई नै लिउँ। कोरोना भाइरसको सङ्क्रमणले गर्दा ठूलो सङ्ख्यामा मानिस एकै ठाउँमा जम्मा हुँदा वा सभा सम्मेलन गर्दा यो सङ्क्रमण तत्काल धेरै जनमा सर्ने ठूलो समस्या देखियो। तर यो समस्या समाधान गर्न वा विनाजोखिम ठूलो सङ्ख्यामा मानिस उपस्थित हुन सक्ने अवस्था सृजना गर्न ‘जुम’ प्रविधिको जन्म वा प्रयोगमा विस्तार भयो। जुमले गर्दा अहिले ठूलो सङ्ख्यामा मानिसहरू भौतिकरूपमा नजीक नभएर वा नटाँसिएर पनि सम्पर्क गर्न सक्छन्, भेटघाट गर्न सक्छन्। मिटिङ, सभा, सम्मेलन गर्न सक्छन् । जहाँ इच्छा त्यहाँ उपाय।’ अर्थात् इच्छा गरे उपाय स्वतः देखिन्छ ।

कोरोना सङ्कटले उत्पन्न गर्ने आर्थिक एवं सामाजिक समस्या समाधान गर्न गरीब राष्ट्र र तिनका सरकारहरूले राम्रो गृहकार्य गर्ने हो भने यो सङ्कटको व्यवस्थापन गर्न सकिन्छ । यो सङ्कटले पार्ने कुप्रभाव न्यून गर्न सकिन्छ । बलियो इच्छाशक्तिसहित प्रभावकारी नीति, योजना तथा कार्यक्रमहरू निर्माण गरेर, त्यसको तत्परतापूर्वक कार्यान्वयन गरेर कोरोना सङ्कटको दुष्प्रभाव न्यूनीकरण गरेर नागरिकको जीवन ज्यादै कष्टकर हुनबाट जोगाउन सकिन्छ ।

कोराना सङ्कटले पार्न सक्ने कुप्रभार्व कम पार्ने अनेक उपाय हुन सक्छ । उदाहरणको रूपमा एक वा दुई व्यक्ति मात्र उपस्थित हुनुपर्ने किसिमको कार्य स्थलको विकास गरेर, उत्पादन एवं वितरण व्यवस्थामा कमभन्दा कम व्यक्ति उपस्थित हुनुपर्ने अवस्था सृजना गरेर, मानव उपस्थितिविना हुने कार्य–ढाँचा निर्माण गरेर (जस्तै विकसित मुलुकहरूमा केही तोकिएको सामान बिक्री गर्न मानिस चाहिंदैन, भेन्डिंग मेशिनले नै बिक्री गर्ने कार्य गर्छ), भौतिक दूरी राखेर बसमा बस्न सकिने र यात्रा गर्न पाइने यातायात सुविधाको विकास गरेर, कोरोना सङ्कटको समयमा पनि व्यापारिक कार्य सञ्चालन गर्न सकिन्छ र यो सङ्कटको व्यवस्थापन उचित किसिमले गर्न सकिन्छ ।

कोरोना सङ्कटलाई लघुकालीन समस्या ठानेर यसको बेवास्ता गर्न मिल्दैन । गरीब राष्ट्रहरूले त झनै मिल्दैन। गरीब राष्ट्रहरूलाई यो समस्याले आउँदो दशौं वर्षसम्म प्रभावित पार्न सक्छ। त्यसकारण गरीब राष्ट्रहरू कोराना सङ्कट र यसले पार्न सक्ने आर्थिक कुप्रभावप्रति ज्यादै गम्भीर हुन जरूरी छ । नेपाल त झनै थप गम्भीर हुन र यो सङ्कट समाधान गर्ने पूर्व तयारीका साथ लाग्न जरूरी छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ