
पात्र ‘ज्ञ’ (लघुकथा): इन्दिरा प्रसाई
१२ कार्तिक २०७८, शुक्रबार २२:२९
…अनि पात्र ‘क’ मरूञ्जेल हाँस्न थाल्यो । हाँस्ता हाँस्तै उ रून थाल्यो । रूँदारूँदै उ चिच्याउन थाल्यो । खुइलिएर केहीमात्र बाँकिरहेका उसका केश उ आफैँले उखाल्न थाल्यो ।
यतिञ्जेलमा उसकी स्वास्नी, छोरा र छोरी उसका सामू तैनाथ भइसकेका थिए ।
‘फेरि केको चर्तिकला देखाउन लाग्या हो यो बूढोले ? … हे भगवान् !’ आजित स्वास्नीको आवाज थियो ।
‘हैन बालाई के हुन्छ बेला बेला ?’ छोरोको दिक्क लागेको आवाज थियो ।
‘यस्तै हो, किन चिन्ता गरेको ? म गएँ है, ढिलो भयो ‘ छोरीको चिन्ताविहीन आवाज थियो ।
‘कसैलाई मेरो केही मतलबै छैन । होसै पनि किनै र ? आखिर म हुँ नै को र ? सम्पत्ति कमाउन नसकेको लोग्ने र बाउ अनि कसैले नपत्याएको लेखक हुनुको के अर्थ ?’ पात्र ‘क’ले वैरागिएर भित्तातिर हेर्दै भनेको थियो ।
‘एई बुढी ! मैले पचासवर्ष देखि सरस्वतीको उपासना बाहेक केही कामै गरेको छैन भन्ने कुरा तँलाई त थाहा छ नि ? तैँले जति नै कचकच गरे पनि मैले अरू कुनै पेसा गरेँ त ? पैसा कमाउनपट्टि म लागेँ त ?’
‘हुन त हो, तर के भो त ? तपैँले लेखेरै पनि के नै छछार्नु भो त ?’ स्वास्नीले पाखुरा सुर्किउँला झै गरी भनेकी थिई ।
‘महिना दिन अघि तँलाई दसहजार रूपियाँ दिएको थिएँ ? कि बिर्सिस् ?’पात्र ‘क’ ले सोधेको थियो ।
‘त्यती जाबो रूपियाँले यो महङ्गीमा हप्तै टर्दैन भन्ने कुरो थाहा भए पो ? तपैँले त भात थपिथपि खानमात्रै जानेको छ । धन्न छोरी छ र पो, खोइ कताबाट घर धानिदिएकी छे । पढेको रे, एउटा जागिरसम्म खान नसक्ने यो मोरो छोरो पनि भातैको भकारी छ ।’
‘कति फतरफतर गर्छेस् पिर परेको बेला ! मेरा कुरा सुन न, पहिलेकाले जस्तै यसपालि पनि त्यो मान्छेको नाउँमा मैले नै लेखिदिएको उपन्यासले दुई लाखको पुरस्कार पाए छ । ल हेर फोटो ! त्यही मान्छे हो कि होइन ?’ भनिसकेर पात्र फेरि पुनरावृत्तितिर लागेको थियो ।
पत्रिकामा लोग्नेले भनेकै र आफैँले भेटेको त्यही पात्र ‘ज्ञ ‘ को फूलमालाले पुरिएको यामाको फोटो थियो । टाउको समातेर लामो सास फाल्दै ढाँचामात्रै बाँकी रहेको थोत्रो सोफामा थ्याच्च बस्ने पालो अब उसकी स्वास्नी चाहिँको थियो ।
•••
© इन्दिरा प्रसाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ
केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई
थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को