धनतेरसको तयारी तथा पूजा विधिबारे स-विस्तार जानकारी


पण्डित पुरुषोत्तम अधिकारी । बिक्रम सम्वत् २०७८ को तिहारले नेपालीहरुको घरदैलोमा प्रवेश गरिसकेको छ । यमपञ्चकको विशेष दिनहरुमा धनतेरसको बेग्लै महत्व छ । यस दिनबाट दीपावलीको विधिवत प्रारम्भ हुन्छ । धनधान्य तथा सम्पन्नताको प्रतिक धनतेरस अथवा धनत्रयोदशी कार्तिक १६ गते (नभेम्बर २ तारेख, २०२१) रहेको छ । यस धनतेरसको सबैभन्दा राम्रो पक्ष भनेको ‘हस्त नक्षत्र’ को प्रभाव हो । यस दिन अपरान्ह १२ बजेर १६ मिनेटसम्म उत्तरा फाल्गुनी नक्षत्र प्रभावमा रहनेछ । यो नक्षत्रको स्वामी चन्द्रमा हो जसले प्रेम, दया, कलाको क्षेत्रमा शुभ फल प्रदान गर्नेछ । धन त्रयोदशीको अवसरमा हस्त नक्षत्रमा लक्ष्मी-कुबेरको पूजा गर्नु धेरै सकारात्मक फल प्रदान गर्नेछ ।

पण्डित पुरुषोत्तम अधिकारी

धनवन्तरि जयन्ती/तथा पूजा समय
धनतेरसमा वृष लग्नमा कुबेर तथा लक्ष्मीको पूजा गर्नु उत्तम हुनेछ । भगवान धन्वन्तरिलाई वैदिक सनातन हिन्दू धर्ममा देव वैद्यको पदवी प्रदान गरिएको छ । आजको दिन उत्तम स्वास्थ्यका लागि धन्वन्तरि पूजा अमृत चौघडिया, लाभ चौघडिया, धनु लग्न वा कुम्भ लग्नको बखत गर्नु विशेष लाभदायी हुनेछ । अमृत चौघडिया अपरान्ह १२ बजेर १५ मिनेटबाट १ बजेर ४५ मिनेटसम्म रहने छ ।

त्यस्तै लाभ चौघडिया साँझका बखत ७ बजेर ४५ मिनेटदेखि ९ बजेर १५ मिनेटसम्म रहने छ । यस बखत दीप दान, धनवन्तरि पूजा, लक्ष्मी-कुबेर पूजा गर्नु शुभ लाभदायक हुनेछ ।

धनतेरसको पूजा तथा यमदीप–दान
धनतेरसको साँझ अकाल मृत्युबाट बच्नका लागि घरको मुख्य प्रवेशद्वारको बाहि ४ वटा दियो बालेर यमराजलाई ‘दीप दान’ गर्ने परम्परा युगौंयुगबाट चलीआएको छ । यस बाहेक यस रात आरोग्य प्राप्तिका लागि सनातन हिन्दू धर्मका देव वैद्य भगवान धनवन्तरि तथा समृद्धिका लागि कुबेरसँगै माता लक्ष्मी तथा गणेशको पूजा गरेर देवी लक्ष्मीलाई नैवेद्यका रुपमा धनिया, मिठ्ठा तथा धानको लाभा (भुटेको धान) समर्पण गर्ने गरिन्छ । तपाईं पनि यि विधीहरुको पालना गरी धनतेरसबाट लाभ प्राप्त गर्नसक्नुहुनेछ ।

धनतेरसदेखि ३ दिन जप्नुहोस् यो मन्त्र, निरन्तर उन्नति प्राप्त गर्नुहोस्
धन प्राप्ति तथा स्वास्थ्य वृद्ध‍िका लागि धनतेरसको दिन अत्यन्त शुभ मानिन्छ । यस शुभदिनबाट आराधना प्रारम्भ गरी तपाईंले धन, सम़द्ध‍ि एवं सुस्वास्थ्य सहितको उत्तरोत्तर उन्नति प्राप्त गर्न सक्नुहुन्छ । यसका लागि धनतेरसमा विशेष पूजाको उल्लेख विधान शास्त्रहरुमा भेटिन्छ । प्रस्तुत छ उन्नति-प्रगतिका लागि मन्त्र तथा विधी:

सामग्री: दक्षिणावर्ती शंख, केसरी (पँहेलो टिका), गंगाजलको पात्र, धूप तथा अगरबत्ती, दियो, रातो कपडा । यावत सामाग्रीहरु माता लक्ष्मी तथा कुबेरको पाउँमा समर्पित गरी तल उल्लेखित मन्त्रलाई तीन दिन पूजा समयमा पाठ गर्नुहोस् ।

ॐ ह्रीं ह्रीं ह्रीं महालक्ष्मी धनदा लक्ष्मी कुबेराय मम गृह स्थिरो ह्रीं ॐ नमः

नोटः हाम्रो वैदिक सनातन संस्कार हामी जिउने तथा संसार सकारात्मक हेर्ने एउटा सर्वमान्य सिद्धान्तमा आधारीत प्राचिन विज्ञान हो । यसले हामीलाई आफ्नो कर्ममा विचलित हुन दिंदैन र कडा परिश्रम गरी फल प्राप्त गर्ने हौसला प्रदान गर्छ ।


शुभकामना कार्डहरु शेयर गर्नुहोस्ः


Loading comments...