घर-घरमा लक्ष्मीपूजा मनाइदैं – कसरी गर्ने घरमा लक्ष्मीपूजा? यहाँ छ स-विस्तार पूरा विधी


आज यमपञ्चकको महत्वपूर्ण दिन लक्ष्मीपूजा गरी घर घरमा भव्य रुपमा मनाइदै छ । आज धनकी देवी लक्ष्मीको पुजा आरधाना गर्नाले घरमा धनलाभ हुने कुरामा विश्वास गरिन्छ । औंशीको यो कालो रातलाइ सुखरात्री पनि भन्ने गरिन्छ । दिपावली देवी लक्ष्मीप्रति समर्पित वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुको एक महान उत्सव हो । यस उत्वसले जीवनमा उज्यालो भर्न र अगाडी बढिरहने बाटो देखाउँछ । यस दिन वैदिक सनातन हिन्दुहरुले  समृद्धि तथा धनकी देवी लक्ष्मीमाताको आराधना गर्ने गर्दछन् ।

दिपावलीमा लक्ष्मीपूजाका लागि अधिकांश हिन्दू परिवारले आफ्नो घर तथा कार्यस्थलहरु सयपत्री फूल तथा अशोक, आँप र केराको पत्ताले साजसज्जा गर्ने गर्दछन् । लक्ष्मी धनकी देवी हुन् । आजको दिन घरहरुमा समृद्धि, धन तथा सद्भावनाका लागि पूजा गर्ने गरिन्छ ।

घर आँगनमा गाइको गोवर र रातोमाटोले लिपेपछि गाइको गौंत छरी शुद्ध पारिन्छ । वैदिक सनातन धर्म अनुसार गाइलाइ पशुधन, गौमाता तथा लक्ष्मी माताको स्वरुप मानिन्छ । लक्ष्मीलाइ धनकी देवी एवं ऐस्वर्यको प्रतिक पनि मानिन्छ । यो कात्र्तिक कृष्ण औंशीको रातलाइ सवैभन्दा अध्यारो रातको रुपमा लिइन्छ । उक्त अध्यारो रातलाइ उज्यालो पार्नका लागि घरआगनमा दिपक बाल्ने कार्य गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भर्र्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मी पुजाको दिन विहानी पख घर लिपपोत गरि गाईलाई सिंगारी सकेपछि गाइको पुजा आराधाना र ढोकामा तेलको धारा दिने काम गरिन्छ भने साँझपख बत्ति बालेर लक्ष्मी भित्र्याउने कार्य गरिन्छ ।

पण्डित पुरुषोत्तम अधिकारी

लक्ष्मी भित्र्याउने विधी
लक्ष्मी पुजाको दिनमा लक्ष्मी घर आगनमै रहने र स्वागत गरे घर भित्र जान्छीन भन्ने विस्वास रहि आएको छ । साँझपख चारै तिर बत्ति बालिसकेपछि आगनीको विचभाग देखी घरको भित्रसम्म लक्ष्मीको लागि माटो र गाईको गोवरले लिपेर चामलको पिठो र अविर तथा रंगले पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । लिपीएको शुद्ध आगनको विचभागमा विभिन्न रंगको मिश्रणवाट रंगोली बनाएपछि विशेष पुजा गरि बत्ति बालि फलफुल तथा पुष्प चढाइन्छ । त्यस पछि लक्ष्मीको बाटोमा पुष्प राख्दै माटाको पालामा वा केराको सुत्लोमा बत्ति बाल्दै झिलिमिलि बनाइन्छ ।

जय जय लक्ष्मी आउ आउ,
स्थीर गर लक्ष्मी हाम्रा घरमा पाउ…
भन्दै स्वागत गरिन्छ ।

यति कार्य गरेपछि लक्ष्मीलाइ बास बस्न धन सम्पति राख्ने स्थान जस्तै वाकस, मुदुस, दराज, आलमारी, आदि देखाउँदै पुजा गरी शुभ लाभ लेखिन्छ ।

महालक्ष्मी मन्त्र
ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद
ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमस्तुते॥

घरमा कसरी गर्ने लक्ष्मीपूजा? यहाँ छ स-विस्तार पूजा विधी

माता लक्ष्मीको पूजा यसरी गर्नुहोस्ः
पूजाको तयारी

पूजा शुरू गर्नुअघि घरको राम्रमरी सर-सफाई गरेर सयपत्री लगायतका थरी थरीका फूलहरुले घरको मुख्य प्रवेशद्वार देखि घरका हरेक भागहरुलाई सजाउनुहोस् । पूजाको प्रक्रिया शुरू गर्नुअघि शुद्धिकरण अनुष्ठानका लागि पुरै घरमा तथा घरमा रहेका परिवारका सम्पूर्ण सदस्यहरुमा गंगाजल छर्नुहोस् ।

पूजाको लागि चौकी लगाउनुहोस्
जहाँ पूजा हुनेछ त्यस स्थानमा पूजाका लागि एउटा चौकी स्थापित गर्नुहोस् । फेरी चौकीमाथी एउटा रातो कपडा ओछ्याएर त्यसमाथी धानको दाना फैलाएर मिलाउनुहोस् । शुद्ध बेसारको धूलोले एउटा कमल बनाउनुहोस् तथा त्यसमाथी माता लक्ष्मी तथा गणेशको मूर्ति राख्नुहोस् ।

कलश स्थापना
तामाको घडामा तीन चौथाई शुद्ध पानी/जल भरेर त्यसमा केही सिक्काहरु, सुपारी, किसमिश, ल्वाङ, सूख्खा मेवा तथा इलाइंची राख्नुहोस् । तामाको घडाको माथी आँपको पातले गोलाकारमा मिलाएर राख्नुहोस् र रातो वस्त्रमा बेरेर पानीयुक्त नरीवल त्यसको बीचमा राख्नुहोस् । यसरी तयार पारीएको उक्त घडालाई सिन्दूर तथा फूलहरुको सहयोगले सजाउनुहोस् ।

मूर्तिहरुको पवित्र स्नान
आजको दिन माता लक्ष्मीको मूर्तिलाई शुद्ध जल, पंचामृत, चंदन तथा गुलाब जलबाट स्नान गराउनुहोस् । स्नान गराईसकेपछि दुवै मुर्तीलाई बेसारको धूलो चन्दनको लेप लगाएर सिन्दुरले सजाउनुहोस । यस पछि मूर्तिहरुको चारैतिर फूल तथा माला चढाउनुहोस् ।

पूजा
लक्ष्मी पूजा अघि भगवान गणेशको पूजा गर्ने गरिन्छ । त्यसपछि माता लक्ष्मीको पूजा हुन्छ । प्रसादमा विशेषगरी बताशा (चिनीको पागबाट बनेको मिठाई), लड्डू, सुपारी तथा मेवा, सूखेको मेवा तथा सेलरोटी तथा घरमा बनाइएका अन्य शुद्ध व्यनञ्जल रहेको हुन्छ । मन्त्र जापको क्रममा दियो तथा अगरबत्ती बाल्ने गरिन्छ ।

माता लक्ष्मीको कथा पढ्ने र सुन्ने
माता लक्ष्मीको कथा परिवारको एक जेष्ठ्य सदस्यद्वारा सुनाउने गरिन्छ । जबकि परिवारको बाँकी सदस्यहरु यस कथालाई ध्यानले सुन्ने गर्दछन् । माता लक्ष्मीको कथाको अन्त्यतिर देवीको मूर्तिमा फूल चढाएर मिठाई तथा फलफूलको भोग लगाउने गरिन्छ ।

पूजा आरती
अन्त्यमा आरतीसँगै माता लक्ष्मीको भजन गाएर पूजाको समापन गर्ने गरिन्छ । फेरी देवीसँग समृद्धि तथा धनको प्रार्थना गर्ने गरिन्छ तथा प्रसादका रुपमा मिठाई तथा  फलफूल आफूपनि खाने र घरका अन्य सदस्यलाई पनि दिनुहोस् ।


Loading comments...