यस्तो छ गोवर्धन पूजा गर्ने नियम, गौ माताको सेवाबाट प्राप्त हुनेछ लाभ


गोवर्धन पूजाको नियमानुसार पूजा गर्नु शुभ मानिन्छ । यो कार्तिक मास, शुक्ल पक्षको प्रतिपदाका दिन मनाइन्छ । यसमा गिरिराज भगवानलाई प्रसन्न गर्नका लागि अन्नकूटको ५६ भोग लगाइन्छ ।

कार्तिक मास, शुक्ल पक्षको प्रतिपदालाई गोवर्धन पूजा (Govardhan Puja) गर्ने गरिन्छ । लक्ष्मीपूजाको अर्को दिन गोवर्धन पूजा मनाइने गरिन्छ । मान्यता यस्तो छ की, द्वापर यूगमा आजको दिन वृन्दावनवासीमाथी आइपरेको बाढीको आपतबाट भगवान श्री कृष्णले गोवर्धन पर्वतलाई आफ्नो कनिष्ठ (कान्छो) औंलामा उठाएर जोगाउनुभएको थियो ।

पण्डितः विदुर खनाल

यमपञ्चकभित्र मनाइने विविध धार्मिक पर्वहरुसँगै गोवर्धन पूजाको पनि विशेष महत्व छ । तर धेरैजनालाई गोवर्धन पूजा कसरी गर्ने के कस्ता नियम अपनाउने भन्ने विषयहरुको उतीसारो अन्य पर्वहरु झै जानकारी हुन्न ।

वैदिक सनातन हिन्दुहरु बस्ने नेपाल, भारत लगायत विश्वका धेरै देशहरुमा यमपञ्चकका अवधीमा गोवर्धन पूजा पर्व धूमधामले मनाउने गरिन्छ । यसमा श्रद्धालुहरुले घरको आँगनमा गाइको गोबरबाट गोवर्धन भगवानको प्रतिमा बनाएर उनको पूजा अर्चना गर्ने गर्दछन् । कुनै पनि धार्मिक अनुष्ठान, पर्व, संस्कार नियमानुसार गरेमा मन त आनन्द हुन्छ हुन्छ मनोकांक्षाहरु पनि पूरा हुन्छन् । गोवर्धन पूजा नियम अनुसार गर्नु शुभ मानिन्छ ।

Photos Source: Iscon

गोवर्धन पूजा कसरी गर्ने? यस्तो छ नियमः

    • सूर्योदय अघि उठेर नित्य दैनिक कार्यहरु सक्काउनुहोस् । अब शरीरमा शुद्ध तोरीको तेल मलेर स्नान गर्नुहोस् ।
    • घरलाई गौमूत्र अथवा गंगाजल छर्किएर शुद्ध गर्नुहोस् ।
    • स्वच्छ वस्त्र (पहिरण) धारण गरी आफ्नो इष्टदेव तथा पितृहरुको ध्यान गर्नुहोस्, तत्पश्चात् अब गोवर्धन पूजाका लागि तयार हुनुहोस् ।
    • आफू बस्ने घरको पूजाकोठाको ढोकामा गाइको गोबरबाट गोवर्धन पर्वत जस्तो आकृती बनाउनुहोस् । यस कार्यमा परिवारका सदस्यहरुलाई पनि संलग्न गराउनुहोस् ।
    • यसरी तयार पारिएको गोवर्धन पर्वतमाथी रुखहरु जस्तो आकृतीका लागि, रुखको हाङ्गाविङ्गा तथा फूलहरु आदिले सजाउनुहोस् ।
    • यसपछि गोवर्धन पर्वतलाई अविर, केसरी, अक्षता तथा फूल आदिले विधिवत पूजा गर्नुहोस् ।
    • फूल अक्षेताले पूजा गरिसकेपछि अब हातमा फूल अविर र अक्षता लिएर यस मन्त्रको पाठ गर्नुहोस्ः

गोवर्धन धराधार गोकुल त्राणकारक :
विष्णुबाहु कृतोच्छ्राय गवां कोटिप्रभो भव ::

अब पूजाको दोस्रो प्रक्रियातर्फ लागौंः
गाइहरुको स्वास्थ्य र उमेर हेरेर अनिवार्य स्नान अथवा राम्रोसँग सरसफाई गर्नुहोस् । अब गाईहरुलाई विभिन्न अलंकारहरु, मेहन्दी आदिको प्रयोग गरी सजाउनुहोस् । यस पछि साँझमा गाईको गोबरबाट घर-आँगन लिप्नुहोस् । याद राख्नुहोस् गोबरले घर लीपेमा त्यो घर शुद्ध हुन्छ र घरमा किरा फट्याङ्रा आउँदैनन । गोवर्धन पूजा समापन गर्दा घर तथा छरछिमेकमा काँचो खाद्य सामाग्री अर्थात नपकाइएको खाद्य सामाग्रीहरु जस्तै चामल, मासको दाल आदी । साथै पूजा समापन गरी सबैलाई प्रसाद बाँड्नुहोस् र गोवर्धन भगवानबाट आशीर्वाद प्राप्त गर्नुहोस् ।

नोटः जसको घरमा गाई (गौ माता) हुनुहुन्छ वहाँहरुले यसरी विधी गर्दा लाग्दो हो यस पूजाका लागि गाई त घरमा अनिवार्य छ! तेसो हैन, जसको घरमा गाई छैन उसले गाई फार्म वा छिमेकी जसले गाई पालेको छ वहाँलाई यस पूजामा सघाएर पनि गोवर्धन भगवानको आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ ।


यो पनि पढ्नुहोस्:
घर-घरमा लक्ष्मीपूजा मनाइदैं – कसरी गर्ने घरमा लक्ष्मीपूजा? यहाँ छ स-विस्तार पूरा विधी


Loading comments...