दाजूभाईको लामो आयूका लागि यो विधिले लगाउनुहोस् टीका – किन मनाइन्छ यो पर्व?


हिन्दू पञ्चाङ अनुसार कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ । भाइटीकालाई भैया दूज, यम द्वितीया, भाई तिहार, भ्रातृ द्वितीया, किजापूजा आदि नामले पनि मनाउने गरिन्छ । नेपाल, भारत लगायतका देश तथा वैदिक सनातन हिन्दूहरु रहने विश्वभरका हिन्दूहरुले यस दिन यो पर्वलाई दिदीबहिनी तथा दाजूभाईहरुबिच एकअर्का प्रतिको स्नेह, समर्पण तथा अगाध मायाको प्रतिकको रुपमा मनाउने गरिन्छ ।

लेखकः पण्डित बिदुर खनाल

भाइटीका पर्व नेपालभर धूमधामले मनाउने गरिन्छ । यस दिन दिदीबहिनीहरुले आफ्नो दाजूभाईको निधारमा सप्तऋषि तथा सातवटै ग्रहको प्रतिकको रुपमा सात रङको टीका लगाउने चलन छ । यी रङहरुले टीका लगाउँदा विधिपूर्वक दिदीबहिनी तथा दाजूभाइको उज्ज्वल भविष्य तथा दीर्घायूको कामना गर्ने गरिन्छ । यस दिन दिदीबहिनीहरु तथा दाजूभाइहरु एक ठाउँमा जम्मा भई एकआर्कासँग यस विशेष दिनका लागि भेट्न र यस पर्वको आनन्दमा डुब्न उत्साहित रहन्छन् ।

तिहार, दिपावली, दिवाली आदी नामले परिचित यो चाड नेपाल तथा भारत लगायतका देशहरुमा बिजयादशमी पछि मनाइने दोस्रो ठुलो चाड हो । यो यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । यो टीका लगाउने एउटा प्रकृया मात्र नभई दिदीबहिनी र दाजूभाइले एक अर्कालाई गर्ने सम्मान तथा भगवानको दर्जामा राखेर पूजा गर्ने हाम्रो वैदिक सनातन हिन्दू संस्कृतीको ब्यापक गर्विलो पर्व पनि हो ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई मिठा मिठा परिकारहरु जस्तै, सेलरोटी, अनर्सा, अतिस्वास्थ्यवर्द्धक सुखाइएका फलफूलहरु (काजू, किसमिस, नरिवल, ल्वाङ, सुकमेल, कटुस, हाडे बदाम, मखान) तथा मनपर्ने स्वादिष्ट परिकार तथा मिठाईहरु दिने गरिन्छ । दिदीबहिनीहरुको स्वाद र आशिर्वादको माया स्वरुप दाजुभाइहरुले पनि आफ्ना प्यारी दिदीबहिनीलाई गक्षअनुसार दक्षिणा तथा उपहार दिने गरिन्छ ।

भाइटीकाको दिन मण्डला अथवा स्वस्तीक चिन्हको रेखी कोरेर दियो, कलश र गणेशको स्थापना गरी पूजा सामाग्रीहरु तयार गरिन्छ । र यसमा विशेषत् अबिर केसरी बाहेक सात रङहरुलाई बेग्ला बेग्लै राखेर पूजाको तयारी गरिन्छ । पूजामा अर्को आवश्यक सामाग्री भनेको बिमिरो, मखमली फूलहरु, सुपारी फूलको अथवा मखमली फूलको माला, कटुस, भाइमसला आदी हुन् ।

त्यसपछि दाजूभाईलाई पूजास्थानमा पूर्वतर्फ फर्काएर आसनमा बसाईन्छ र तोरीको तेल र पानी मिसिएको पानीको घडामा दूबो चोपेर दाजूभाइको टाउकोमा दल्ने गरिन्छ । यसपछि यमराजको आह्वान गरेर दैलोमा ओखर राखेर पत्थरको लोहोरोसहित पूजा गरिन्छ । त्यसपछि पानी र तेल राखिएको घडा (कलस) तर्क्याउँदै पूजास्थललाई सात फन्को पारेर घेरिन्छ । अब त्यस घेराभित्र, दिदीबहिनी तथा दाजूभाइलाई पूजा नसक्किएसम्म कसैले छुन या त्यस घेरा भित्र छिर्न मनाहि हुन्छ ।

अब पूजाको दोस्रो चरण प्रारम्भ हुन्छ, अर्थात दिदी बहिनीले दाजूभाइको काँध, शीर, घुँडा र छातीमा फूल र अक्षेता छर्किएर भाइपूजाको विधि प्रारम्भ गर्ने गर्दछन् । त्यसपछि तीलको तेलमा बालिएको दियोले आरती उतार्दै घण्टी डोलाउने गरिन्छ । दाजूभाइहरु भने दिदीबहिनीहरुको सामू पलेटी कसेर हात जोडी बसिरहन्छन् । आरती गरिसकेपछि टीकाको प्रकृया प्रारम्भ हुन्छ ।

दिदीबहिनीले दाजूभाइको निधारमा तिलक लगाएर पालै पालो सातै रङहरु तिलकमाथी क्रमशः तलबाट माथी लगाइन्छ र अरोग्य तथा दीर्घायूको कामना गर्ने गर्दछन् । त्यस्तै दाजूभाइले पनि दिदीबहिनीको निधारमा चन्द्रमाको तिलक लगाएर सातै रङगहरु तिलकमाथी क्रमशः दाहिने हुँदै देब्रेसम्म मिलाएर लगाइन्छ । र एकअर्कालाई कहिल्यै नओइलाउने अजम्बरी सुपारी फूल अथवा मखमली फूलको माला लगाइदिएर दीर्घायू तथा सुस्वास्थ्यको आशिष दिइन्छ ।

यसपछि दिदीबहिनीले दाजूभाईलाई सगून स्वरुप दही खुवाउने गर्दछन् र दिदीबहिनीलाई पनि उक्त दहि दाजूभाइले खुवाइदिन्छन् । यहाँसम्म यो धार्मिक तथा सांस्कृतिक प्रकृया बडो अद्भूत देखिन्छ, अलौकिक हुन्छ । समग्रमा दिदीबहिनी र दाजूभाई बीचको अगाध स्नेह, सम्मान र समर्पणको एउटा फरक संसारमा लैजान्छ भाइटीकाको सम्पूर्ण प्रकृयाले ।

यसपछि दिदीबहिनीले तयार पारेका स्वादिष्ट पकवानहरु जस्तै: सेलरोटी, अनर्सा, मिठाईहरु तथा भाइमसला सहितको कोसेली दाजूभाइलाई दिइन्छ र दाजूभाइले दिदीबहिनीको पाउमा ढोगेर उनीहरुलाई मनपर्ने उपहार, खानेकुरा तथा नगद दक्षिणा दिने गर्दछन् ।

अब टीका लगाउने प्रकृया अघि पूजास्थलको दैलोमा पूजा गरेर राखिएको ओखरलाई सँगै राखिएको पत्थरको लोहोरोले फोडिएपछि बल्ल तेल र पानीयुक्त दूबोको धारोले सात फन्को घेरीएको घेरोबाट निस्किन मिल्छ र यति गरेसँगै भाइटीका सम्पन्न हुन्छ ।

भारतवर्षमा भाइदूजको दिन यमराजको पूजा गरेर यमुना नदीमा डुबुल्की लगाउने पनि परम्परा रही आएको छ । पौराणिक कथाका अनुसार यस दिन यमदेव (यमराज) आफ्नो बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा भोजन गर्न पुग्नुभएको थियो ।

भाइटीकाको शुभ साइतः
यमद्वितीया भाइटीका, (किजापूजा) वि.सं. २०७८ कार्तिक २० गते, शनिवार ११:०२ बजे बिहान

भाइटीकासँग जोडिएको पौराणिक कथा:
भगवान सूर्यदेवको अर्धांगीनी (श्रीमती) को नाम छाँया हो । उनको कोखबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुनाले आफ्नो दाजू यमराजलाई बडो स्नेह गर्नुहुन्थ्यो । यमुनाले यमराजलाई आफ्नो घर आएर भोजन गर्ने निरन्तर निवेदन गरिरहनुहुन्थ्यो, तर यमराज आफ्नो कार्य व्यस्तताका कारण बहिनी यमुनाको अनुरोध टाली रहन्थे । एकपटक कार्तिक शुक्ल द्वितीयाको दिन बहिनी यमुनाले आफ्नो दाजू यमराजलाई भोजन गर्न घरमा बोलाउनुभएको थियो, बहिनीको घर जाँदै गर्दा यमराजले नर्कमा बस्ने जीवहरुलाई मुक्त गर्नुभयो र बहिनी यमुनाको घर पुग्नुभयो ।

दाजू यमराजलाई आफ्नो घरमा देखेर यमुनाले हर्ष−विभोरका साथ दाजूको स्वागत सत्कार गर्नुभई भोजन खुवाउनुभयो । यसबाट प्रसन्न हुनुभएका दाजू यमराजले बहिनीलाई वरदान माग्न भन्नुभयो । बैनी यमुनाले दाजू यमराजलाई भन्नुभयो, “तपाईं हरेक वर्ष यसरी नै मेरो घरमा भोजनका लागि आउनुहुनेछ र यस दिन जो दिदीबहिनीले आफ्नो भाइलाई टीका लगाएर भोजन गराउनेछिन उनलाई हजूरको भय हुनेछैन ।” दाजू यमराजले बहिनी मागेको वरदानलाई ‘तथास्तु’ भन्नुभयो र बहिनी यमुनालाई उपहारस्वरुप अनेक अमूल्य गरगहना तथा लत्ताकपडाहरु दिएर यमपुरीतर्फ लाग्नुभयो । जो दाजूभाई यस दिन यमुनामा स्नान गरेर श्रद्धापूर्वक दिदीबहिनीको आतिथ्य स्वीकार गर्दछ, उनीहरुमा यमराजको भय रहन्न ।

सम्पूर्ण दाजूभाई तथा दिदीबहिनीहरुमा भाइटीकाको हार्दिक मङ्गलमय शुभकामना!!


Loading comments...