भारतीय राष्ट्रपति रामनाथ कोविंदद्वारा प्रधानसेनापति प्रभुराम शर्मालाई मानार्थ भारतीय सेनाको जनरल उपाधी प्रदान


भारतीय राष्ट्रपति रामनाथ कोविंदले नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ जनरलको उपाधी प्रदान गर्नुभएको छ । प्रधानसेनापति जनरल प्रभुराम शर्मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेको निमन्त्रणामा ४ दिनको भारत भ्रमणमा हुनुहुन्छ ।

बुधवार प्रधानसेनापति जनरल शर्मालाई भारतीय सेनामा जनरलको मानार्थ उपाधिबाट सम्मानित गरिएको हो । यस सम्मानका लागि प्रधानसेनापति जनरल शर्माले खुशी व्यक्त गर्नुभएको छ ।

भारत यात्राका क्रममा प्रधानसेनापति जनरल प्रभुराम शर्माले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस बाहेक भारतीय सेनाका अन्य महत्वपूर्ण बरिष्ठ अधिकारिहरुसँग पनि भेटघाट गर्नुहुनेछ ।

प्रधानसेनापति जनरल प्रभुराम शर्माको भारतसँगको विशेष सम्बन्ध
नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माले २०७८, भदौ २४ (सेप्टेम्बर २०२१) कार्यकाल सम्हाल्नुभएको हो । प्रधानसेनापति जनरल प्रभुराम शर्माले मद्रास यूनिभरसीटीबाट युद्ध तथा रणनीतिमा एम.फिल. को डिग्री प्राप्त गर्नुभएको छ । यस बाहेक वहाँले भारतमा सेनाको प्राविधिक नेतृत्वको पनि तालिम लिनुभएको थियो । सन् १९८४ मा प्रधानसेनापति शर्माले नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टको भूमीका निर्वाह गर्नुभएको थियो ।

गत वर्ष २०७७, १९ कार्तिक (नोभेम्बर २०२०) मा भारतीय थलसेना प्रमुख जनरल एम एम नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका दौरान राष्ट्रपति बिद्या देवी भण्डारीले नेपाली सेनाको मानार्थ जनरल उपाधि प्रदान गर्नुभएको थियो । दशकौं देखि दुवै देशका सेनाहरुबीच यस तहको सम्मान हुँदै आएको छ ।

दुई देशबिचको सांस्कृतीक, राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक सम्बन्धको बिच नेपाल-भारतका सेना बिच एकअर्कालाई सम्मान दिने यो परम्परा सन् १९५० देखि चल्दै आएको छ । जनरल के एम करियप्पा पहिलो भारतीय थलसेना प्रमुख थिए, जसलाई सन् १९५० मा नेपाली सेनाले यस उपाधिबाट सम्मानित गरेको थियो ।

यस अघिका प्रधानसेनापती जनरल पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविंदले नयाँ दिल्लीमा भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गर्नुभएको थियो ।

तस्वीरहरुः भारतीय राजदूतावास


Loading comments...