कप २६ (COP26) र आर्थिक समृद्धिले ल्याएको मानवीय सङ्कट


धनी देशहरूले आर्थिक प्रगति गर्छन तर त्यो आर्थिक प्रगतिको मूल्य गरिब देशहरूले भूक्तान गर्नु पर्छ। तर अहिले स्थित त्यस्तो छैन। यो स्थितिमा केही परिवर्तन देखिएको छ। अहिले गरिब वा विकासशील राष्ट्रहरूले गरेको आर्थिक प्रगतिको मूल्य पनि गरिब मुलुकहरूले नै भुक्तान गर्नु परेको छ।

आर्थिक प्रगतिको कुअसर धनी राष्ट्रहरूलाई पनि नपर्ने होइन, तर धनी राष्ट्रहरूले आर्थिक प्रगतिको कुअसरलाई व्यवस्थापन गर्न सक्छन वा त्यसलाई न्यून पार्न सक्छन किनभने उनीहरूसँग पर्याप्त स्रोत र साधनहरू हुन्छ। जस्तै अमेरिका, जापान, जर्मनी, क्यानाडा आदि धनी मुलुकहरुले आर्थिक प्रगति गर्दा हुने कुअसरलाई आफ्नो देशभित्र व्यवस्थापन गर्न सकेका छन। तर गरिब देशहरूले पनि सकेका छैनन।

लेखकः विश्वराज अधिकारी

तर यो नया परिस्थितिमा भने विश्वका अनेक राष्ट्रहरूले गर्ने आर्थिक प्रगतिको कुअसर अब धनी राष्ट्रहरूले पनि भुक्तान गर्नु पर्ने स्थिति उत्पन्न भएको छ। राष्ट्रको रुपमा अलग भएता पनि, विश्वका सबै राष्ट्रहरूले एउटै आकासमुनी बस्नु पर्ने र एउटै धरती उपयोग गर्नु पर्ने अनिवार्यता छ। यो अनिवार्यताको कुनै विकल्प पनि छैन। हाम्रो आकास साझ छ, पृथ्वी साझा छ। यो कारणले बिग्रिंदै गएको विश्व वातावरण प्रति अहिले धनी राष्ट्रहरू पनि चिंतित हुन पुगेका छन। तिब्र गतिमा बिग्रिंदै गएको विश्व वातावरणले धनी राष्ट्रहरूलाई पनि सताएको छ। बिग्रिंदै गएको विश्व वातावरणलाई नसुधार्ने हो र विश्वको तापक्रम यसरी नै बृद्धि हुने हो भने अमेरिका जस्तो अति धनी देशका विभिन्न शहरहरू समेत पनि केही दशक भित्र समुन्द्रको गर्भ भित्र पस्ने अनुमान गर्न थालिएको छ। मायामी, न्यु ओर्लिन्स जस्ता अमेरिकी शहरलाई सतर्कतामा राखिएको छ। धेरै पटक आएको समुन्द्री आँधी (hurricane) ले न्यु ओर्लिन्सलाई पटक पटक नराम्रो गरी मानवीय एवं आर्थिक क्षति पुर्याएको छ।

समुन्द्री तटमा रहेको तथा अनेक टापुहरू मिलेर बनेको सानो राष्ट्र माल्दिभ्सका ८० प्रतिशत टापुहरू समुन्द्री सतह भन्दा केवल एक मिटर मात्र माथि छन। यदि विश्वका नेताहरूले पृथ्वी तातो भएर बिग्रिदै गएको विश्व वातावरण सुधारमा सामुहिक रुपमा ध्यान नदिने हो, पृथ्वी तातो भएर हिंउ पग्लिने क्रम जारिनै रहने हो, समन्द्रमा पानीको मात्र बढ्ने क्रम नरोकिने हो भने सन् २१०० सम्ममा माल्दिभ्स समुन्द्र भित्र विलीन भएर यो देशको अस्तित्व समाप्त हुने छ। यस्तो अनुमान गरिएको छ।

कुनै बेला गरिब मानिएका राष्ट्रहरू चीन, भारत र ब्राजिल अहिले क्रमश: दोस्रो, सातै र नबौं विश्वका आर्थिक महाशक्ति राष्ट्र हुन पुगेका छन्। औधोगिकरण र आर्थिक प्रगतिको क्षेत्रमा, केही दसक भित्रमानै, चीनले जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स आदिलाई पछाडि पारिसकेको छ। र चीनको बाटो पछ्याउने क्रममा भारत पनि छ।

चीन र भारतले यति ठूलो आर्थिक प्रगति सजिलै प्राप्त गरेका भने होइनन। यी राष्ट्रहरूले आफ्नो आन्तरिक वातावरण सहित विश्वको वातावरण बिगार्नमा योगदान पुर्याएर धनी भएका हुन। तिब्र रुपमा आर्थिक प्रगति गरेर के गर्नु, चीन अहिले वातावरणमा कार्वन बिसर्जन गर्ने विश्वको पहिले राष्ट्र हुन पुगेको छ। भारत तेस्रो हुन पुगेको छ। अमेरिकाको स्थान भने दोस्रो रहेको छ। चीन, अमेरिका र भारतले वर्षेनी वातावरणमा क्रमश: १०.५, ५. ०० र २. ५ अर्ब टन कार्बन विसर्जन गर्छन। संसारमा हुने सम्पूर्ण कार्बन बिर्जन मध्ये एक्लो चीनले मात्र एक तिहाइ कार्बन बिसर्जन गर्छ। विश्वका दस अति प्रदुषित शहरहरू मध्ये नौ अति प्रदुषित शहर (गाजियाबाद, बुलन्दशहर, बिस्रख जलालपुर, भिवाडी, नोइडा, ग्रेटर नोइडा, कानपुर, लखनऊ, दिल्ली) भारतमा मात्र पर्दछन। आर्थिक विकासको मूल्य भारतले कति र कसरी चुकाइ रहेको छ भन्ने कुरा माथिको तथ्यबाट प्रष्ट हुन्छ।

ऊर्जाका लागि कोइला विश्वमा नै सर्वाधिक चीनले प्रयोग गर्छ। भारतको स्थान भने दोस्रो रहेको छ। कोइला सस्तो ऊर्जाको स्रोत भएकोले विकासशील राष्ट्रहरूले यसको व्यापक प्रयोग गर्छन। चीन र भारतको लागि कोइला त ऊर्जाको मूख्य सस्तो श्रोत हुन पुगेको छ। अर्कोतिर उपलब्ध ऊर्जाका स्रोतहरू मध्ये कोइलाले सर्वाधिक वातावरणलाई प्रदुषित पार्छ। ऊर्जाको रुपमा कोइला प्रयोग हुँदा वा कोइला बल्दा त्यसबाट निस्केको कार्बनले बातावरण कालो पार्ने मात्र होइन, पृथ्वीको तामक्रम बढाउने कार्य पनि गर्दछ। पृथ्वीको बढेको तापक्रमले हिंउ बढी पग्लिने, अति वर्षा हुने, बाढी आउने, पैरो जाने, समुद्री आँधी आउने, कोइला बल्ने स्थानमा स्वांस फेर्न कठिन हुने, फोस्को कालो हुने जस्ता समस्याहरू देखा पर्दछन।

चीनका केही यस्ता शहरहरू पनि छन वातावरण अति प्रदुषित भएकोले ती शहरका आकासहरू सदा कालो हुने गर्दछन। त्यहाँका बसिन्दाहरूको फोक्सो सामन्य व्यक्तिहरूको भन्दा बढी कालो रहेको पाइएको छ।

अति विकासको मूल्य चीनले आफ्ना नागरिकहरूको ज्यान दिएर चुकाएको छ। त्येही स्थिति भारतमा पनि आउने क्रममा छ। चीन र भारतको यो स्थितिले विकसित राष्ट्रहरुलाई झसंग पारेको छ। यो कारणल गर्दा पनि विश्व वातावरणलाई स्वथ्यकर राख्न एवं कोइलाको उपयोगमा कमी ल्याउन विश्वका नेताहरू तयार भएका छन्। कार्बन बिसर्जन कसरी कम पार्ने, कोइला उपयोग कसरी बन्द गर्ने, पृथ्वीलाई थप तातो हुन बाट कसरी जोगाउने, सफा ऊर्जाको प्रयोगमा कसरी वृद्धि गर्ने, गरिब राष्ट्रहरूलाई सफा ऊर्जा उत्पादन गर्न कसरी सहयोग गर्न जस्ता विषयहरूमा चर्चा गर्न अहिले विश्वभरिका नेताहरू स्कटलैण्डको ग्लास्गो शहरमा भेला भएका छन्।

संयुक्त अधिराज्यको स्कटलैण्ड राज्यको ग्लासगो शहरमा विश्व वातावरण सुधारका लागि अहिले सम्मलेन भइरहेको छ। सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घले वातावरण परिवर्तन ( विश्व वातावरण सुधार) बारे आयोजना गरेको यो सम्मेलनलाई ‘कप २६’ (COP26 – Conference of the Parties) ले सम्बोधन गरिएको छ। वातावरण परिवर्तनबारे छलफल गर्न राष्ट्रसङ्घबाट भएका सम्मेलनहरू मध्ये यो २६ औ सम्मेलन भएकोले यसलाई कप २६ भनिएको हो। गत अक्टुबर (सन् २०२१) को ३१ मा आरम्भ भएको यो सम्मेलन नोभेम्बर १२ (सन् २०२१) सम्म चल्ने छ।

विश्वका अनेक राष्ट्रका उच्च प्रशासक (राष्ट्रपति, प्रधान मन्त्री आदि) हरू ग्लासगोमा हुने यो सम्मेलनमा भाग लिन पुगेका हुनाले यो सम्मेलन कति महत्वपूर्ण रहेको छ भन्ने कुराको अनुमान गर्न सकिन्छ। भेला भएका विश्वका नेताहरूले मुख्य रुपमा विश्वमा सर्वाधिक कोइला प्रयोग गर्ने तिन राष्ट्रहरू पहिलो, दोस्रो र तेस्रो क्रमश: चीन, भारत र अमेरकालाई कोइलाको प्रयोग बन्द गर्न सल्लाह, सुझाव एवं दबाब समेत दिनेछन भनी अनुमान गरिएको छ। माथि उल्लेख गरिएका राष्ट्रहरू विश्वमा सर्वाधिक कार्बन बिसर्जन गर्ने राष्ट्रहरू पनि हुन। कोइलाको प्रयोग समाप्त पारेर सफा ऊर्जा प्रयोग गर्ने तर्फ अमेरिका लागि सकेको छ भने यो कार्य भारत र चीनको लागि सहज छैन। यो कारणले पनि चीन र भारतले कोइलाको प्रयोग बन्द गर्नेबारे बढी दबाब खप्नु परेको छ। भारत चीन दुबै अहिले नै कोइला उपयोगमा कट्टौति गर्न अनिच्छुक छन्। कोइला यी दुई राष्ट्रहरूका लागि ऊर्जाको सस्तो श्रोत हुन्।

पृथ्वी तात्ने क्रम तिब्र गतिमा बढ्नुको कारण चीन र भारतमा अति तिब्र गतिमा औधयोगिकरण हुनु र ती राष्ट्रहरुले कोइला बढी प्रयो गर्नु हो। यस्तो विश्वास गर्नेहरु धेरै छन्। यो सम्मेलनले पृथ्वीको तापक्रम वृद्धि हुने दर १ दशमलब ५ सी मा स्थिर राख्ने तर्फ जोड दिनेछ। साथै “अमेजन फरेस्ट” को संरक्षणबारे अनेक योजनाहरू पनि तयार पार्नेछ।

देशहरू अति धनी हुन पनि एक किसिमले तिब्र गतिमा विश्व वातावरण विनास हुनु हो। विश्व वातावरण झनै विषाक्त भएर जानु हो। ऊर्जाको परम्परागत श्रोत कोइलाले मात्र यो पृथ्वीलाई तताउने काम गरेको छैन, पेट्रोलियम पदार्थको अत्यधिक उपयोग, प्लास्टिक बिसर्जन आदिले पनि यो पृथ्वीलाई तताउने काम गरेका छन्। वातावणरलाई अति प्रदुषित पारेका छन्। अति विषायक्त पारेका छन्।

इलेक्ट्रोनिक्स वस्तु (कम्युटर- लैपटप, डेकस्टप, मोबाइल फोन, आइपैड आदि) हरूले पनि विश्व वातावरणलाई विषाक्त पार्नमा महत्वपूर्ण भूमिका खेलेका छन। उपभोक्ताहरूले छिटो छिटो कम्युटरको मोडेल परिवर्तन गर्ने, नया नया सेलफोन वा मोवाइल खरिद गर्ने कार्यले प्रयोग भएका पुराना इलेक्ट्रोनिक्स सामानहरू कहाँ र कसरी बिसर्जन गर्ने समस्या बिकराल हुन पुगेको छ। यी सामानहरू निर्माण गर्न प्लास्टिको प्रयोग व्यापक मात्रामा हुने भएकोले प्लास्टिक बिसर्जन, खास गरी गरिब मुलुकहरूको लागि विशाल समस्या हुन पुगेको छ।

हवाइ सेवाको अति विकासले गर्दा विश्वको एउटा कुनाबाट अर्को कुनामा एक वा दुई दिनमा सजिलै पुग्न सकिन्छ। हवाइ सेवाकको तिब्र विकासको कारणले गर्दा एकै दिनमा संसारभरि लाखौ बिमानहरू आकासमा उड्छन र वातावरणलाई विषाक्त पार्नमा थप योगदान पुर्याउँछन।

यो अति आधुनिक औद्योगिक एवं व्यापारिक युगले अनेक किसिमका सुविधाका वस्तु एवं सेवाहरू हामीलाई उपलब्ध गराएर हाम्रो जीवन सरल पारिदिएको त छ तर ती सेवा र सुविधाहरूको उपयोग गर्दा हामीले तिनको मूल्य पनि भुक्तान गर्नु परेको छ। अहिले हामी विषाक्त वातावरणमा बाँच्न बाध्य छौ। कारण के होला? कारण हामी सबैलाई भलिभाँति थाहा छ।


Loading comments...