के म नायक हुँ?


गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्यो, मैले पनि त्यो गर्नु पर्ने। कसैले कार किन्यो मैले पनि किन्नु पर्ने। न किने, मैले जिन्दगीमा केही गर्न नसकेको ठहर्ने। त्यति मात्र हो, कसैले आफैले कार चलाएर काठमाडौबाट पोखरा गएको रिताले सुन्नु मात्र पर्छ, म पनि त्यसै गरी काठमाडौबाट जानु पर्ने, न गए म हिम्मतहारा हुने। घरमा मेरा साथीहरु आएको बेला कुनैले भन्यो ऊ पि यच डी गर्दै छ, मैले पनि पि यच डी गर्नु पर्ने। मैले पि यच डी गर्ने सुर देखाई न भने म गफ मात्रै लगाउने तर पढाईमा कमजोर रहेको प्रमाणित हुने। कसैले काठमाडौमा अर्को घर किन्यो मैले पनि किन्नु पर्ने, किन्न नसके म जिवनमा असफल भएको अर्थ लगाउन गार्यो नहुने, रितालाई। निष्कर्षमा भन्ने हो भने म हिन्दी फिल्मको हिरो हुनु पर्ने मेरो वाइफको लागि। हिन्दी फिल्मको हिरोले जे पनि गर्न सक्ने जस्तै मैले पनि गर्न सक्नु पर्ने, जे पनि। हिन्दी फिल्मको हिरोले एक्लैले मुख्य भिलेन र उसका बिसौं सहायकहरुलाई पछारेर आफू शक्तिसाली रहेको प्रदर्शित गरे झै मैले पनि आफू त्यो हिरो जत्तिकै शक्तिसाली रहेको रितालाई व्यवहारद्वारा देखाउनु पर्ने। म सबै ठाउँमा अग्र स्थानमा हुनु पर्ने र त्यस्तो हुन नसके म हुत्तिहारा त भएँ भँएँ तर त्यो भन्दा पनि बढी रितालाई एक हुत्तिहाराको वाइफ हुनु परेको ग्लानीले चिमोट्ने। उनको प्रतिष्ठामा क्षति पुग्ने। म त मेरो वाइफको यस्तो मनोविज्ञानबाट वाक्क भइ सके। छ त्यस्तो कुनै उपाय, उनको यस्तो मनोविज्ञानमा परिवर्तन ल्याउन सकिने, हँ कमल?’

लेखकः विश्वराज अधिकारी

गोकुलले फेरि भने ‘कमल, मैले मेरो बाइफलाई धेरै पटक भनिसकेको पनि छु, हेर म सामान्य मान्छेले तिम्रो हरेक चाहना पूरा गर्न सक्तिन। मैले तिम्रो हरेक त्यस किसिमको चाहना पुरा गर्न म हिरो हुनु नै हुनु पर्दछ, हिन्दी फिल्मको। हिरो भए भने मात्र मैले तिमीले जे इच्छा गरे पनि त्यो पूरा गर्न सक्छु। तर एउटा कुरा के याद राख भने संसारमा त्यस्तो मान्छे भेट्न सकिँदैन जसले आफूले इच्छा गरेको सम्पूर्ण कुरा हासिल गर्न सकोस वा धेरै कुरा एकै चोटी गर्न सकोस। हरेक व्यक्तिको क्षमताको एउटा निर्धारित सीमा हुन्छ। एक सफल डाक्टर एक सफल साहित्यकार एक सफल राजनीतिज्ञ, एक सफल चित्रकार, सबै कुरा एकै पटक हुन सक्तैन। र यदि उसले त्यस्तो हुन चाहन्छ भने न त ऊ एक सफल डाक्टर हुन सक्छ न त साहित्यकार नै। यसै गरी न त एक सफल राजनीतिज्ञ नै हुन सक्छ। बरु त्यस्तो चाहना राख्ने व्यक्ति डिप्रेसनको सिकार हुन्छ। त्यस्ताले सुख र उल्लासमय यो जिवनलाई पनि अभिषप्त तुल्याउँछ। त्यसैले, मनमा आए जतिका तिम्रा सबै चाहनाहरु मैले पूरा गर्न सकौं भनी तिमीले संधै यसरी नै चिताउने गरेमा एकातिर म लघुताभाषको दलदलमा भास्सिदै जान्छु भने अर्कोतिर तिमी धकेलिने छेउ कुन्ठाको भव सागरमा।’

म ध्यान दिएर गोकुलको कुरा सुन्दै थिएँ। गोकुलका कुराहरु मलाई रोचक लागि रहेका थिए अनि म केही आश्चर्यमा पनि थिएँ मेरो र गोकुलको स्थितिमा केही समानता देखिएकोमा। मैले पनि त्यस्तै स्थितिको सामना गर्नु परेको छ। मेरो वाइफ पद्माले पनि त्यस्तै इच्छा राख्छिन, मैले सबै किसिमको काम गर्न सक्नु पर्छ भनी मलाई दबाब दिन्छिन, जहिले पनि। म सोंच्नमा तल्लिन भए केही क्षण। गोकुलका कुराहरु मेरो कानमा परि रहे तापनि मेरो ध्यान भने म र पद्मा बसरे कुरा गर्दा उनले जहिले पनि मेरो सफलताको प्रशंसा गर्नुको साटो मेरो असफलता खोजी खोजी मेरो ओलोचना गर्ने उनको व्यवहार तिर गयो। म गोकुलको कुरा सुन्न पट्टि न लागेर कुनै अन्य विषय सोँच्नमा तल्लिन भएको अनुमान गर्दै गोकुलले भने “कमल, तिमी मेरो कुरा ध्यान पूर्वक सुनि रहेका त छौ, कि अलमलियौ अरु नै कुनै विषयमा?” म गोकुलको भनाईबाट झसँग भए। तर आफ्नो त्यस्तो स्थितिलाई जाहेर हुन भने दिन। मैले सानो झूठको सहारा लिँदै भने- होइन, होइन, गोकुल, म तिम्रो कुरा एकदमै ध्यान पूर्वक सुनि रहेको छु। बरु तिम्रा कुराहरुलाई म अलि गहिरो गरी सोंच्दैल थिएँ। अँ, भन। अनि …………………।

गोकुलले म उनको कुरामा केही क्षण केन्द्रित न भएको चाल पाएनन्। म उनकै कुरामा केन्द्रित भएकोमा ढुक्क भए। गोकुलले मतिर हेर्दै भने “म त मेरो वाइफको त्यस्तो व्यवहारबाट थाकि सके। उनको त्यस्तो व्यवहारमा परिवर्तन ल्याउन केही नगरी भएको छैन। तर सोँच्दै छु गरौं त के गरौं।”

आँखामा खुसीको भाव झल्याउँदै मैले भने- गोकुल, मसँग एउटा योजना छ। यसौ गरौ……….., अँ अँ…………..। हेर, मेरो वाइफको पनि कुनै काम छैन। तिम्रो वाइफो पनि कुनै काम छैन। दुबै जनालाई काम लगाई दिऔ, कतै कुनै अफिसमा। हँदैन?

मेरो योजना सुने पछि गोकुलले निरासा मिस्रित स्वरमा भने ‘हेर, कमल, म परे नीजी कलेजको टिचर, मैले कहाँ चिन्नु त्यस्ता मान्छेहरु जसले मेरो वाईफलाई जागिर लगाई देऔस।’

मैले भने- म मिलाउँछु सबै चाँजोपाँजो, मेरो एउटा साथी एउटा प्राइभेट बैकको हर्ताकर्ता जस्तै छ, उसैलाई भन्नु पर्ला, दुबै जनालाई जागिर लगाइ दिन, मेरो वाइफलाई र तिम्रो वाइफलाई पनि।

मेरो वाइफ पद्मा र गोकुलको वाइफ रिता, अर्थात रिता भाउजु, दुबै जनाले मेरो एक साथी हर्ताकर्ता रहेको बैंकमा काम गरेको एक महिना भन्दा बढी भइ सकेको थियो। तर कामको ब्यस्तताले गर्दा मैले गोकुललाई भेट्न सकेको थिन। गोकुललाई भेट्ने मात्र होइन, मेरो वाइफ पद्मासंग समेत सँगै बसेर राम्रो गरी कुरा कानी गरेको एक महिना भन्दा बढी भइसकेको थियो। खासमा म एक महिनाको लागि बीरगंज गएको थिएँ अफिसको काममको सिलसिलामा। संयोग नै भन्नु पर्ला, म बीरगंजको एक महिनाको बसाई सक्याएर काठमाडौ आइ पुग्दा, आफ्नो घर पुग्नु भन्दा पहिले नै गोकुलसँग भेट भयो, बाटोमा। हाल खबर यता उता केही न सोधी मैले गोकुललाई हत्तारिँदै प्रश्न गरे- गोकुल, रिता भाउजुको त्यो किचकिचे ब्यवहारमा कुनै परिवर्तन आयो, कि आएन, जागिर गर्न थाले पछि? मेरो प्रस्नको उत्तर दिनु भन्दा पहिले गोकुल केही बेर हाँसै अनि त्यस पछि भने ‘निकै परिवर्तन आएको छ। आज भोलि त्यस किसिमबाट किचकिच गर्न छाडेकी छिन, रिताले। तर कसरी भयो त त्यस्तो, हँ? किन आयो त उनमा त्यस किसिमको परिवर्तन, मैले केही बुझ्न सकेको छैन?’

गोकुलले मतिर हेर्दै फेरि भने ‘मैले तिम्रो त्यो योजनामा सहमति डराउँदै डराउँदै जनाएको थिएँ। मलाई यो डर थियो कि घर भित्र बस्दा त रिता का इच्छा र आकांक्षाहरु त्यति चुलिएका थिए। अफिसमा, त्यो पनि बैंकमा काम गर्न गए पछि, दस थरिका मान्छलाई देखे, भेटे पछि त झन उनका इच्छा र आकांक्षा अझै चुलिने छन र मलाई उनीले गर्ने किच किचका विषयहरु पनि उत्तिकै मात्रामा बढ्ने छ, ह्वात्तै। तर त्यस्तो भएन। रिता काममा जान थाले पछि उनको ब्यवहारमा पहिले भन्दा निकै सकारात्मक परिवर्तन आएको छ। अब पहिले जस्तो संधै किच किच गर्दिनन्, यो गर्नु, त्यो गर्नु भनेर, म उनको अगाडि पर्ने बित्तिकै। एक किसिमले भन्ने हो भने किच किच गर्न नै बन्द गरेकी छन, रिताले’ यति भनेर गोकुल केही क्षण शान्त भए। तर फेरि केही सम्झै झै गरी भने ‘हँ कमल, भन त, कसरी आयो रितामा त्यस किसिमको परिवर्तन, अफिसमा काम गर्न थाले पछि? हँ कमल…………………?’

मैले हाँस्दै जबाफ दिएँ- हेर, गोकुल, खासमा मैले तिमीलाई पनि सम्पूर्ण कुरा खुलस्त पारेको थिन। पुरा बेलि बिस्तार लगाएको थिन। अब चाँहि भन्छु। मैले मेरो एउटा साथी, जो एउटा बैंकमा हर्ताकर्ता छ भनेको थिएँ नि, हो उसलाई मैले आग्रह गरेको थिएँ, पद्मा र रिता भाउजुलाई उसको बैंकमा काम लगाइ दिन भनेर। अनि यो पनि आग्रह गरेको थिएँ, उसको बैकमा काम लगाउँदा त्यस्तो डिपार्टमेन्टमा काम दिनु जसमा एउटा समयमा, कम समयमा धेरै काम गर्नु पर्ने होस, काम गर्नेले। अर्थात मल्टाई टास्किङ्ग किसिम होस । आखिरमा भयो पनि त्यस्तै नै। त्यो मित्रले रिता भाउजु र पद्मा, दुबै जनालाई उसको बैंकको अति नै ब्यस्त विभाग, ग्राहक सेवा विभागमा काम लगाई दियो। त्यो विभागमा काम गर्ने कर्मचारीले छोटो समयमा र एकै समयमा त्यहाँ आउने धेरै ग्राहकहरुको एकाउन्टमा कति बैलेन्स छ हेरि दिनु पर्ने, नयाँ खाता खोल्नु पर्ने, खाता बन्द गर्न चाहनेहरुको खाता बन्द गरि दिनु पर्ने, चेक इस्सु गर्नु पर्ने, रकम जम्मा गर्न आउनेहरुलाई सहयोग गर्नु पर्ने जस्ता थुप्रे कामहरु न हतारिएर, न अत्तालिएर गर्नु पर्ने। रिता भाउजु र पद्माले त्यो विभागमा काम गर्न भ्याइ न भ्याइ भयो र अहिले पनि भइ रहेको छ रे। आउने ग्राकहरुले झर्को मानेर रिता भाउजु र पद्मालाई अनेक किसिमका कुराहरु भन्थ्ये, किच किच गर्थ्ये, रिसाउँथे र अहिले पनि त्यो सिलसिला जारि नै छ। केहीले त बैंकको प्रमुख कहाँ गएर गुनासो पत्र समेत बुझाँए रे, कस्तो जुम्सो कर्मचारी त्यस्तो महत्वपूर्ण ठाउँमा राखेको भनेर, रिता भाउजु र पद्माको नाम तोकेर। एउटा बैकको जाबो एउटा सानो बिभागमा रहेर रिता भाउजु र पद्मा, दुबै जनालाई काम गर्न निकै गार्हो भइ रहेको छ। अब आफै अनुमान गर के भएको होला र के कुराले परिवर्तन ल्याएको होला दुबै जनामा, खास गरी रिता भाउजुमा। यति भनेर म केही बेर हाँसे। मेरो कुरा सुनेर गोकुल पनि हाँसे केही बेर।


Loading comments...