आर्थिक शक्ति नै महाशक्ति


शैन्यशक्ति र हतियारको बलमा राष्ट्रहरू शक्तिसाली हुने समय अब रहेन। केही दसक पूर्वसम्म भने त्यो स्थिति थियो। त्यो समयमा तत्कालीन सोभियत रुसले विश्वका अनेक राष्ट्रहरूमा शैन्य बलको प्रयोग गरेर आफ्नो प्रभुत्व कायम गरेको थियो। अमेरिकाले पनि शैन्य बल प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्र भित्र राख्ने प्रयास गर्यो। तर अहिले भने शैन्य बल – रणनीतिमा परिवर्तन आएको छ। अहिले शक्तिसाली राष्ट्रहरूले शैन्य शक्तिले होइन आर्थिक शक्तिले विभिन्न राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्ने प्रयास गरिरहेका छन्। अमेरिका, चीन, युरोपियन युनियन आदिले आर्थिक शक्ति प्रयोग गरेर अनेक राष्ट्रहरूलाई आफ्नो अनुकूल हिंड्न बाध्य पारेको हामीले देख्दै आइरहेका छ। यहाँसम्म कि कतार जस्तो अति सानो मुलुकले पनि केवल आफ्नो आर्थिक शक्ति प्रयोग गरेर विभिन्न मुलुको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको छ। खाडी क्षेत्रमा एक शक्तिसाली राषट्रको रुपमा उदाएको छ। केही दसक पहिले सम्म विश्व मानचित्रमा कतार भन्ने राष्ट्र कहाँ छ भन्ने कुरा धेरैलाई थाहा थिएन।

लेखकः विश्वराज अधिकारी

यो लेख आरम्भ भने सुडानको ताजा राजनीतिक घटनाबाट गरौ। सुडानको बर्तमान सरकारलाई सेनाले केही दिन पहिले मात्र विस्थापित गरेको छ। समाचारहरूले सुडानको सेनाले शैनिक शासन लागू गरेको उल्लेख गरि रहेका छन्। सुडानी सेनाका केही अधिकारीहरूले भने सेनाको यो कदमलाई नागरिक सरकार स्थापना गर्नका लागि चालिएको प्रारम्भिक कदम भन्दै छन। यो शैनिक सत्ता पलट (military coup) होइन भन्दै छन्। यथार्थमा भने सेनाले सुडानामा सत्ता पलट गरेको नै हो। सत्ता आफ्नो हातमा लिएको हो।

सुडानी सेनाको यो कदमलाई अमेरिकी प्रशासन र युरोपियन युनियनले पटक्कै मन पराएको छैन। अमेरिकाले सुडानी सेनाका अधिकारीहरूलाई चेताबनी स्वरुप तत्काल सुडानी नेताहरूको रिहाइ गर्न एवं अपदस्त गरिएको सक्रमणकालीन सरकारको बहाली गर्न भनेको छ। साथै सुडानी शेनालाई त्यहाँ भइरहेको रक्पातबाट अलग रहन भनेको छ। त्येति मात्र होइन, अमेरिकाले सुडानलाई सहयोग स्वरुप दिने भनेको ७०० मिलियन डरल पनि अहिलेलाई रोक्का गरेको छ। अमेरिकाले सुडानी सेनालाई रोक्न आर्थिक जंजिर तानेको छ।

लामो समयसम्म अनेक द्वन्दको चपेटमा परेर सुडानको आर्थिक स्थिति दयनीय हुन पुगेको छ। विदेश जान सक्ने स्थितिमा रहेका अनेक पढेलेखेका युवाहरूले सुडान छाड्ने क्रम जारि छ। सुडानमा अहिले गरिब र हाहाकार छ। यस्तो अवस्थमा अमरिकाले सुडानलाई दिने आर्थिक सहयोग रोक्का गर्नु सुडानको हाल वा आउने सरकारलाई थप समस्या हुनेछ। अर्को शब्दमा भन्ने हो भने, यदि सेनाले नै सुडानको प्रशासन हातमा लिएमा उसलाई देश भित्र आइपर्ने अनेक आर्थिक संकट समाधान गर्न गाह्रो पर्नेछ। सेनाले सुडानमा शासन गर्ने कठिन हुनेछ। अन्तत्वगत्व, सुडानको सेनाले अमेरिका निर्देशन मान्न बाध्य हुनु पर्नेछ। सुडानी सेनालाई अमेरिकाको प्रभावमा आउन अमेरिकाको आर्थिक शक्तिले बाध्य पार्ने छ।

अमेरिकाले कुनै पनि किसिमको शैन्य बल प्रयोग नगरेर पनि अनेक राष्ट्रहरूमा आफ्नो राजनीतिक प्रभाव कायम गर्न सक्छ। आर्थिक शक्ति कति बलियो हुने गर्दछ भन्ने यथार्थ उल्लेख गर्नका लागि सुडानको स्थिति प्रस्तुत गरिएको हो। अमेरिकाले शैन्यशक्ति होइन आर्थिक शक्ति प्रयोग गरेर सुडानको राजनीतिलाई प्रभावित पार्ने क्रम जारि नै रहने छ।

अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध (Economic sanctions) ले गर्दा इरानको आर्थिक स्थिति अहिले संकटग्रस्त हुन पुगेको छ। यदि इरानसङ्ग तेल (petroleum products) नभएको भए र इरानलाई चीन र रुसको समर्थन नरहेको भए गरिबकीको कारणले अनेक किसिमक विद्धंसहरू भएर इरानको इश्लामिक सरकारको उहिले पतन भइसकेको हुन्थ्यो। आर्थिक समस्या धान्न कुनै पनि राष्ट्रलाई अति नै कठिन हुन्छ।

यो आलेखमा कुनै पनि देश आर्थिक स्थितिले बलियो भएमा उक्त राष्ट्रले आफ्नो राजनीतिक प्रभावको कतिसम्म र कसरी प्रयोग गर्न सक्छ भन्न कुरा तर्क र प्रमाण सहित प्रस्तुत गर्न खोजिएको हो।

एक अर्को प्रशंगमा, चीनले पनि अहिले यही रणनीति (आर्थिक रुपमा बलियो हुने) अबलम्बन गरेको उसको व्यवहारदावारा प्रस्ट हुँदै गएको छ। चीनले तिब्बत भित्र सुषुप्त रुपमा चलेको ‘स्वतन्त्र-तिब्बत आन्दोलन’ मथ्थर पारेर कालान्तरमा समाप्त पार्न तिब्बत भित्र शैन्य शक्ति प्रयो गरेको छैन, अपितु तिब्बतमा आर्थिक खुसहाली ल्याउने तर्फ जुटेको छ। तिब्बतको आर्थिक स्थिति माथि उकास्न अहोरात्र लागेको छ। चीनको केन्द्रिय प्रशासनले तिब्बतलाई चीनको प्रमुख बजारहरूसँग प्रत्यक्ष रुपमा जोडन लागि परेको छ। तिब्बतमा आर्थिक समृद्धि आएपछि तिब्बतीहरूले ‘स्वतन्त्र तिब्बत’ को आफ्नो आन्दोलन र नारा बिर्सेर जाने छन् भन्ने कुरामा चीनिया उच्च प्रशासकहरूलाई बलियो गरी विश्वास छ।

चीन अहिले अफ्रिकाका अनेक राष्ट्रहरूमा व्यापार गर्न पुगेको छ। चीनले यति सम्म चलाखी गरेको छ कि उसले अहिले भारतसङ्गको आफ्नो परम्परागत शत्रुतालाई बिर्से जस्तो गरेको छ। बरू भारतसँगको व्यापारमा उसले जोड दिएको छ। भारतसँग राम्रो सम्बन्ध कायमा गरेमा भारताबाट निकै आर्थिक फाइदा उठाउन सकिन्छ भन्ने कुरामा चीनलाइ जति बढी विश्वास छ त्यो भन्दा बढी आर्थिक रुपमा अत्यधिक बलियो भएमा भारतलाई पनि आफ्नो कठपुतली बनाउन सकिन्छ भन्ने कुरा चीनलाई विश्वास छ। चीन सर्व प्रथम आर्थिक रुपमा बलियो हुन चाहन्छ। आर्थिक रुपमा बलियो भए पछि अमरिका जस्तै शक्तिसाली हुन सकिन्छ भन्ने कुरा चीनलाई राम्रो गरी थाहा छ। चीन अहिले आर्थिक रुपमा अति बलियो हुन दत्त चित्तले लागेको छ। कुनै बेला जापानको उपनिवेस रहेको चीनले अहिले जापानलाई धम्क्याउने गरेको छ। चीनबाट त्रसित भएर जापान अमेरिकाको शरणमा पुग्नु परेको छ।

आर्थिक रुपमा बलियो हुने दौडमा अहिले चीन मात्र होइन, भारत, ब्राजिल, रुस, दक्षिण अफ्रिका जस्ता राष्ट्रहरू पनि लागेका छन्। आर्थिक रुपमा बलियो भएमा अन्य राष्ट्रहरूलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न सकिन्छ भन्ने सबैलाई बलियो गरि बोध भएको छ। स्मरण रहोस, चीन र भारत एशिया आर्थिक शक्ति हुन भने रुस युरोपको। त्यसै गरी ब्राजिल दक्षिण अमेरिकाको आर्थिक शक्ति हो भने दक्षिण अफ्रिका अफ्रिकाको आर्थिक शक्ति हो। रुसले युरोका केही देशहरूलाई ऊर्जा निर्यात नगर्दा युरोपका ती देशहरूमा हाहाकार मच्चिएको थियो। यो घटना केही हप्ता पहिले मात्रको हो।

यो युग आर्थिक शक्तिको युग हो। शैन्य शक्तिको युग होइन। त्येति मात्र होइन, आर्थिक रुपमा कमजोर हुनासाथ ठूला राष्ट्रहरूले साना राष्ट्रहरूमाथि थिचोमिचो गर्ने युग हो, भारतले नेपालमाथि थिचिमिचो गरेझै। आर्थिक कारणले गर्दानै पनि भारतलाई नेपालमाथि सँधै थिचिमिचो गर्न सजिलो भएको छ। हुन पनि भारतले एक महिना मात्र पनि आफ्ना नाकाहरू बन्द गर्न हो भने नेपालमा आर्थिक संकट उत्पन्न हुन सक्छ। भोखमरी आउन सक्छ।

आर्थिक रुपमा बलियो हुने सपना हामी नेपालीहरूले कहिले पनि देखेनौ। देखौ के त केलव राजनीतिक लडाइ, झगडा, सत्ता परिवर्तनका लागि खेलिने अनेक सपनाहरू। हाम्रो समय केलव राजनीतिक दाउपेंचमा बितेको छ। हामी सँधैभरी अनेक राजनीतिक दाउपेंच संचालन र सत्ता परिवर्तनमा लागिरहने हो, राष्ट्रिय राजनीतिलाई यसरी नै हामीले सँधै अस्थिर पारिनैरहने हो भने हामी अझै एकसय वर्षसम्म भारतको प्रभाव क्षेत्रभित्र रहिनै रहने छौ। भारतले हामीलाई थिचोमिचो गरिनै रहने छ। हाम्रो राजनीतिमा भारतले प्रत्यक्ष रुपमा प्रभाव पारिनै रहने छ।

भारतको राजनीतिक प्रभाबबाट हामी बाहिर हुन हामीले आर्थिक प्रगति गर्न आश्वक छ। हामी आर्थिक रुपमा बलियो भयौ भने मात्र भारत, चीन आदिको आर्थिक प्रभाबबाट बाहिर आउन सक्छौ। हामीले स्वतन्त्र किसिमले राष्ट्रिय आवश्वकताका विषयहरूमा निर्णय लिन सक्छौ। जति जति हामी आर्थिक रुपमा कमजोर हुँदै जाने छौ त्येति नै हामी भारत, चीनको नियन्त्रण भित्र पर्दै जाने छौ। आर्थिक रुपमा हामी अति कमजोर भएमा भोलि भारत र चीन मात्र होइन, भुटान जस्तो सानो राष्ट्रले पनि नेपालमाथि नियन्त्रण गर्ने सपना देख्ने छ।

हामी आर्थिक रुपमा बलियो हुनु पर्छ भन्ने यथार्थ हाम्रा राजनीतिक नेताहरूलाई बोध हुन आवश्यक छ। नेताहरू भन्दा नेपाली जनतालाई बोध हुन आवश्यक छ। नेताहरूको छनौट जनताले नै गर्ने हो। जनता जस्तो हुन्छ राष्ट्रिय राजनीति पनि त्यस्तै हुन्छ।


Loading comments...