Lifestyle Portal
  •   १४ मंसिर २०७८, मंगलवार

हामी कुरीतिको जंजिरले जकडिएका छौं

१ मंसिर २०७८, बुधबार १५:३३

कुनै व्यक्तिलाई मन्दिरमा पस्न निषेध गरिन्छ। उक्त व्यक्तिले मन्दिरमा बलपूर्वक प्रवेश गर्न खोज्दा उसलाई कुटी कुटी मारिन्छ। तथाकथित माथिल्लो जाती भनिएको युवतीसङ्ग तल्लो जातीको युवकले प्रेम विवाह गर्दा उक्त युवकको विभत्स किसिमले हत्या गरिन्छ। कुनै महिलामाथि ऊ बोक्सी भएको आरोम लगाइन्छ। निर्घात कुटेर उसलाई मल मुत्र खोइन्छ। त्येतिमात्र होइन, भीड तन्त्रले उक्त महिलालाई सजाएँ दिने भन्दै बोक्सी आरोपित निज महिलाको हत्या समेत गरिदिन्छ। गतिलो दाइजो नल्याएको रिसको झोंकमा वर्षेनी कति युवतीहरूले ज्यान गुमाउनु पर्छ, त्यसको ठीक लेखा जोखा स्थानीय सरकारसंग पनि छैन। हामी यस्ता कुरीतिका अनेक जंजिरमा जकडिएका छौ। यी कुरीतिका जंजिरहरूले हामीलाई आर्थिक समृद्धिका दिशातिर लम्कन दिइरहेको छैनन। परिणामस्वरूप आर्थिक विकासको पथतिरको हाम्रो यात्रा कछुवा चालमा सीमित हुन पुगेको छ।

लेखकः विश्वराज अधिकारी

तर हामी विश्वका धनी राष्ट्रहरू सरह धनी हुने सपना देख्छौ। अमेरिका, फ्रान्स, जर्मनी, ग्रेट ब्रिटेन जस्तो नेपालले आर्थिक समृद्धि प्राप्त गर्न नसकेकोमा हाम्रा नेताहरूलाई हामी गाली गर्छौ। दलहरूमाथि रिस पोख्छौ। देशको राजनीति भद्रगोल भएर गयौ भन्दै आक्रोसित हुन्छौ। सारा दोष अरूलाई दिएर आफू निर्दोष रहेको मान्ने हाम्रो सामाजिक संस्कार जस्तो भइसकेको छ। तर देशमा जे जस्ता गतिविधिहरू भइरहेका छन, नेताहरूमा जे जस्तो विचलनहरू आएको देखिएका छन्, राष्ट्रिय राजनीति उठ्न नसक्ने गरी जसरी अनैतिकताको दलदलमा फँस्न गएको छ, देश धनी होइन झनै गरिब हुने जुन स्थिति देखिएको छ, त्यसका लागि हामी देशबासीहरू नै जिम्मेवार हो। राष्ट्रिय राजनीति र नेताहरूलाई दोष दिएर हामी उम्किनु खोज्नु हामीले हाम्रो जिम्वारी बहन नगर्नु हो। हाम्रो कुरीतिहरूले हामीलाई यसरी थिचेको छ कि हामी उठ्न अझै पाचासौं वर्ष लाग्न सक्छ। हामी यस्ता कुरीतिहरू समाप्त गर्नतिर लाग्नुको सट्टा त्यस्ता कुरीतिहरूलाई संरक्षण दिइरहेका छौ। त्यस्ता कुरीतिहरूको प्रवर्धन गरिरहेका छौ।

हाम्रा वरिपरि रहेका अनेक त्यस्ता कुरीतिहरू मध्ये एकको यस आलेखमा एकको चर्चा गरौं।

समाचारहरूमा उल्लेख भए अनुसार हालै सम्पन्न ( २०७८ साल) चाड दशैंमा नेपाल राष्ट्र बैंकले करिब ५० अर्ब बराबरको नयाँ नोट प्रचलनमा ल्याएको थियो। यो नया नोट दशैंको मुखमा बजारमा ल्याउन किन आवश्यक पर्यो? यो नया नोटको माग कसले गर्यो? माग गर्नेले के प्रयोजनका लागि नयाँ नोटको माग गर्यो? यी प्रश्नहरूको उत्तर ज्यादै सरल छन्। यी प्रश्नहरूको उत्तर थाहा पाउन धेरै चिन्तन मनन गर्न पर्दैन।

दशैमा नया नोटहरूको प्रयोग दक्षिणा दिन र लिनका लागि हुन्छ। अन्य धार्मिक विधि वा प्रयोजन बाहेक दशैंमा दक्षिणा लिनु र दिनु दुबै खराब पद्धति हो। कुरीति हो। अति खर्चिलो सामाजिक संस्कार हो। दक्षिणा लिने र दिने कार्यले समाजलाई अनेक विकृतितिर लान्छ। खासमा भन्ने हो भने सरकारले यसरी दशैंका लागि नै भनेर नया नोट सटही गर्ने सुविधा दिनु हुँदैन। सरकारले नया नोट सटही गर्ने सुविधा दिएर समाजमा कुरीति फैलाउन सहयोग पुर्याएको ठहर्छ। सरकारमा रहेका उच्च पदाधिकारी (मन्त्री, सचिव) हरूमा आर्थिक ज्ञानको अभावले गर्दा यस किसिमको कुरीतिले निरन्तरता पाएको हो। यो व्यवस्था (नेपाल राष्ट्र बैंकले नया नोट सटही गर्न दिने) वर्षौदेखिं चल्दै आएको छ। यो व्यवस्था समाप्त गर्नु पर्छ। दशैंको लागि नै भनेर नया नोट सटही गर्न दिने प्रथा समाप्त पार्नु पर्छ।

पुन: माथिको अंकमा जाऔ। दशैमा ५० अर्ब बराबरको नया नोट सटही हुनुले गत दशैंमा लगभग ५० अर्ब बराबर दक्षिण लेनदेन भएको संकेत गर्छ। हुन पनि दशैमा ठूलो सङ्ख्यामा व्यक्तिहरू दक्षिणा दाताका रुपमा देखिन्छन भने सोही अनुसार प्राप्तकर्ताहरू पनि देखिन्छन। दक्षिणाको रुपमा ज्यादै ठूलो रकम लेनदेन हुन्छ।

यहाँ विचारणीय कुरा के छ भने जो सङ्ग राम्रो आम्दानी छ उसले त दक्षिणा दिन सक्छ तर जसको आम्दानी राम्रो छैन उसले कसरी आफूसङ्ग टिका लगाउन आउनेहरूलाई दक्षिणा दिने? यस्तो स्थितिमा कमजोर आर्थिक स्थिति हुनेहरूले दक्षिणा दिनका लागि नै भनेर पनि ऋण लिनु पर्छ। र अर्कोतिर स्पष्ट छ, नेपाल एक गरिब राष्ट्र हो, जहाँ गरिबहरूको संख्या ठूलो छ। यसरी गरिबहरूको लागि दक्षिणा दिनु पर्ने स्थिति ऋणमा डुब्नु पर्ने बाध्यता हुन पुग्छ। र त्यसरी ऋणमा डुब्ने व्यक्ति कर्मचारी हो भने उसले घुस खाएर भए पनि आफूले लिएको ऋण चुक्ता गर्ने जोगाड गर्छ। घुमाउरो अर्थमा भन्ने हो भने समाजिक संस्कार (दक्षिणा लिनेदिने) ले नै व्यक्तिहरूलाई घुस खान बाध्य पार्छ। यदि त्यस्तो व्यक्ति कर्मचारि होइन भने, र बाध्यतामा परेको छ भने, उसले चोरी वा पाकेटमारी गर्न सक्छ।

अर्कोतिर केवल स्वार्थको राजनीतिमा लागेका प्रशासक (नेता) हरूले नया नोट सटही गर्ने सुविध दिएर समाजमा आर्थिक भ्रष्टाचार वृद्धि हुने आधारभूमि तयार पार्छन।

दक्षिणाको महिमा यति मात्र सीमित रहँदैन। यसले कुन पक्षलाई र कुन किसिमले असर पार्छ त्यसबारे पनि चर्चा गरौ। दशैंमा मोटो क्षणिक्षा दिनेको हैसियत समाजमा राम्रो मान्ने गरिन्छ र उसले समाजमा इज्जत पनि बढि पाउँछ। यसैगरी कम दक्षिणा दिनेहरूको हैसियत राम्रो मान्ने गरिंदैन र उसले समाजमा इज्जत पनि कम पाउँछ। यस्ता कुराहरू प्रष्ट रुपमा त देखिंदैन तर व्यक्तिहरूको कुरागराइबाट यो तथ्य अनुभूत गर्न सकिन्छ। यो कारणले गर्दा पनि, राम्रो आर्थिक आम्दानी नहुनेले पनि, समाजमा आफ्नो हैसियत उच्च राख्न, दक्षिणा दिने प्रयोजनका लागि नै ऋण लिन्छ। अनावश्यक रूपमा कुनै ठोस आवश्कता नभएर पनि ऋणको भार बोक्न बाध्य हुन्छ। त्यसैले पनि भन्ने गरिएको हो “आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ”

अब अर्को तथ्य तर्फ लागौ। समाचार (कान्तिपुर देनिक-आश्विन २७, २०७८) मा उल्लेख भए अनुसार राष्ट्र (नेपाल राष्ट्र बैंक) ले प्रत्येक वर्ष करिब ३ अर्ब रुपैंया नोट छपाइ, वितरण र व्यवस्थापनमा खर्च गर्छ। माथिको अंकले प्रष्ट पार्छ कि नया नोट सटही गर्नका लागि भनेर नै राष्ट्रले ठूलो रकम खर्छ गर्छ। पुराना, च्यातिएका, काम नलाग्ने नोटहरूलाई विस्थापित गर्नका लागि नया नोटहरू छाप्नु र प्रयोगमा लायाउनु उचित हो तर दशैंको लागि भनेर, कुरीति वृद्धि गर्नका लागि नया नोट निष्कासन गर्नु र सटही सुविधा उपलब्ध गराउनु अति नै अनुचित हो। दशैंका लागि नै भनेर नया नोट छाप्न र वितरण गर्न लाग्ने रकम राष्ट्रले अन्य विकास एवं निर्माणको कार्यमा खर्च गर्नु उचित हुन्छ र गर्नु पर्छ पनि।

दशै सद्भाव र प्रेम आदान प्रदानको पर्व हो। यो पर्वमा सामाजिक सद्भाव सक्रिय हुनु पर्छ तर सक्रिय पैसा भइ रहेको छ। यस्ता अनेक कुसंस्कार र कुरीतिहरू छन, जसले नेपाली समाजलाई आर्थिक रुपमा समृद्ध हुन दिइरहेका छैनन।

हाम्रो गरिबी र हाम्रा कुसंस्कार तथा कुरीतिहरू बिच गहिरो सम्बन्ध छ। यो तथ्यलाई माथि वर्णनन गरिएका यथार्थहरूले पुष्टि गर्छन।

देश केवल स्रोत र साधनहरूको अभावमा गरिब हुने होइन। धन सम्पत्ति र रुपैया, पैसाको अभावमा पनि गरिब हुने होइन। कुरीति र कुसंस्कारले कुनै पनि राष्ट्रलाई गरिब तुल्याउनमा ठूलो भूमिका खेलेको हुन्छ। उदाहरणको रुपमा हाम्रो नजिकको छिमेकी राष्ट्र अफगानिस्तानलाई नै लिन सकिन्छ।। अफगानिस्तानमा पुन: तालिबान सत्तामा आएदेखि तालिवानी नेताहरूले महिला शिक्षा निषेधित गरेका छन्।

आर्थिक समृद्धि हासिल गर्न हामीले कुसंस्कार, कुरीति परित्याग गर्नुको विकल्प छैन्।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ