भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा दुई नवनिर्मित विद्यालय उद्घाटन


भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको मिति २०७८ मंसिर १२ गतेका दिन भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गर्नुभयो । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् । यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउनेछ ।

सोही दिन भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. २ करोड ३३ लाख आर्थिक सहयोग दार्चुला जिल्लाको महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी.खम्पा, महाकाली नगरपालिका, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुद्वारा उद्घाटन गरियो । सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो । भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको हो । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन् ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् । उल्लिखित परियोजनाका अतिरिक्त भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वस्थ्य चौकी तथा गैर सरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स र एउटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

यी नवनिर्मित संरचनाहरुले त्यस क्षेत्रमा पठनपाठन तथा सिकाईको वातावरणलाई थप सुदृढ बनाउनुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने आशा गरेका छौ ।

नजिकको छिमेकीको हैसियतले भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भएको यी विद्यालय भवनहरुको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।


Loading comments...