दिगो विकासका निम्ति सस्तो, भरपर्दो र स्वच्छ ऊर्जा


पृष्ठभूमि
सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) पूरा गर्ने प्रस्ताव अनुमोदन गरेका थिए । अनुमोदनकर्तामध्ये नेपाल पनि एक हो । एसडीजीका १७ प्रमुख लक्ष्यहरू हासिल गर्न आर्थिक, सामाजिक र वातावरणीय आयाम समेट्दै विश्वव्यापी १६९ परिमाणात्मक गन्तव्य र २३४ सूचकहरू तय गरिएको थियो । नेपालले विश्वव्यापी लक्ष्यको १४ बुँदाबाहेक १६ बुँदे प्रमुख लक्ष्य प्राप्त गर्न १५९ गन्तव्य र २४५ अतिरिक्त सूचक थप गरी ४७९ सूचक तय गरेको छ ।

एसडीजी हासिल गर्ने १५ वर्षे अवधिमध्ये अब ९ वर्ष हाराहारी मात्रै बाँकी छ । एसडीजी कार्यान्वयनका लागि नेपालले संयुक्त राष्ट्रसंघमा पेस गरेको स्वेच्छिक राष्ट्रिय समीक्षा प्रतिवेदन, २०२० तथा एसडीजी प्रगति मूल्यांकन प्रतिवेदन २०१९ बमोजिम उपलब्ध २१८ सूचकमध्ये अधिकांश सूचकहरू एसडीजी लक्ष्यमा निर्धारण गरिएको लक्ष्यभन्दा न्यून प्रगति भएको देखिन्छ । नवीकरणीय ऊर्जामा जलविद्युत्को जडित क्षमता २ हजार ३०१ मेगावाट पु¥याउने लक्ष्यमा हाल १ हजार २५० मेगावाट मात्र पुगेको, ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा २२ दशमलव १ पु¥याउने लक्ष्य रहेकामा ५ प्रतिशतमात्रै पुगेको तथ्यांक छ । समग्रतामा एसडीजी हासिल गर्न नेपालले बार्षिक २० खर्ब २५ अर्ब लगानी गर्नुपर्ने भए पनि अझ ५ खर्ब ८५ अर्ब हाराहारी अपुग भएको देखिन्छ ।

वर्तमान अवस्था र चुनौती
एसडीजीको महत्वपूर्ण अंशका रूपमा खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा रहेको छ । सबैका लागि खर्चले धान्न सक्ने, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने, खर्चले धान्न सक्ने, भरपर्दो र आधुनिक ऊर्जा सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने व्यवस्था पूरा गर्न निकै कठिन हुने देखिन्छ । सन् २०३० सम्ममा विश्वव्यापी ऊर्जाको उपलब्धतामा नवीकरणीय ऊर्जाको अंशलाई उल्लेख्य रूपमा वृद्धि गर्ने, नवीकरणीय ऊर्जा, ऊर्जा बचत तथा त्यसको व्यवस्थापन र अत्याधुनिक तथा स्वच्छ जीवाश्म इन्धन प्रविधिलगायत स्वच्छ ऊर्जा अनुसन्धान तथा प्रविधिहरूमा हुने पहुँचलाई सहज तुल्याउन र ऊर्जा पूर्वाधार तथा स्वच्छ ऊर्जा प्रविधिमा लगानी प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने कार्यदिशा रहेको छ । तर, अहिलेसम्म विश्वका एक अर्ब मानिसले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न (जस्तै बत्ती बाल्न, खाना पकाउन) बिजुलीको प्रयोग गर्न पाएका छैनन् भने करिब साढे दुई अर्ब मानिसले अझै खाना पकाउन दाउरा, कोइला तथा गुइँठा प्रयोग गर्दै आएका छन् । यो तथ्यांक स्वच्छ ऊर्जा तथा दिगो ऊर्जा विकासका लागि चुनौतीपूर्ण रहेको छ ।

नेपाललगायत एसिया, अफ्रिकाका २० देशमा बिजुली र स्वच्छ ऊर्जाको पहँुच सर्वसुलभ छैन । स्वच्छ ऊर्जा पनि एसडीजीसँग जोडिएको महत्वपूर्ण पाटो हो । स्वच्छ र आधुनिक ऊर्जाको पहुँचबिना गरिबी घटाउन, शिक्षा सर्वसुलभ बनाउन र जनस्वास्थ्य सुधार गर्न गाह्रो हुन्छ । जसको सुधारविना एसडीजी हासिल गर्न असम्भवजस्तै छ । स्वच्छ ऊर्जाले दाउरा, कोइला तथा गुइँठालाई प्रतिस्थापन गर्छ भने त्यसले घरभित्र हुने वायु प्रदूषणको जोखिम न्यूनीकरण गर्दै प्रत्येक वर्ष मातृशिशु मृत्युदर, मुटु तथा फोक्सोलगायतको कारण हुने श्वासप्रश्वास रोगबाट हुने मृत्यु घटाउन सकिन्छ । एसडीजीले २०३० सम्म स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिएको छ । दिगो ऊर्जा भन्नाले स्वच्छ ऊर्जा उपयोग गरी स्वच्छ जीवन बाँच्ने अधिकार भविष्यका सन्ततिलाई पनि उत्तिकै प्रदान गर्छ भन्ने बुुझाउँछ । एसडीजी रिपोर्ट २०२१ अनुसार नवीकरणीय ऊर्जा क्षेत्र सबैभन्दा गतिशील देखिएको छ । ऊर्जा आधुनिक समाज निर्माणमा अपरिहार्य र सामाजिक, आर्थिक विकासको सबैभन्दा महत्वपूर्ण कडीमध्येको एक हो । नेपालजस्ता कम विकसित देशको ठूलो जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । जुन दिगो र स्वच्छ ऊर्जाका लागि अत्यन्तै चुनौतीपूर्ण रहँदै आएको छ ।

कुनै पनि देशको विकासको सूचकांक नाप्ने आधारका रूपमा सम्बन्धित देशमा ऊर्जाको उपयोग कति छ भन्ने विषयले महत्वपूर्ण अर्थ राख्छ । नेपालमा प्रतिव्यक्ति ऊर्जा उपयोगको तथ्यांक विश्वका अन्य देशको तुलनामा औसतभन्दा धेरै कम छ । ऊर्जा क्षेत्रमा परम्परागत ऊर्जा स्रोतहरू (जस्तै इन्धन, दाउरा, कृषि बालीको अवशेष र पशु गोबरलाई मुख्य रूपमा घरेलु उपयोगका लागि) प्रयोग हुँदै आएको छ । राष्ट्रिय ऊर्जा खपतको करिब ८६ प्रतिशत योगदान परम्परागत स्रोतको छ । जनसंख्याको ४० प्रतिशतले बिजुलीको उपयोग गरेका छन् भने ग्रामीण विद्युतीकरणको अंश २ प्रतिशत मात्रै छ ।

देशमा खपत लगभग सबै जैविक इन्धन परिस्कृत रूपमा आयात गरिन्छ । पेट्रोलियम आयात लगातार वृद्धि हुँदा देशको व्यापार घाटा बढेर समग्र अर्थ व्यवस्थामा प्रतिकूल असर परिरहेको छ । जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा र जैविक इन्धनजस्ता विभिन्न नवीकरणीय ऊर्जाको स्रोतको उच्च उपयोग गर्ने प्रशस्त सम्भावनाको बाबजुद भौगोलिक, प्राविधिक, आर्थिक र अन्य कारणले यी स्रोतको दिगो रूपमा प्रयोग हुन सकिरहेको छैन ।

सम्भावना
नेपालमा नवीकरणीय ऊर्जा प्रविधिको विकास र प्रयोगमा लगानी गर्ने धेरै अवसरहरू छन् । नवीकरणीय ऊर्जा परियोजनामा हुने लगानीले नेपालको ऊर्जा निर्भर अर्थ व्यवस्थामा फरक पार्छ । उद्योग र समाजको आवश्यकतालाई पूरा गर्न विभिन्न नवीकरणीय ऊर्जा स्रोतहरूको सही मिश्रण स्थापित गर्न सकेको खण्डमा नविकरणीय ऊर्जाले गति लिन्छ । स्थानीयस्तरमा स–साना नवीकरणीय ऊर्जा स्रोतलाई आर्थिक गतिविधि र दुर्गम क्षेत्रमा समुदायहरूको जीवनशैलीलाई बढावा दिन उपयोग गर्न सकिन्छ । एकै समयमा ठूला जलविद्युत् परियोजनाहरू लामो समयका लागि औद्योगिक र कृषि उत्पादनको सुरक्षाका लागि आवश्यक छ । नेपालमा नवीकरणीय स्रोतको कम उपयोग र आयातित जैविक इन्धनमा निर्भरता बढेसँगै ऊर्जा खपतको वर्तमान स्तर दिगो छैन ।

नेपालको विद्युतीकरण दर विकासोन्मुख देशहरूमध्ये सबैभन्दा कम छ । सन् २०३० सम्म खर्चले धान्न सकिने, भरपर्दो र आधुनिक ऊर्जा सुविधामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, विश्वव्यापी रूपमा विभिन्न प्राथमिक ऊर्जा स्रोतहरूको समिश्रणमा नवीकरणीय ऊर्जाको हिस्सा सारभूत रूपमा बढाउने र ऊर्जा दक्षता÷प्रभावकारितामा गरिने सुधारको दरलाई दोब्बर पार्ने लक्ष्य छ । देशमा करिब तीन चौथाइ (७४.७ प्रतिशत) परिवारहरू खाना पकाउन ऊर्जाको प्राथमिक स्रोतका रूपमा ठोस इन्धन प्रयोग गर्छन् । खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ५ भागको एक भाग (१८ प्रतिशत) छन् । विद्युत्मा करिब तीन चौथाइ (७४ प्रतिशत) परिवारहरूको पहुँच छ तापनि विद्युत्को वास्तविक आपूर्ति भने पर्याप्त छैन । ग्रामीण क्षेत्रहरूमा ‘अफ ग्रिड’ जलविद्युत् परियोजनाहरूबाट हुने विद्युत् आपूर्ति सीमित छ भने यसको धेरैजसो प्रयोग बत्ती बाल्न र मोबाइल फोनजस्ता साना उपकरणहरू चार्ज गर्न हुने गरेको छ । सोलार पीभीजस्ता घरायसी प्रणालीहरूबाट विद्युत् उत्पादन बढिरहेको छ तर, बत्ती बाल्न मात्र यो पर्याप्त छ ।

सुक्खायाममा विद्युत् कटौती अनिश्चित रूपमा भइरहने हुनाले ग्रिड विद्युत् पनि त्यति भरपर्दो हुन सकेको छैन । खर्चले धान्न सकिने, भरपर्दो र आधुनिक ऊर्जा सुविधाहरूमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने कार्य ज्यादै गाह्रो छ । तथापि देशमा रहेको जलविद्युत्को विशाल सम्भावना र ऊर्जा उत्पादन गर्ने कार्यमा निजी क्षेत्र बढी सक्षम भइरहेको छ । ग्रिडसँग जोड्ने कार्य विस्तारै भइरहेको र वैकल्पिक ऊर्जाका स्रोतहरूसमेतको प्रयोग बढ्दै गइरहेकाले नेपालले ऊर्जा लक्ष्य हासिल गर्ने सम्भावना छ । एसडीजीका लागि प्रस्तावित विशेष परिमाणात्मक लक्ष्यहरूमा विद्युत्मा ९९ प्रतिशत परिवारहरूको पहुँच पु¥याउने, खाना पकाउन दाउरा प्रयोग गरिरहेका परिवारहरूको अनुपात हालको करिब ७५ प्रतिशतबाट घटाई ३० प्रतिशतमा झार्ने, एलपी ग्यास प्रयोग गर्ने परिवारहरूको संख्या ४० प्रतिशतमा सीमित गर्ने, जलविद्युत्को जडित क्षमता १५ हजार मेगावाट पु¥याउने र प्रतिव्यक्ति विद्युत् खपत बढाएर १ हजार ५ सय किलोवाट प्रतिघण्टा पु¥याउने रहेका छन् ।

नेपालले ऊर्जाका सबै आवश्यकताहरू वातावरणमैत्री जलविद्युत्बाट पूरा गर्ने र बचत भएको ऊर्जा निर्यात गर्ने क्षमता राख्छ । हालको विद्युत्को जडित क्षमता केही वर्षमा दोब्बरभन्दा बढीले वृद्धि हुनेछ भने निर्माणको क्रममा रहेका ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भएसँगै आउँदो १० वर्षमा १० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने अवस्था छ ।

सस्तो, भरपर्दो र वातावरणमैत्री ऊर्जाले उपभोग्य वस्तु बेहोर्न सकिने मूल्यमा उपलब्ध गराउन सहयोग गर्ने, नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने र धुवाँयुक्त भान्साकोठाहरू (जसले बर्सेनि २३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिने गरेको छ) बाट मुक्ति दिलाउन सहयोग गर्नेछ । सस्तो, भरपर्दो र वातावरणमैत्री ऊर्जाले निजी लगानीलाई उत्पादनमा लगाउन प्रोत्साहित गर्दा रोजगारीसमेत वृद्धि हुने देखिन्छ । स्वच्छ ऊर्जा, कृषि, पर्यटन क्षेत्रले नेपाललाई एउटा न्यून कार्बन भएको रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ अगाडि बढ्न सहयोग गर्नेछ । यसबाट नेपालले आर्थिक वृद्धिका लागि ठूलोस्तरमा परिवर्तन ल्याउन सक्ने थप स्रोतहरू सिर्जना गर्ने सम्भावना रहन्छ ।

निष्कर्र्ष
नेपालमा आर्थिक विकासको गति सुस्त छ । पटक–पटक हुँदै आएका राजनीतिक आन्दोलनले विकासको गतिमा ‘स्पिड ब्रेकर’को काम गरिरहेको छ । अझ भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपत्का साथै पछिल्लोपटक देखिएको विश्वव्यापी कोरोना महामारीले नेपालजस्ता अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रको सूचीमा प्रवेश गर्न संर्घषशील देशका निम्ति चुनौतीको पर्खाल नै खडा भएको छ ।
छिमेकमा रहेका दुुई ठूला अर्थतन्त्र भएका देशबाट उत्पादित वस्तुसँग नेपाली उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न तत्काल असम्भवजस्तै छ । अझ आयातमुखी अर्थतन्त्रका कारण व्यापार घाटा चुलिँदै गएको अवस्थामा आन्तरिक खपत धान्नु र व्यापार घाटा न्यूनीकरण गर्दै जानु नेपालका निम्ति ठूलो उपलब्धि हुनेछ । सन् २०३० सम्म एसडीजी हासिल गर्ने मात्रै होइन न्यायपूर्ण समृद्ध मुलुकको परिकल्पनासमेत गरिएको छ । यस्तो पृष्ठभूमिमा नेपालको सन्दर्भमा आर्थिक विकासका लागि स्वच्छ ऊर्जाको विकास र पर्यटन प्रवद्र्धन प्रमुख माध्यम हुन सक्छ । पर्यटन प्रवद्र्धन तत्कालका लागि सुस्ताएको स्थिति छ । तर, स्वच्छ ऊर्जा नागरिकको जीवनशैलीसँग अन्तर सम्बन्धित भइसकेको छ । दिगो, भरपर्दो, सस्तो एवं स्वच्छ ऊर्जामार्फत नै समग्र अर्थतन्त्रको सुधार सम्भव छ । स्रोतको पर्याप्त सम्भावना, बजारको माग, वैदेशिक लगानीको अवसरका कारणले जलस्रोत नेपालको पहिलो विकल्प हो । तसर्थ, सरकारले आफ्नो नीति तथा कार्यक्रममा मात्रै नसमेटेर जलविद्युत् क्षेत्रका विद्यमान नीतिगत समस्या समाधान गर्न ध्यान केन्द्रित गर्न जरुरी छ ।

राजु श्रेष्ठ

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल ‘अर्थिचित्र’ बाट साभार ।


Loading comments...