ट्याक्सी प्रयोग गरी चोरीमा संलग्न ६ जना पक्राउ


काठमाडौं, रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय शत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई. प्रालिको कारखानाबाट मंसिर ११ गते राति पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तार समेत गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक शत्रुधनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको छ । उनीहरूबाट ९ केजी ५ सय ग्राम तारका क्वाइलहरू बरामद भएको छ ।

उनीहरुलाई चोरी गरी लगेको सामानहरु सहित थप कानूनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


Loading comments...