धर्मकीर्ति विहारको विस्तारित भवनकालागि महानगरको आर्थिक सहयोग


काठमाडौं । श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । विहारमा हिजो (पुस १८) गते आयोजना गरिएको एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले धम्मवती गुरुमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । २०७७ मंसिर २० गते भवन निर्माणका लागि मेयर शाक्यले शिलान्यास गरेका थिए । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडा १७ का अध्यक्ष नविन मानन्धर, २५ का अध्यक्ष नीलकाजी शाक्यसहित पदाधिकारीहरु सहभागी थिए ।

रकम प्रदान गरिसकेपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले, क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा पुननिर्माण गर्न चाहिने खर्च महानगरले व्यहोर्ने बताएका थिए । ‘प्रचलित कानूनले दिएको खर्च गर्ने अधिकारको सीमाभित्र बसेर हामीले सहयोग गरिरहेका छौँ । खर्च गर्ने सीमाका कारण आवश्यक पर्ने जत्ति रकम एकै पटक दिन नसकिए पनि क्रमागत योजनाबाट माग सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’ मेयर शाक्यले भने, ‘पुननिर्माणका लागि महानगरले उपभोक्ताहरुबाट १ करोड रुपैयाँ सम्मका योजना सञ्चालन गर्न सक्छ । यसभन्दा माथि खर्च लाग्ने काम खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्छ । खुल्ला प्रतिस्पर्धामा जाँदा कलाकारिता बचाउन कठिन हुने, उपभोक्तासँग १ करोडको सीमाभित्र काम गर्नुपर्ने सीमाका कारण प्राविधिक समस्या भएको हो ।’

सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयको आयमा वृद्धि गर्ने योजनालाई आफूले प्राथमिकता राखेको बताउँदै शाक्यले थेरवादी तथा बज्रयानी बिहारको निर्माण र बौद्ध परियत्ति शिक्षालाई प्रबर्धनमा जोड दिएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बुद्ध शिक्षा जीवन व्यवस्थापनका लागि जरुरी भएको बताइन । ‘महानगरले आधारभूत तहमा मातृभाषा पठनपाठनको निर्णय गरेपछि स्थानीय धेरै महिलाले रोजगारी पाए । उनीहरुकोे रोजगारीले महिलालाई आर्थिक रुपमा सशक्त बनाएको छ । यसमा महानगर गर्व गर्छ ।’ अध्ययन गर्न उमेरले छेक्दैन । जुनसुकै उमेरका व्यक्तिले पनि अध्ययन गर्न सक्छन् । उपमेयर खड्गी श्रेष्ठले सबैलाई परियत्ति शिक्षा अध्ययनका लागि आउन प्रोत्साहित गरिन ।

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा उपभोक्ताबाट करीब १ करोड लागतका काम भएको थियो । यस चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो भने बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरले सहयोग गरेको थियो ।
महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ ।

कार्यक्रममा बौद्ध परियत्ति शिक्षा उत्तीर्ण ५९ जना बिद्यार्थीलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । बौद्ध शिक्षाका लागि नेवार समुदायसँगै तामाङ्, शर्मालगायत थरका विद्यार्थीहरु छन् । यस केन्द्रबाट परियत्ति शिक्षा अध्यापनका लागि महानगरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

महानगरले पुननिर्माणका लागि माग भएर आएका जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किमडोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, लुम्बिनीको वज्रयान महाविहार निर्माण गर्न सहयोग गरेको छ ।


Loading comments...