कठ्याङ्ग्रीदो मौसममा मेची महाकाली राष्ट्रिय उद्धार यात्राः पहिलो दिन ५ जना सहयोगापेक्षीको उद्धार


सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ ।

१८ गते विहान महाकाली पुलबाट यात्रा सुरुवात यात्रीहरुको टिमले पूर्व पश्चिम राजमार्गको यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा – २०७८ का संयोजक आदर्श ढकालले बताउनुभयो ।

“हामीले नियमित रुपमा देशका ७७ वटै जिल्लाहरुबाट सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गर्दै आइरहेका छौँ । तर यस चिसो मौसममा सहयोगापेक्षी व्यक्तिहरुको उद्धारका लागि र अघिल्ला बर्षहरुमा जस्तो सडकपेटीमा नै चिसोका कारण कसैको पनि मृत्यु नहोस् भन्ने सन्देश दिनका लागि यात्रा गर्न लागिएको हो ।” ढकालले भन्नुभयो ।

उद्धार गरिएका ५ जना मध्ये एक जना कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. ३ बाट, दोश्रो कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका चिसापानी स्थित कर्णाली पुलबाट, तेश्रो कैलालीकै झलारी शुक्लाफाँटा नगरपालिकाबाट, चौथो दाङको लमही नगरपालिका वडा नं. ९ बाट र पाँचौ व्यक्ति लमही नगरपालिका वडा नं. ३ बाट उद्धार गरिएको हो ।

उद्धार गरिएका पाँच जना नै मानसिक रुपमा अस्वस्थ रहेको र विशेष गरि उहाँहरु सबैजनालाई स्वास्थ्य उपचार पश्चात परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गरिने यात्री स्वस्तिका भट्टराईले भन्नुभयो ।

मानवसेवा आश्रमले परिवार र आफन्त भएका व्यक्तिहरुको सन्दर्भमा परिवारलाई नै जिम्मेवारीबोध गराउने र जसको कोही छैन, जसको केही छैन उनीहरुको उद्धार र संरक्षण गर्ने गरेको ढकालले बताउनुभयो ।

मानवसेवा आश्रमले यसअघि पनि चिसो मौसममा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिहरुको उद्धारको लागि २०७७ साल पौष ७ गतेदेखि माघ १५ गतेसम्म मेची महाकाली यात्रा गरेर ७५८ जनाको उद्धार गरेको थियो ।

यसपालि भने अघिल्लो बर्ष जस्तो सडकमानवहरुको संख्या नभएको र अघिल्लो बर्षको यात्राले धेरै जनामा उद्धारको लागि जिम्मेवार बनाएको र मानवसेवा आश्रमसँगको सहकार्यमा निरन्तर उद्धार भइरहेको ढकालले बताउनुभयो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ । १३ दिनसम्म चल्ने यात्रा माघ १ गते समापन हुने छ ।


Loading comments...