सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक ुसकारात्मक सोंच, खोज र रोजुको विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गर्नुभयो । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्नुहुँदै उहाँले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताउनुभयो ।

देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धिमुलक बनाउने योजना सरकारले अघि बढाएको उहाँले बताउनुभयो । उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुनर्एकीकरणको योजना अघि बढाएको बताउनुहुँदै उहाँले नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका वक्ताहरुले तनहुँको बन्दिपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइ भाषा, संस्कृति, सामुदायिक विकास, खानेपानी तथा सरसफाइको क्षेत्रमा सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । श्रेष्ठले विद्यालय सरसफाइ कार्यक्रम, सरसफाइ महोत्सव, हातधुने अभियान, खुला दिशामुक्त अभियान जस्ता राष्ट्रिय स्तरका सरसफाइ अभियानमा नेतृत्वदायी भुमिका खेल्नुभएको छ । सरसफाइ र सामाजिक सेवाको यात्रामा आफुले सिकेका र अनुभुति गरेका बिषयहरु समेटेर श्रेष्ठले ुसकारात्मक सोंच, खोज र रोजु पुस्तक लेख्नुभएको हो ।


Loading comments...