नक्कली मह उद्योग प्रहरीको फन्दामा, ‘स्पर्श हनी’को नाममा ७ वर्ष देखि घर घरमा गुणस्तरहिन मह


काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन तथा नक्कली महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा माघ ६ गते यस महाशाखाको बिशेष टोलीले जिल्ला काठमान्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी.) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।

अनुसन्धानका क्रममा पक्राउ परेका नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि उनको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी नक्कली मह बनाई बिक्री बितरण गर्दै आइरहेको देखिएको छ । निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी नक्कली मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्दै आएका थिए ।

उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी नक्कली मह बनाई प्रति के.जी. रु. ६५०/– मा बिक्री बितरण गर्दै आएको बुझिएको छ । बिक्रि वितरण हुँदै आएको स्पर्स हनी भन्ने उनको ब्राण्ड कतै दर्ता समेत भएको देखिदैन ।

कसरी उत्पादन हुन्थ्यो नक्कली मह?
नक्कली मह बनाउनको लागि उनले ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको प्रमाणित भएको छ ।

पक्राउ परेका नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ

प्रहरीले कारखानाबाट नक्कली मह बनाउन प्रयोग हुँदै आएको सामाग्रीहरु (तल उल्लेखित) समेत बरामद गरि नियन्त्रणमा लिएको छ ।
१. नक्कली तयारी मह ६०० के.जी.
२. कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।
३. ग्लुकोज ५०० के.जी.
४. चिनी १०० के.जी.
५. Weight मेसिन थान-१
६. लेभल मेसिन थान-१
७. सिल मेसिन थान-१
८. पेट्राइज मेसिन थान-१
९. स्टोरेज मेसिन थान-१
१०. स्पर्स हनीका लेभलहरु (स्टिकर)
११. पेट जार अ. १००० पिस

पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई महानगरीय अपराध महाशाखाले अपिल गरेको छ ।

तस्वीरहरुः नेपाल प्रहरी


Loading comments...