वीरगञ्जः प्रादेशिक राजधानी कि आर्थिक राजधानी?


गएको सोमवार (२०७८ साल माघ ३) तत्कालीन प्रदेश नम्बर दुईको प्रदेश सभाले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी जनकपुरधाम कायम गरिएको घोषण गर्यो। प्रदेशसभामा २ नम्बर प्रदेशकोको नाम मधेस र यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने भनी राखिएको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको थियो। उपस्थित ९९ प्रदेशसभा सदस्यहरूमध्ये ८० सदस्यले उक्त प्रस्तावको पक्षमा र १९ सदस्यले विपक्षमा मतदान गरेका थिए। हाल मधेस प्रदेश नामकरण गरिएको प्रदेश सभाको सदस्य सङ्ख्या १०३ छ। समाचारहरूमा उल्लेख भए अनुसार बारा र पर्साका सबै राजनीतिक दलका सांसदहरूले यस प्रदेशको राजधानी जनकपुरधाम होइन, वीरगञ्ज राख्ने प्रस्ताव गरेका थिए।

लेखकः विश्वराज अधिकारी

प्रदेशसभाको उक्त घोषणासँगै प्रदेशले अब मधेस नामको कानूनी मान्यता पाएको छ। र जनकपुरधामले पनि राजधानीको रूपमा कानूनी परिचय पाएको छ। यो घोषणासँगै यो प्रदेशको नाम के राख्ने र यो प्रदेशको राजधानी कुन शहरलाई तोक्ने भन्ने विवादले बिट मारेको छ। सानो सानो राजनीतिक मुद्दामा अल्झेर आर्थिक विकासको मूल मुद्दा बिर्सिने हाम्रो प्रकृतिलाई थाती राखेर कुरा गर्ने हो भने अब प्रदेशको नाममा र प्रदेशको राजधानी राजनीतिक मुद्दा हुनेछैन। खिंचातानी हुनेछैन्। आशा गरौं।

मधेस प्रदेशको राजधानी जनकपुरधाम होइन वीरगञ्ज होस् भनी चाहना राख्नेहरूको जमात पनि ठूलै थियो। प्रदेशसभाको यो निर्णयले त्यस्तो चाहना राख्ने त्यो जमातलाई निराश भने अवश्य पारेको छ। तर यहाँ विचारणीय पक्ष के छ भने वीरगञ्जलाई मधेस प्रदेशको राजधानी बनाउन खोज्नेहरूले वीरगञ्जलाई के कारणले राजधानी बनाउन खोजेका थिए, कारण प्रस्ट थिएन। वीरगञ्जलाई राजधानी बनाउन खोज्नुको पछाडि कुनै ठूलो आर्थिक योजना वा सोच थिएन। बरु भावनाका लहरहरू मात्र थिए। केही नेताहरूलाई राजनीतिक फाइदा र केही व्यक्तिलाई मनोवैज्ञानिक सन्तुष्टि प्राप्त हुने भएकोले वीरगञ्जलाई यस प्रदेशको राजधानी बनाउने अभियान उनीहरूले चलाएका थिए। र त्यो अभियानले चर्चा पाएको थियो।

देश, प्रदेश वा राज्यको राजधानी कस्ता शहरलाई बनाउने गरिएको छ। विकसित वा धनी राष्ट्रहरूले आफ्नो देश वा प्रान्तको राजधानी तोक्दा के के कुरालाई आधार मान्ने गरेका छन् एक छिन त्यसतर्फ विचार गरौं। राजधानी तोक्ने परम्पराको विश्लेषण गरौं।

देश वा प्रान्तको राजधानी कस्तो शहरलाई तोक्ने सन्दर्भमा अमेरिका, क्यानाडा र युरोपका विभिन्न देशको प्रचलन हेर्दा शहरलाई पहिलो, राजनीतिक शहर र दोस्रो औद्योगिक एवं व्यापारिक शहर भनेर छुट्याइएको देखिन्छ। राजनीतिक शहरहरूमा देश र प्रदेशको राजधानी हुन्छ। औद्योगिक एवं व्यापारिक शहरमा राजधानी राखिन्न। त्यस्ता शहरहरूमा औद्यौगिक एवं व्यापारिक विकासका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माण गरिन्छ।

राजनीतिक शहरहरू तुलनात्मक रूपमा जनसङ्ख्याको हिसाबले साना हुन्छन्। ती शहरहरूमध्ये कुनै शहरलाई देश वा प्रदेशको राजधानी तोकिन्छ। ठूलो शहरलाई व्यापारिक वा औद्यौगिक शहरको रूपमा विकास गरेर त्यसलाई देश वा प्रदेश राजधानी बनाउने गरिंदैन। क्यानाडाको सन्दर्भमा कुरा गर्ने हो भने टोरन्टो क्यानाडाको सबैभन्दा ठूलो (जनसङ्ख्याको हिसाबले) शहर हो तर टोरन्टोलाई क्यानाडाको राजधनी कायम नगरेर तुलनात्मकरूपमा सानो शहर ओटाबालाई राजधनी कायम गरिएको छ। यस्तै स्थिति अमेरिकामा पनि देखिन्छ।

अमेरिकाको सबैभन्दा ठूलो शहर (जनसङ्ख्याको आधारमा) न्युयोर्क सिटी, लस एन्जेलस, शिकागो आदिलाई अमेरिकाको राजधानी न तोकेर तुलनात्मकरूपमा सानो शहर वाशिंगटन डिसीलाई तोकिएको छ। अमेरिका, युरोपको प्रचनल हेर्दा राजधानी शहरलाई राजनीतिक शहरको रूपमा विकास गरेर प्रशासनिक हिसाबले आवश्यक पर्ने अनेक पूर्वाधारको विकास गरिएको हुन्छ। ठूला–ठूला सभाभवन, आवासीय भवन, ठूला ठूला होटल आदि निर्माण गरिएको हुन्छ र त्यस्तो शहरको सुरक्षा व्यवस्था अति नै कडा पारिएको हुन्छ।

व्यापारिक शहरहरूमा भने उद्योग एवं व्यवसाय सञ्चालन गर्न आवश्यक अनेक पूर्वाधार निर्माण गरिन्छ। ठूला–ठूला विमानस्थल, विशाल गोदामघर, ठूला–ठूला रेल्वेस्टेशन, गगनचुम्बी घरहरू आदि निर्माण गरिएको हुन्छ। व्यापार एवं उद्योग सञ्चालन गर्न व्यापारीहरूलाई आवश्यक पर्ने स्रोत र साधनहरू व्यापारिक शहरहरूमा उपलब्ध गराइएको हुन्छ।

अब मधेस प्रदेशको राजधानी जनकपुरधाम तोकिएकोबारे चर्चा गरौं। वीरगञ्जलाई यस प्रदेशको राजधानी किन तोकिएन भन्नेबारे अनेक किसिमका मत मतान्तर हुन सक्छ। मत–मतान्तर हुनु पनि पर्छ। मत–मतान्तरले गर्दा वा ‘वादे वादे जायते तŒवबोध’ ले सही विचार उत्पन्न गर्न सकिन्छ।

अब वीरगञ्जलाई यस प्रदेशको राजधानी न बनाएर मुलुककै आर्थिक राजधानी बनाउन किन उपयुक्त छ त्यसबारे छोटो चर्चा गरौं।

वीरगञ्ज शहरको स्थापना नै व्यापारिक शहरको रूपमा भएको हो। सोही अनुसार यहाँ अनेक पूर्वाधारको विकास भयो। काठमाडौंलाई नेपालका अन्य भागसँग जोड्ने पहिलो सडक–त्रिभुवन राजपथ, वीरगञ्जबाट नै विस्तार भएको थियो। र नेपाललाई भारतसँग जोड्ने पहिलो रेल सेवा पनि वीरगञ्जबाट नै विस्तार भएको थियो। कुनै पनि नेपालीले बाहिरी दुनियाँ हेर्नुपर्यो भने वीरगञ्ज आएर, रक्सौल पुगी रेल चढ्नु पथ्र्यो, अनि उसले बाहिरी दुनियाँ देख्थ्यो। सलाई कारखाना, कटन मिल, मोजा कारखाना, चिनी मिल, कृषि औजार कारखाना, राइस मिलजस्ता अनेक उद्योगको स्थापना पचासौं वर्ष पहिले वीरगञ्जमा भइसकेको थियो।

वीरगञ्जलाई आर्थिक राजधानी बनाउन आवश्यक पर्ने पूर्वाधारहरू पनि प्रशस्तै छन्। जस्तै विभिन्न वस्तुहरू भारत लगायत अन्य मुलुकमा निर्यात गर्न वीरगञ्जबाट नै सजिलो हुन्छ किनभने वीरगञ्जबाट भारतीय रेल सेवा (रक्सौल) ज्यादै नजीक छ। यसैगरी नेपालका ठूला बजारहरू जस्तै काठमाडौं, हेटौंडा, नारायणघाट, पोखरा, नेपालगंज वीरगञ्जबाट नजीक छन्। वीरगञ्जबाट ऊर्जा (पेट्रोलियम उत्पादन) प्राप्त गर्न सजिलो छ किनभने रक्सौल वीरगञ्जबाट नजीक छ। पेट्रोलियम पदार्थ ठूलो मात्रामा भारतबाट नेपाल आउँदा वीरगञ्ज भएर नै आउँछ।

उपरोक्त विभिन्न तथ्यहरूको आधारमा वीरगञ्जलाई प्रदेशको राजधानी होइन, देशकै आर्थिक राजधानी बनाउनु उपयुक्त हुन्छ। वीरगञ्जलाई मधेस प्रदेशको राजधानी बनाएमा यस शहरमा अनेक किसिमका राजनीतिक समस्याहरू थपिने सम्भावना बढेर जान्छ। वीरगञ्जमा नारा, जुलुस, बन्द, हडताल, चक्का जाम, ब्लेक आउटजस्ता समस्याहरू देखा पर्न सक्छ। तर व्यापारिक शहरमा यस्ता कुरा हुँदैन किनभने यस्ता कार्यले व्यापारिक कार्यहरू अवरुद्ध हुन पुग्छन्। त्यस कारण व्यापारिक शहरहरू शान्त र स्थिर रहनु उपयुक्त हुन्छ। वीरगञ्ज प्रदेशको राजधानी नहुनुले यो शहरलाई शान्त रहेर व्यापारिक गतिविधि बढाउन सजिलो हुन्छ।

वीरगञ्जको विकास व्यापारिक शहरको रूपमा भएको हो। र त्यो इतिहास अहिले पनि सुरक्षित छ। यस शहरलाई व्यापारिक शहरको रूपमा विकास गर्न केडिया, खेतान, लाठ, रूँगटा, सरावगी, चाचान, अग्रवालजस्ता परिवारले ठूलो योगदान पु¥याएका छन्। त्यसैगरी यो शहरलाई व्यापारिक शहर बनाउन पञ्जाबी समुदायको पनि ठूलो योगदान छ। हिमाञ्चल केबिन, अमृत केबिन, सुन्दर स्टोर आदिका सञ्चालकहरूको पनि ठूलो योगदान छ। यसैगरी अन्य परिवारहरू (जस्तै ठाकुर राम कलेज स्थापना गर्ने परिवार) को पनि ठूलो योगदान छ।

वीरगञ्ज उच्च राजनीतिक चेतना भएको तर कारोबारी शहर हो। बेला बखत राजनीतिक चासो राखे तापनि वीरगञ्ज बढी व्यापारमा केन्द्रित रहँदै आएको छ। वीरगञ्जलाई भारतको गुजरात राज्यसँग तुलना गर्न सकिन्छ। गुजरातीहरू बढी कारोबारी भएझैं वीरगञ्जवासी पनि कारोबार केन्द्रित छन्।

वीरगञ्जलाई अब उच्च प्राथमिकताका साथ एउटा ठूलो व्यापारिक शहरको रूपमा विकास गर्नेपट्टि लाग्न आवश्यक छ। जनप्रतिनिधि, राजनीतिक दलका नेता एवं कार्यकर्ता, व्यवसायीहरू, सामाजिक अभियन्ता, बुद्धिजीवीलगायत अन्य सबैले वीरगञ्जलाई ठूलो व्यापारिक शहर बनाउने अभियानको थालनी गर्नुपर्छ। वीरगञ्जलाई एउटा ठूलो व्यापारिक शहरको रूपमा विकास गरेमा यस क्षेत्रका मानिसले रोजगारका लागि अबरको तातो मरुभूमिका जानुपर्दैन। यो शहरमा रोजगारका अनेक अवसर सृजना गर्ने क्षमता छ।


Loading comments...