यसपालि कोभिडका रिपोर्ट किन पहिले नेगेटिव भएर पछि पोजिटिव देखिंदैछन्?: डा. अनुप सुवेदी


परिवारका सदस्यकै रिपोर्ट पोजिटिव हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको छ । कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिव आएपछि पिसिआर गर्दा पोजिटिव आएको छ । किन?

पहिलेका भेरिएन्टको सङ्क्रमणमा लक्षण शुरु हुनु १-२ दिनअगावै पिसिआर र एन्टिजेन पोजिटिव देखिन्थे, किनभने भाइरसको पर्याप्त मात्रा उत्पादन भइसकेको हुन्थ्यो । तर यसपालि त्यस्तो कम देखिएको जस्तो बुझिन्छ ।

डा. अनुप सुवेदी
संक्रमण रोग विशेषज्ञ

यसो हुनुको एउटा मुख्य कारण के हो भने यसपालि हामीमा आम रूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ- पहिलेको संक्रमण वा खोपको कारणले ।

त्यसैले संक्रमणपछि भाइरसले शरीरका कोषिकाहरूभित्र प्रवेश गरेर पहिले जस्तो सजिलैसँग चाँडो चाँडो धेरै नयाँ भाइरस उत्पादन गर्न सकेको छैन, त्यसो गर्न केही दिन बढी लागेको छ ।

त्यसो हुँदा, घाँटी वा नाकमा परीक्षणले पत्ता लगाउनको लागि भाइरसको पर्याप्त संख्या तयार भइनसकेको रहेछ भने एन्टिजेनले शुरुमा नेगेटिव देखाउन सक्छ । अनि १-२ दिनपछि फेरि एन्टिजेन वा पिसिआर गर्दा चाहिं भाइरसको पर्याप्त मात्रा तयार भइसक्ने हुनाले पोजिटिव देखिन्छ ।

ओमिक्रोनको लहरमा एन्टिजेनमा केही दिन ढिलो पोजिटिव देखिन सक्ने कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टी (Discordant SARS-CoV-2 PCR and Rapid Antigen Test Results When Infectious: A December 2021 Occupational Case Series) गरिसकेका छन् ।

यदि टेस्टको नतीजा नेगेटिव आयो तर तपाईंलाई लक्षण छ वा संक्रमणको शंका छ भने अरूबाट छुट्टै नै बसिरहनुहोला, आफूलाई संक्रमण भएकै बुझेर सावधानी अपनाउनुहोला, स्वास्थ्यको निगरानी पनि गर्नुहोला ।

बरू १-२ दिनमा फेरि परीक्षण गरेर हेर्नुहोला ।

कसैको चाहिं लक्षण देखिएपछि पहिले पिसिआर नै गर्दा नेगेटिव आएपछि फेरि शङ्का लागेर १ दिनपछि एन्टिजेन जाँच गर्दा पोजिटिव आएको छ । वास्तवमा माथि बताइएको कुराले पिसिआर प्रविधिलाई खासै फरक नपार्नु पर्ने हो, तर मैले निकट परिवारमै पनि यस्तै देखेको छु ।

 

राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामै गरिएको जाँचमा “फल्स नेगेटिव” देखिएकोले जाँचकै गुणस्तरमा प्रश्न उठाउन पनि नमिल्ला । पिसिआर मै यसरी फल्स नेगेटिव आएको पनि रोग प्रतिरोधी क्षमता बढेकै कारणले भएको हो कि भन्ने कुरा चाहिं यसका विज्ञहरूलाई नै निर्क्यौल गर्न अनुरोध गरें ।


Loading comments...