diwakar bhatt

नेपालको शिक्षा प्रणाली र विद्यार्थीको भविष्य


दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका भविष्यका नेतृत्वकर्ता र देशका भौतिक,आर्थिक र सामाजिक पक्षहरूलाइ हाक्ने भनेका नै अहिलेका विद्यार्थीहरु भएकाले देश निर्माणको जग विद्यालय र विद्यार्थीबाट हुने गर्दछ। अहिले विद्यालयमा जस्तो पढाइ हुन्छ जस्तो मार्ग दिइन्छ भविष्यमा देशको मार्गदर्शन पनि त्यस्तै हुन्छ किनकी देशका भविष्यका मार्गदर्शक भनेका नै अहिलेका विद्यार्थी/बालबालिका हुन।

विश्वका अधिकांश विकशित देशहरूको इतिहासलाई हेर्ने हो भने ती देशहरू विकसित हुनुको मुख्य कारण नै त्यो देशका विद्यार्थी,विद्यालय र शिक्षा प्रणाली हरुको सही व्यवस्थापन भएर देखिन्छ। कुनै पनि देशमा विकासको धरातल भनेको नै त्यो देशको शिक्षा प्रणाली लाई लिन सकिन्छ जसरी फिनल्याण्ड, नर्वे जस्ता देशहरूको शिक्षा प्रणाली साँच्चै नै फरक अनुकरणीय छ र पो ती देशहरुले छिट्टै र छुट्टै प्रगति गरेकाछन्। त्यसैले देशलाई सभ्य,सुसंस्कृत र विकसित बनाउन त्यो देशको जग अथवा शिक्षा प्रणाली एकदमै राम्रो हुनुपर्दछ।

नेपालको शिक्षा प्रणाली र यसका कमजोरी:
नेपालको परिपेक्षमा हेर्ने हो भने नेपाल तुलनात्मक रुपमा अरू देशहरू भन्दा कम विकसित भएको देश भनेर बुझिन्छ। छिमेकी राष्ट्रहरूको धेरै प्रगति र उन्नति गरिसक्दा पनि नेपाल अझै पुरानै संसारमा विलीन रहनुमा पक्कै पनि नेपालको शिक्षा प्रणालीलाई लिन सकिन्छ। नेपालका अधिकांश विद्यालयहरू राजनीति गर्ने थलो बनेकाछन् भने शिक्षक भोट माग्ने अन्धभक्त र विद्यार्थी तिनै नेता कार्यकर्ताले प्रयोग गर्ने साधन बनेकाछन्। त्यति मात्रै नभई नेपालमा दिइने शिक्षा अथवा नेपालको शिक्षा प्रणालीमा पनि धेरै नै कमीकमजोरी रहेकाछन् भनेर विगतबाट नै आवाज उठेको हो तर त्यो आवाजलाई आजसम्म पनि सुन्नुपर्ने निकायले त्यत्ति ध्यान दिएको देखिदैन।

शिक्षा भन्नाले हाम्रो देशमा औपचारिकता मात्रै बुझिन्छ।कुनै निश्चित संख्यामा नम्बर ल्याएर निश्चित श्रेणीमा पास हुनु भनेकै शिक्षित हुनु हो भनेर आम नेपालीहरुको सोचाइ रही आएको छ र त्यै सोचाइले विद्यार्थीको भविष्य पनि निर्धारण गर्छ। मेरो एउटा साथीले एकदमै राम्रो खाना बनाउँथे, उहाँलाई होटल म्यानेजमेन्ट पढ्नु थियो तर हाम्रो त्यै सोचाइले उहाँलाई साइन्समा पुर्याइदियो र अर्को साथी जसलाई साइन्स पढ्नु थियो वैज्ञानिक बन्ने सपना थियो उहाँलाई उहाँको अंकले भनौं या फर्मालिटी नपुगेर म्यानेजमेन्ट मा पुग्नु पर्यो। हो यस्ता यस्तै सानो सानो कमजोरीले हो हाम्रो शिक्षा प्रणालीबाट दक्ष जनशक्ति उत्पादन नहुने र देश पछि पर्ने।

नेपालमा विद्यार्थीमा इनपुट गरिने शिक्षा देख्नमा एकदमै लाभदायक भए पनि त्यो शिक्षा प्रणालीले आजसम्म खास्सै राम्रो आउटपुट भने दिन सकेको छैन। नेपालको सरकारी विद्यालयहरूमा पढाइ नै नहुने,लापरवाही मात्रै भएको देखिन्छ भने निजी विद्यालयहरू शिक्षा लाई व्यवसाय बनाएर विद्यार्थीहरुलाई हेभी किताबहरू पढाउने गर्दछन् जसले गर्दा कलिलो मस्तिष्क भएका बालबालिकाको मनोवैज्ञानिक दृष्टिकोणमा नकारात्मक असर परेको देखिन्छ । त्यति मात्रै नभएर कयौ निजी विद्यालयहरुले नेपालको नेपालीपन र नेपालको मौलिक भाषा संस्कृति नै धरापमा पारेको देखिन्छन्,जस्तै कि कयौ निजी विद्यालयहरुमा नेपाली भाषा र आफ्नो मातृभाषा भाषा बोल्दा विद्यार्थीले, निश्चित जरिवाना समेत तिर्नु परेको छ जसले गर्दा विद्यार्थीहरु नेपाली मौलिकता देखेर डराउने नेपाली संस्कृति नमान्ने र नेपालीपन लाई बिर्सिंदै जाने जस्ता समस्या देखा परेका छन् जसले सिधै देशको सामजिक रहसहन र संस्कृतिमा नकारात्मक प्रभाव पर्छ।

विश्वमा उत्कृष्ठ शिक्षा प्रणाली भएका देश जस्तै डेनमार्क, फिनल्याण्ड, क्यानाडा हरुमा विद्यार्थी अनुकूल वातावरणमा शिक्षा दिइने गर्दछ। त्यहाँ विद्यार्थीहरूलाई घोकन्ते विद्या र परिकक्षामुखि शिक्षाभन्दा टाढा राखिने गरिन्छ। उनीहरुको सोचाइ के छ भने कुनै पनि विद्यार्थीको मूल्यांकन एउटा प्रश्नपत्रले मात्रै गर्दैन उसको दैनिक क्रियाकलाप र उसले देखाउने व्यवहारमा नै उसले आर्जन गरेको शिक्षा देखिन्छ भन्ने छ तर नेपालमा विद्यार्थीको मूल्यांकन उसले विज्ञान,गणित र अङ्ग्रेजी विषयमा लिएको नतिजाले तय गर्छ। गएका दुई वर्ष नेपालमा पनि कोरोनाका कारण पढाइमा केहि खलबल पुर्यायो र विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकन बाट नै गरियो तर त्यसलाई यहाँ नकारात्मक रूपमा मात्रै लिइयो,विद्यार्थीलाई नपढी पास भएको, फ्रि मा पास भएको भनेर मानसिक दवाव दिन थालियो जसले गर्दा विद्यार्थीको मानसिकता मैं नकारात्मक परिवर्तन आयो। कहिकतै समस्या पक्कै होलान्,कहिकतै कमजोरी पक्कै होलान् तर हरेक कुरामा हामीले सकारात्मकता छर्दै अगाडि जाने हो भने पक्कै पनि परिवर्तन आउँछ नै तर त्यसको लागि हामीले केही फरक तरिकाले र नौलो तरिकाले सोच्नु पर्दछ र ठीक त्यस्तै हामीले हाम्रो शिक्षा प्रणालिमा रहेका कमीकमजोरीहरुलाई सुधार्दै अगाडि बढ्नुपर्ने देखिन्छ।

अब के गर्ने त?
हाम्रो शिक्षा प्रणालीमा यावत् कमीकमजोरी भएतापनि अब यसको कुनै समाधान छैन त भन्ने प्रश्नले सताउँछ।त्यो प्रश्नको जवाब यो भन्दा आगाडि पनि नेपालका कयौ शिक्षा सम्बन्धी काम गर्ने अभियन्ताहरुले धेरै नै समाधानका उपायहरू दिसकेका छन्। यै शिक्षा प्रणालीमा पढिरहेको नाताले टिप्पणीकारका मनमा आएका केही सुझाव/समाधान हरु तल रहेका छन्।

– कुनै पनि विद्यार्थीलाई तनाव रहित वातावरणमा उसको मनोविज्ञानलाई बुझेर उचित शिक्षा दिने,

– निजी विद्यालयहरूले शिक्षालाई व्यवसाय बनाउने उद्देश्यले खडा गरिएका केही नियमहरु जस्तै,सानै उमेरमा विद्यालय भर्ना गर्नुपर्ने र तीनचार वर्षपछि मात्रै कक्षा १ मा पुग्ने प्रोसेस लाई परिमार्जन गर्नुपर्ने, (बच्चाहरूलाई बच्चा बेलामा बच्चा नै रहन पाउनु उनीहरूको अधिकार हो र जब उनीहरू पूर्ण रूपमा पढ्नको लागि तयार हुन्छन् तब मात्रै विद्यालय पठाउनुपर्छ। यसो गर्दा कुनै पनि बालबालिकाको दिमाग फ्रेश र पढाइको लागि पूर्ण रूपमा तयार हुन्छ जसले गर्दा विद्यार्थीको दिमागमा पढाइको बारेमा नकारात्मक कुराहरू आउन सक्दैन।)

– कुनै पनि बालबालिकाले/विद्यार्थीले आफ्नो घरपरिवार र आमाबुवासंगै बसेर पढ्न पाउनुपर्ने,(सानै उमेरमा घरभन्दा टाढा गएर पढ्दा कुनै पनि विद्यार्थीको दिमाग डिस्टर्ब हुन्छ र त्यसको प्रत्यक्ष असर उसको दिमागमा पर्ने गर्दछ।)

– माध्यमिक तहसम्मको अध्ययन गरिरहँदा सम्म कुनै पनि विद्यार्थीलाई राजनैतिक पार्टीको संगठनमा नल्याउने,

– शिक्षा सैद्धान्तिक कम् र प्रयोगात्मक बढी हुनुपर्ने,

– पढाइ सँगसँगै प्रयोगात्मक शिक्षालाई बढी जोड दिँदै उद्यमशीलता लाई पनि अंगीकार गर्नुपर्ने, ( जस्तै पढ्दै गर्दा विद्यार्थीहरुलाई आयम हुने विभिन्न तालिमहरु दिएर त्यसबाट केही पूँजी आर्जन गर्न सक्यो भने विद्यार्थी पछि गएर विद्यालय स्थरबाटै उद्यमशील मान्छे बनेर आउँछ।)

– विद्यालयका नीतिनियम र विद्यालयका सम्पूर्ण निर्णयहरु विद्यार्थी केन्द्रित हुनुपर्ने,

– सरकारले शिक्षासम्बन्धी दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने,( जस्तै भविष्यमा देशलाई कस्तो जनशक्तिको आवश्यकता छ त्यसै अनुरूप विभिन्न सेक्टर हरु छुट्याएर विद्यार्थीहरुलाई उनीहरूको इच्छाअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने।)

– पढाइ सँगसँगै विद्यार्थीहरुलाई अन्य सकारात्मक र उपलब्धिमूलक कृयाकलापमा पनि लाग्ने,(जसले गर्दा विद्यार्थीहरुलाई आफ्नो अधिकार कर्तव्य बहन गर्ने मदत पुर्याउँछ र विद्यार्थीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउछ।)

– शिक्षा र सिकाइ समनतामुलक नभई समतामूलक हुनुपर्ने र प्रतिस्पर्धात्मक नभई मदतगार हुनुपर्ने,

निष्कर्ष

शैक्षिक क्रान्ति ल्याउन यत्ति मात्रै गरेर पुग्दैन तरपनि परिवर्तनको सुरुवाती चरणमा यी कुराहरू गर्न सकियो भने देशमा पक्कै पनि दक्ष जनशक्ति उत्पादन हुन्छन् र देशबिकासमा पक्कै पनि टेवा पुग्नेछ। त्यसैले सरकारले शिक्षासम्बन्धी एउटा ठोस निर्णय लिइ दीर्घकालीन योजनासहित आगाडि बढ्नुपर्छ र विद्यार्थीलाई आफ्नो भविष्य छनोट गर्दा आउने समस्याको निराकरण गर्दै सरकारले विद्यार्थीको पथ प्रदर्शकको भूमिका खेल्दै आगाडि बढ्नुपर्छ।


Loading comments...