परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न


मकवानपुर जिल्लाको हेटौडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक मिति २०७८ फाल्गुण ३० गते काठमाडौंमा सम्पन्न भएको छ । भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमल प्रसाद पोखरेलले सो बैठकको सह–अध्यक्षता गर्नुभयो ।

परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समिक्षा भयो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दियो । कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बतायो ।

बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दियो । भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गरेको छ ।

दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति भयो ।


Loading comments...