Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

सपुतको सिर्जनालाई ‘मार्क्सवादी सौन्दर्यशास्त्र’ले हेरौं

२ चैत्र २०७८, बुधबार १४:२४

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ । आज हामीले उपयुक्त र न्यायिक ठानेका विधिविधान अबको १०० बर्षपछि अनुपयुक्त हुनसक्छ । रामायणका पात्र सीता, राम, लक्ष्मण, भरत आदिको भूमिकालाई वर्तमानको नजरमा हेर्दा तिनीहरु आदर्श लाग्न नसक्लान् ! त्यसैले उनीहरुको चरित्रलाई मुल्यांकन गर्न उनीहरु बाँचेको देश, काल र परिवेशमै उभिने प्रयास गर्नु पर्दछ । अर्थात् रामायणको चिरफार गर्न वैदिक सौन्दर्यशास्त्रको आँखाले हेरिनु पर्छ । यो प्रसंगलाई फेरि कुनै समयमा कोट्याउँला ।अहिले चाहिँ हाल बहसमा रहेको कलाकार सपुतको सिर्जनामा जाऊँ ।

माथि भूमिकामा भनिसकिए जस्तै सपुतको सिर्जनाका विषयवस्तुलाई ध्यानमा राख्दा उक्त साङ्गितिक कृतिलाई मार्क्सवादी सौन्दर्यशास्त्रको दृष्टिकोणबाट हेरिनु उपयुक्त हुन्छ । मार्क्सवादी सौन्दर्यशास्त्र कार्ल मार्क्सका सिद्धान्तहरूमा आधारित सौन्दर्यशास्त्रको सिद्धान्त हो। मार्क्सवादी सौन्दर्यशास्त्रले कला, साहित्य, सिर्जना आदिका सांस्कृतिक क्षेत्रका विधालाई द्वन्द्वात्मक, भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्दछ । यो दृष्टिकोण अनुसार साहित्य, कला, संगीत आदिको भूमिका भनेको विद्यमान सामाजिक-सांस्कृतिक र राजनीतिक अवस्थालाई सत्यताका साथ प्रतिनिधित्व गर्नु मात्र होइन, बरु तिनीहरूमा सुधार गर्न खोज्नु पनि हो ।

मार्क्सवादी सौन्दर्यशास्त्र अनुसार पुँजीवादले साहित्य, कला र सिर्जनालाई विक्रीको वस्तु बनाउँछ । यसका पाठक, द्रष्टा, श्रोता र पारखीहरु बजारी उपभोक्ता बन्छन् । त्यसै अनुसार बजारको माग अनुसार फिलिम बन्दछन्, सङ्गीत रचिन्छ, साहित्य लेखिन्छ, नाटक खेलिन्छ, चित्रकला रंगिन्छ र यी सिर्जनालाई बजारमा व्यापार गरेर नाफा कमाउन बेचिन्छ । यसो गर्दा जे धेरैले मन पराउँछन् त्यही रचिन्छ । तर मार्क्सवादी सौन्दर्यशास्त्र अनुसार कला र सिर्जनाले पुँजिवादी शोषण र दमनलाई उजागर गर्नका लागि राजनीतिक हुनुपर्छ ।

सिर्जना भनेको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तन र प्रगतिको लागि गरिन्छ । अन्यायको विरुद्ध लड्न र न्याय स्थापित गर्नका लागि सिर्जना गरिन्छ । यसैलाई मार्क्सवादी सौन्दर्यशास्त्रीहरु प्रगतिशील सिर्जना भन्दछन् । यस मान्यता अनुसार कला सुन्दर हुनै पर्छ भन्ने छैन । कला विभत्स हुन सक्दछ । यसै अनुसार जनतालाई क्रान्तिमा होम्न, मर्न र मार्न उक्साउन साहित्य रचिन्छ, गीत गाइन्छ, हतियार उठाएर नाचिन्छ, नचाइन्छ र दुश्मनको हत्यामा उत्सव मनाइन्छ । मार्क्सवादी सौन्दर्यशास्त्रको दृष्टिकोणमा सम्पूर्ण रुपले सुन्दर कला त साम्यवाद नआएसम्म हुनै सक्दैन। पन्चायती कालदेखि २०६२/६३ को आन्दोलन अघिसम्मका केही सांगीतिक

सिर्जनाको स्मरण गरौं:

‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुँदछ, लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ…’

‘आमा, दिदीबहिनी हो कति बस्छौ दासी भै ?… ’

‘गाउँगाउँबाट उठ बस्तिबस्तीबाट उठ, यो देशको मुहार फेर्न उठ.… ’

‘सुकेर जाँदैन, रोकेर रोकिदैन भारी खेप्ने खेतालाको यही हो जिन्दगानी.…’

‘सिमली छायामा .…’

यी रचना र संगीतले पक्कै पनि राजनीतिक, सामाजिक-सांस्कृतिक परिवर्तनको लागि जनता जुर्मुराए, तत्कालीन शासकको सातो खाए । पन्चायती शासनकालदेखि २०४६ सम्म र त्यसपछि २०६२/६३ सम्मको परिवेश र अहिलेको परिवेश फरक छ । ती दुई कालमा सिर्जेका मार्क्सवादी/प्रगतिशील साहित्यले ती बेलाका गल्ती, कमजोरी देखाए । यसै पृष्ठभूमिमा २०४६ सालको परिवर्तनबाट असन्तुष्ट समुहको प्रतिनिधित्व गर्ने प्रचण्डले ४० बुँदे माग राखेर तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न त्यो बेलाका उनका विश्वासपात्र बाबुरामलाई पठाए ।

संयोगबस् अहिले उनै प्रचण्डले शेरवहादुर देउवासँग घाँटी जोडेर सरकार चलाइरहेका छन् । उनै प्रचण्डलाई थाहा होला उनका ४० बुँदे माग कति साकार भए भएनन् र पूरा नभएका माग पूरा गर्न देउवासँग मिलेर अहिले के गर्दै छन् भनेर ।

हो, यसै प्रसंगमा सपुतले प्रचण्डदेउवा सरकारलाई संगीतकै माध्यमबाट हालै नराम्ररी हल्लिने गरी घचघच्याएका छन् । अहिलेका निरास जनता न “गाउँगाउँबाट उठ बस्तिबस्तीबाट उठ, यो देशको मुहार फेर्न उठ.… ’ गाउँदा जुर्मुराउने छन् न त यी गैँडा शासक यी गीतबाट झस्किने छन् । प्रचण्डकै असल मार्क्सवादी अनुयायीहरु जस्का मिठा सपना ऐठन बने/बनाइए उनीहरुले देउबा र प्रचण्डका भजन गाउन कसरी सकून् ? मार्क्सवादी सौन्दर्यशास्त्र अनुसार साहित्य, संगीत र सिर्जना शासकलाई रिझाउन रचिने विषय हुँदै होइन ।

शासक र मालिकलाई रिझाउनका लागि साहित्य, संगीत आदि सिर्जना गर्नु भनेको सामन्तवाद हो । सपुतले प्रतीकात्मक तवरले प्रस्तुत गरेका हाम्रो मुलुकको खराब अवस्था र विकृतिको लागि २०४६ सालको परिवर्तन पछिका सरकार, ६२/६३को आन्दोलन र त्यसैको आडमा लेखिएको नयाँ संविधान र त्यसैको भरमा बनेका अहिलेसम्मका राज्य संचालक कोही दोषमुक्त छैनन् । राजनीतिक परिवर्तनका लागि जनतालाई आन्दोलित बनाउने नेताले अलिकति पनि इमान्दारिता देखाएको भए धेरै मात्रामा समाधान हुने थुप्रै विकृति र विसंगतिहरू ज्युँका त्युँ मात्र छैनन् उल्टै कतिपय नयाँ विकृति र निरासा जन्मेका छन् । तिनै विकृति विरुद्ध अझै थुप्रै सपुतहरुले

अझ सशक्त जनचेतनामूलक गीतहरू गाउनुपर्नेछ । यही नै मार्क्सवादी सौन्दर्यशास्त्र अनुसार सामयिक चेत हो ।

सपुतको सिर्जनामा महिला होस् वा पुरुष यौन बजारमा लागेको दृश्य हाम्रो समाजको सामन्तवादी अवशेष, पुँजीवादको विकृति र राजनीतिक नेतृत्वहरुको बेइमानीले सिर्जित सामाजिक-आर्थिक विचलन हो । यसमा कुनै नारी र पुरुषको आत्मसम्मानमा ठेस लागेको छैन । हाम्रा पछिल्ला राजनीतिक परिवर्तनले खास जनताका लागि सामाजिक-आर्थिक परिवर्तन ल्याउन नसकेको यथार्थ हो ।

बरु मार्क्सवादी सौन्दर्य शास्त्रको कसीमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पकमल दाहाल “प्रचण्ड”, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली र शेरवहादुर देउबाको अनुहारमा कालो पोतिएको छ । अनि आउँदा शासकहरुलाई पनि चेतावनीको घन्टी बजाइएको छ । यसरी सपुतको सिर्जनालाई २०४६को परिवर्तन, २०५२ पछिको माओवादी विद्रोह र २०६२/६३को जनआन्दोलन र त्यसपछिको देश, काल, र परिस्थिति अनुसार हेरिनु पर्दछ । सपुतले वर्तमानको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकृतिलाई उजागर गरेका छन् ।

मार्क्सवादी सौन्दर्यशास्त्रको दृष्टिकोणबाट यो सिर्जना समाजलाई सुधार्न गरिएको चेतावनी हो । यो रचनालाई यही काल, देश र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ । साहित्य र कलाको प्रस्तुतिको गुणस्तर भनेको सिर्जनाकारको खुबीको कुरा हो । सपुतको योग्यता वा सिप बारे बेग्लै चर्चा गर्न सकिएला ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said