काठमाण्डौमा शुरुभयो तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ


भारतीय राजदूतावास, काठमाडौंले यही मिति २०७८ चैत्र ९ गते काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गर्यो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो । यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो । यस कार्यक्रमको सह–आयोजकमा Clockb Business Innovations हो भने अन्य प्रमुख साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् ।

Connect [IN] ले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दत गर्दछ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ । तीनवटा संस्करणहरु मार्फत Connect [IN] ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कनेक्ट (इन) को तेस्रो संस्करणको उद्घाटन गर्नुभयो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागीता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भए । अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरे ।

हालको संस्करणमा Connect [IN] ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको थियो । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका थिए । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप(F1Soft Group) तथा ई–कमर्श पोर्टल सस्तो डिल (Sastodeal) समावेश थिए ।

कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागत व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत भई छलफल गरियो । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc को सहभागीता थियो । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजनले सहभागीता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुको पनि उपस्थिति थियो ।

Connect [IN] प्रक्रिया:
Connect [IN] कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो । सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुले Incubation र Mentorship Module का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो । प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

यसै वर्ष Connect[IN] कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि ७ गतेसम्म ‘India@75 आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्र्नेे तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ । यी चार क्षेत्रहरु यस प्रकारका छन्:
१. अन्तरदेशीय वाणिज्य
२. कृषिबजार
३. शहरी विकास
४. सुशासन

काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु क्ष्लमष्ब२ठछ आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।

भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई आकांक्षा र महत्वकांक्षालाई उपलब्धिसँग जोडी भारत र नेपालमा आर्थिक उन्नति तथा विकासका नयाँ ढोका खोल्नु Connect [IN] को तेस्रो संस्करणको उद्देश्य रहेको छ ।


Loading comments...