सेयर बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान छ, वुद्धिमतापूर्ण निर्णय गर्नुसः अर्थमन्त्री शर्मा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा वुद्धिमतापूर्ण निर्णयका साथ लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ‘ग्लोबल मनि विक’का अवसरमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले सेयर बजारमा वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्दिमतापूर्वक निर्णय लिन सक्षम बनाउनुपर्नेमा पनि जोड दिएका हुन् । मन्त्री शर्माले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेल्न पनि बोर्डलाई निर्देशन दिए ।

उनले पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको पनि उनले बताए । बजारबारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको र बजारमा रहेका विविध खालका समस्याहरुको समाधान पनि आवश्यक रहेको बताए ।

‘बजारको गुणात्मक विकास तथा विस्तारको लागि नयाँ नेतृत्व पठाएको र उहाँहरूलाई निर्देशन समेत दिईसकेको छु, यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्दता समेत व्यक्त गर्छु’, मन्त्री शर्माले भने ।

बोर्डको नेतृत्वले नयाँ प्रतिबद्दता सहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउन भूमिका समेत खेल्नुपर्ने बताए । मन्त्री शर्माले पुँजी बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिए । बोर्डलाई लगानीकर्ताको हक हित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको पनि उनले बताए ।


Loading comments...