सु.प.मा लुकेको हिरा


sanju

सञ्जु पौडेल

मनिसलाई सफल हुनका लागि कडा परिश्रम सहितको कला, गला र सीपले सधै फाईदा गर्छ । “ढुंगाको काप फोडेर उम्रन्छ पिपल” भन्ने भनाईलाई सुदुर पश्चिमका रवि ओडले चरितार्थ गराएका छन् ।

निम्न आर्थिक अवस्थाका रवि सानै उमेर देखि मेहनती, लगनशील तथा दृढ विस्वास राख्ने स्वभावका थिए । त्यो सँगसँगै नृत्य र गायन पनि उनको विशेष रुचिको क्षेत्र अन्तरगतका विषयहरु थिए । हजुरबुबाको गायनबाट प्रभावित भएका उनले गित गाउने प्रेरणा हजुरबुबाबाट नै पाएका हुन् । उनका हजुरबुबा देउडा लगायतका गितहरु गाउने गर्दथे । अछाम जिल्लाको बुढाकोटमा वि.स. २०५४ सालमा जन्मिएका रविको बाल्यकाल कञ्चनपुर र कैलाली जिल्लामा बित्यो । पेटभरी खान पाउने आशाले ओड परिवारले अछाम छाडेर कञ्चनपुर बसाई सरेर गएका थिए ।
बालकै छँदा आमा गुमाएका रवि र उनका भाई बहिनीहरुलाई (सौतेनी आमा) कान्छी आमाले हुर्काएकी थिइन् । कान्छी आमाले पनि एउटी आमाले आफ्ना सन्तानका लागि गर्नु पर्ने त्याग, तपस्या, माया, ममता र कर्तब्य सबै पूरा गरिन् । त्यसैले त रवि र उनका भाईबहिनीहरु सबैले तिनै कान्छी आमामा वितेर गएकी आफ्नी आमाको प्रतिविम्ब भेट्टाउथे ।

घरको चरम गरिबीलाई प्रत्यक्ष अनुभव गरेका रविले बाल्यकाल देखि नै पारिवारिक जिम्मेवारी वहन गरेका थिए । आफनो कर्तब्य प्रति सजग रवि १२ वर्षको उमेरमा पढाई छाडेर काम खोज्दै भारत पुगेका थिए । उनको बुबा पनि भारतमा नै चौकीदारी, गाडी सफा गर्ने लगायतका कामहरु गर्ने गर्दथे । आफूले पनि पैसा कमाए पछि घर खर्च टार्न बुबालाई अलि सजिलो होला भनेर नै उनी पनि मुग्लान पसेका थिए । तर बालक छोराले त्यो परदेशमा आफ्नो उमेर भन्दा ठूलो परिश्रम गरेको उनका बुबाले हेर्न सकेनन् । जति मेहनत गर्नु परे पनि आफै गर्ने, तर छोरालाई यसरी मजदुरी नगराउने पक्षमा रहेका बुबाले रविको बाकि पढाई पुरा गराउन पुन नेपाल नै फर्काएर आफू भने दिन रात नभनी मेहनत गर्न थाले ।

कला र गलाका धनि रविलाई पारिवारिक वातावरणले पनि सानै उमेर देखि व्यवाहारिक बन्न सिकाएको थियो । दिदीको विवाह भइसकेको , घरको जेठो छोरा भएका कारण पनि उनको जिममेवारी अलि बढी नै रहेको थियो । बुबाको भारतमा जसोतसो गरी कमाएको खर्चले धौ–धौ पेट पाल्न मात्र पुग्ने भएकोले पढाइमा अब्बल हुँदाहुँदै पनि रविले पढाइलाई थाती राख्दै आफू पनि आय आर्जन गर्ने वैकल्पिक उपायहरुको खोजी गर्न थाले । घर खर्च टार्नका लागि कहिले दोहोरी साझमा काम गर्दथे भने कहिले विभिन्न समूह, क्लबहरुसँगको सहकार्यमा नृत्य प्रस्तुत गरेर आय आर्जको स्रोत जुटाउने गर्दथे । रविसँग गत वर्ष भएको निर्वाचनमा म्यादी प्रहरीको काम गरेको अनुभव पनि छ ।
गायन क्षेत्रमा लुकेको प्रतिभा खोज्दै नेपाल आइडल सिजन २ सुदुर पश्चिम प्रदेशको धनगढी पुगेको थियो । निकै सरल र सामान्य तवरले दैनिकी गुजार्दै गरेका रलिाई धनगढीको अडिसनले उनको गला र कलाको पहिचान गरेको थियो । रविले नेपाल आइडल सिजन २ मा “दुःख र सुख जिवनको पाटो, सँगसँगै बिताउला” बोलको गित गाएर निर्णायक मण्डलको मन जितेका थिए । पहिलो चरणमा छनौट भएपछि उनले त्यसपछि राजधानी काठमाण्डौ गएर सयौं प्रतिष्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहे । सुदुर पश्चिमका रविलाई त्यसरी आउ जाउ गर्न निकै ठूलो चुनौती थियो ।

सानै उमेर देखि संघर्ष गरेका रविले आफ्नो उद्देश्य पूरा गर्न यसरी बीचमा आएका चुनौतीहरुको डटेर सामना गरिरहे । देश, विदेशमा भएका नेपालीहरुको पूर्ण साथ र सहयोग पाएका कारण आफूले नेपाल आइडल सिजन २ विजेता बन्न सफल भएको रवि बताउछन् । नेपाल आइडल सिजन २ को विजेता भए वापत प्राप्त गरेका नगद, पुरस्कार आदिबाट बुबा आमाका लागि घर बनाउने योजना छ । त्यसको गित र संगितलाई सधै माया गर्दै गायनलाई पेशा बनाएर अगाढी बढ्ने पनि उनी बताउछन् ।
रविको जितको सम्बन्धमा विनायक अछामका कटक बहादुर धामी आफ्नो विचार यसरी राख्छन्, “ रविमा गायनको क्षेत्रमा धेरै सम्भावना छ, उनीसँग क्षमता पनि छ । उसको गायन कला राम्रो लागेर मैले पनि उनलाई धेरै पटक भोट गरेको थिए । त्यो सँगसँगै मैले मेरो चिनजान, साथी, आफन्तहरुसँग पनि रविको लागि भोट मागेको पनि थिए । ठुलो ठुलो आर्थिक खर्चमा मात्रै संभव हुने भोटिङ जितिने तितो यथार्थतामा रविको कला र गलाको सहि मूल्यांकन हुनु आफैमा सकरात्मक पक्ष हो । रविले नेपाल आइडल सिजन २ को उपाधी जित्नै पर्दथ्यो, र जिते पनि । रविको जितमा म निकै खुशी छु ।”

त्यसैगरी रविलाई पढाएका शिक्षक, सयपत्री आधारभूत विद्यालयका शिक्षक भरत भण्डारीले रविका सम्बन्धमा आफ्नो विचार यसरी राखे, “मैले रविलाई वि.स. २०६१ देखि पढाएको हु । उनी प्रतिभावान्, क्षमतावान् र मेहनती विद्यार्थी थिए । गायनसागै उनी राम्रो नृत्य पनि गर्दछन् । त्यसको साथै उनी हात टेकेर खुट्टा माथि पारेर करिब ५०० मिटर सम्म हिड्न सक्छन् । स्कुल पढ्ने क्रममा उनी पारिवारिक कारणले कहिले स्कुल अनुपस्थित हुन्थे भने कहिले स्कुल ढिलो पुग्दथे । तर पढाई भने राम्रो थियो ।”
रविको संघर्ष तथा जिवनीबाट हामीले पनि प्रेरणा लिन सक्छौं । जँहा इच्छा, त्यहि उपाय भने झै, लगनशील भई कडा परिश्रम, मेहनत गरेमा अवस्य सफलता प्राप्त गर्न सकिन्छ । रविलाई चाडैं स्थापित गायक भएको देख्न पाइयोस्, हाम्रो पनि शुभकामना छ ।

संजु पौडेल
अछाम मंगलसेन


Loading comments...