
प्रधानमन्त्री शेरबहादुर देउबा नयाँ दिल्लीमा, भारतीय विदेश मन्त्री एस जयशंकरसँग आजै भेटघाट
नयाँ दिल्ली । तीन दिवसीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउबा आज नयाँ दिल्ली पुग्नुभएको छ । श्रीमती आरजु राणा पनि भ्रमणमा सँगै हुनुहुन्छ ।
असार २९, २०७८ (13 July, 2021) मा शेरबहादुर देउबा प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएको थियो । पदभार सम्हालेको ९ महिनापछि विदेश भ्रमण भएको यो सम्भवतः कुनै पनि प्रधानमन्त्रीको रुपमा पहिलो पल्ट हुनेछ । प्रधानमन्त्री देउबाले आज भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ भने शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको कार्यक्रम रहेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्रीको स्वागतमा “एक खास मित्रलाई भव्य स्वागत” भन्दै खुशी व्यक्त गर्नुभएको छ । “आज १ अप्रिल २०२२ का दिन नेपालका प्रधानमन्त्री आधिकारिक भ्रमणका लागि भारत पुग्नुभएको छ । जुलाई २०२१ मा पदभार सम्भालेपछि यो वहाँको पहिलो द्विपक्षीय विदेश यात्रा हो ।”
A fond welcome to a special friend.
PM of Nepal @SherBDeuba arrives in India for an official visit from 01-03 April 2022.
This is his first bilateral visit abroad after assuming office in July 2021. pic.twitter.com/57t0n5IiJJ
— Arindam Bagchi (@MEAIndia) April 1, 2022
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ प्रधानमन्त्री देउबा भारत भ्रमणमा निस्किनुभएको हो । युक्रेन-रुस युद्धका कारण जटिल परिस्थितीमा रहेको विश्व राजनीतिका बिच प्रधानमन्त्री देउबाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ भने प्रधानमन्त्री देउबाको स्वागतलाई भारतले प्राथमिकतामा राखेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउबा उत्तर प्रदेशको पवित्र तथा वैदिक सनातन हिन्दुहरुको महत्वपूर्ण शहर वाराणसी तथा समकक्षी मोदीको लोकसभा क्षेत्र पुग्ने कार्यक्रम रहेको छ ।
राजनीतिक तथा सांस्कृतिक रूपमा एउटा बलियो सम्बन्धको उदारहण हो नेपाल तथा भारत
भारत तथा नेपाल राजनीतिक तथा सांस्कृतिक रूपमा एउटा बलियो सम्बन्धको उदाहरणलाई ब्याख्या गर्दछ । भारतीय विदेश मंत्रालय (MEA)द्वारा जारी प्रेस विज्ञप्तिमा दुवै देशको बलियो सम्बन्धमाथी प्राथमिकता दिंदै लेखिएको छ, “प्रधानमन्त्री देउबाको भारत भ्रमणले दुवै देशका नागरिकको उन्नती तथा सम्बन्धलाई थप बलियो बनाउन मदत गर्नेछ ।”
जारी विज्ञप्तीमा अगाडी लेखिएको छ, “विगतका वर्षहरुमा दुवै देशका बीच भएका साझेदारीहरुले सहयोगका सम्पूर्ण क्षेत्रहरुमा महत्वपूर्ण वृद्धि देखाएको छ । अबका आगामी यात्रा पनि दुवै पक्षलाई व्यापक सहकारी साझेदारीको समीक्षा गर्न तथा दुवै देशका नागरिकको लाभका लागि गतिविधिहरु अगाडी बढाउन अवसर प्रदान गर्नेछ ।”
प्रधानमन्त्री देउबाले गत असार २९ मा प्रधानमन्त्रीको पदभार सम्हालेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउबालाई बधाई दिनुभएको थियो भने पछिल्लो पल्ट नेपाली कांग्रेसको सभापतीमा निर्वाचित भएपश्चात टेलीफोनमार्फत कुराकानी गर्नुभएको थियो ।
प्रधानमन्त्रीको रुपमा पाँचौ कार्यकालमा रहनुभएका देउबाको ६० दशक माथीको राजनीतिक यात्रामा वहाँ पहिलो पटक सन् १९९५ मा प्रधानमन्त्री हुनुभएको थियो ।