आठ वर्ष पछि भारत-नेपाल मैत्री रेल सेवा सुचारु, भारतीय प्रधानमन्त्रीले नेपालीमा गरे उत्साहपूर्ण ट्वीट


बहुप्रतिक्षित भारत-नेपाल मैत्री रेल सेवाले हरियो झण्डा फहराएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्‍त रूपमा दिल्लीबाट भर्चुअल माध्यमबाट भारत-नेपाल मैत्री रेल सेवाको उद्घाटन गर्नुभएको छ । रेल संचालनको तयारी यस अगाडी नै सम्पन्न भईसकेको र भोलीबाटै यात्रुहरुको यात्राका लागि परिचालन गरिने छ ।

रेल सेवाको उद्घाटन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा उत्साहपूर्ण ट्वीट गर्दै आफ्नो खुशी अभिव्यक्त गर्नुभएको छ । ट्वीटमा लेखिएको छ, “जयनगर र कुर्था बीचको यात्रुवाहक रेल सेवा नेपाल र भारत बीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुनेछ। यसले हाम्रा जनताहरूलाई अझ नजिक ल्याउन ठूलो भूमिका खेल्नेछ।”

अर्को ट्वीटमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबिचको सम्पर्क/कनेक्टिभिटी पहललाई प्राथमिकतामा राखिने विषयमा दुवै समकक्षीबीच समान धारना रहेको उल्लेख गर्नुभएको छ । त्यसकै नमूना जयनगर-कुर्था रेल लाइनको प्रारम्भ मध्येको एउटा भाग हो लेख्नुभएको छ ।

Photo Source: Twitter@PMO Nepal

रेल सेवा मात्र भारतीय तथा नेपालीका लागि
पछिल्लो ८ वर्षबाट ठप्प रहेको रेल सेवा अन्तिम पटक सन् २०१४ मा संचालन भएको थियो । यो रेल सेवाको विशेष कुरो के भने यसमा यात्रा केवल भारतीय तथा नेपाली नागरिकले मात्र गर्न सक्नेछन् । अन्य देशका यात्रुहरुका लागि यो रेलमा यात्राको अनुमति दिइएको छैन । भारतीय रेलवे बोर्डले यस सम्बन्धी एसओपीमा चर्चा गरिएको छ ।

भारतको जयनगरबाट नेपालको जनकपुरसम्म सन् २०१४ सम्म नेपाली रेल सेवा अस्तित्वमा थियो । भारत सरकारले सन् २०१० मा मैत्री योजना अन्तर्गत भारतको जयनगरबाट नेपालको वर्दीवास सम्म ६९.५ किलोमिटरको दूरीका लागि न्यारो गेज ट्र्याक प्रयोग हुँदै आएकोमा त्यसलाई मीटर गेज ट्र्याकमा परिवर्तन गर्न तथा नयाँ रेलवे ट्र्याक ओछ्याउनका लागि भारु ५४८ करोड स्वीकृत गरेको थियो । जसलाई अर्कोपटक, सन् २०१२ मा जयनगरबाट यस महत्वाकांक्षी योजनामा काम शुरू भएको थियो । यो परियोजना तीन चरणमा बाँटिएको छ । जस अन्तर्गत जयनगरबाट कुर्थाको ३४.५ किलोमीटर रेल सेवाका लागि गत जुलाई सन् २०२१ मा गति परिक्षण – Speed Trail गरिएको थियो ।

जयनगर-कुर्थाका लागि सडक मार्ग मात्रै थियो विकल्प
विगत आठ वर्षबाट यस रेलखण्डमा रेल परिचालन नहुँदा दुवै देशका नागरिकहरु आवत-जावत गर्नका लागि सडक मार्ग प्रयोग गर्दै आईरहेका थिए । सडक मार्गको कारण दुवै देशका नागरिकहरुलाई कैंयन अप्ठेरो स्थितिको सामना गर्नुपरिरहेको थियो, यात्रा खर्च पनि अत्याधिक हुने र समय पनि बढी लाग्ने गरेको थियो । जयनगर-जनकपुर का लागि कम्तीमा ४ सय रुपैया लाग्ने र बिच बाटोमा वाहन परिवर्तन गर्नुपर्ने समस्या थियो । अब भारतबाट कुर्था आउने यात्रुहरुले केवल नेरु १०० भित्र यात्रा गर्नसक्नेछन् ।

यि कागजातहरु यात्राका लागि आवश्यक
यात्रुहरुले आफ्नो साथमा पासपोर्ट त राख्नुपर्ने छैन तर व्यक्तिको तस्वीर सहितको प्रमाणित परिचय पत्र भने आवश्यक्ता पर्नेछ । दुवै देशको नागरिकको हकमा आ-आफ्नो देशद्वारा जारी राष्ट्रिय परिचय पत्र, चालक अनुमती पत्र – Driving License अथवा तस्वीरसहितको प्रमाणित कुनैपनि परिचय पत्र ।

रेल सेवामा नेपाल रेलवेको सम्पूर्ण नियन्त्रण, भारतको कोंकण रेलवेले दिनेछ तालिम
आज उद्घाटन सम्पन्न यस रेल सेवामाथी सम्पूर्ण रुपमा नेपाल रेलवेको नियन्त्रण रहने छ । तत्कालका लागि जयनगरबाट कुर्थासम्म रेल संचालन हुनेछ भने आउदा दिनहरुमा यसलाई वर्दीवाससम्म संचालन गर्ने योजना रहेको छ । रेल परिचालनका लागि भारतको कोंकण रेलवेले दुईवटा र्र्याक – Train Rack उपलब्ध गराएको छ, जसको परिचालन केही समयका लागि कोंकण रेलवेका कर्मचारीले नेपाली रेल कर्मचारीसँग मिलेर गर्नेछन् । कोंकण रेलवेका कर्मचारीले कम्तीमा ६ महिनासम्म नेपाली रेल कर्मचारीहरुलाई रेल संचालन तथा परिचालन बारे आवश्यक प्राविधिक तथा व्यवस्थापकिय तालिम दिनेछन् ।

रेल सेवाले व्‍यापार तथा धार्मिक पर्यटन बढाउनेछ
यस रेल सेवा सुचारु हुनाले केवल ब्यापार मात्र बढ्नेछैन, धार्मिक पर्यटन गतिविधि बढाउन पनि यसले सहयोग गर्नेछ । भारतीय नागरिकहरुका लागि नेपालको जनकपुरस्थित माता जानकी मन्दिर दर्शन गर्न सजिलो हुनेछ । चैत नवरात्रीका दिन उद्घाटन भएको कारण जनकपुरमा यस पटकको श्रीराम नवमीका लागि श्रद्धालुहरुको भीड बढ्नसक्ने प्रक्षेपण गरिएको छ । यसले होटल ब्यवसाय तथा स्थानीय ब्यापारिक गतिविधिलाई सक्रिय बनाउनेछ । भारत तथा नेपालका व्यापारी अब सजिलै दुवैतर्फत आफ्नो आवश्यक्ताको सामान खरिदबिक्रिका लागि आउन-जान सक्नेछन् । सीमापारी मधुबनी तथा आसपासको भारतीय क्षेत्रमा कपडा तथा खाद्यान्नको थोक बजार रहेको छ, र त्याहाँको ब्यापार नेपाली ग्राहकहरुमा टिकेको छ । दैनिक कम्तीमा २ देखि ३ करोडको व्यवसाय हुने उक्त क्षेत्रमा रेल सेवाका कारण ब्यापार झन बढने अनुमान गर्न सकिन्छ ।

रेल मार्फत हुने व्‍यावसायिक गतिविधिहरुमाथी नियमन तथा नियन्त्रणका लागि भारतको जयनगर तथा नेपालको इनरवा स्टेशनमा कस्टम चेकिङ प्वाइन्ट बनाइएको छ ।


Loading comments...