सोलुमा फोहोर पानी व्यवस्थापनका लागि भारत सरकारले नेरु ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने


नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले नेरु ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

भारत–नेपाल विकास सहकार्य अन्र्तगत भारत सरकारको करिब नेरु ४ करोड ११ लाख आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ ।

यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।


Loading comments...